उपमहानगरपालिकाले ५ करोड विद्युत महसुल तिर्न बाँकी

संवाददाता

नेपालगन्ज । स्थानीय सरकारको रुपमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले नै बिद्युत महसुल वापतको करिब ५ करोड रुपैययाँ तिर्न बाँकी रहेको छ । सरकारले नै महसुल नतिरेपछि जनताले महसुल तिर्न आनाकानी गर्नु सामान्य कुरा हो ।

सडक बत्ती बापत नेपालगन्ज उपमहानगरपालिकाले करिब पाँच करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी देखिएको छ । उपमहानगरपालिकाले आर्थिक बर्ष २०६५/६६ देखि सडक बत्तीको महशुल नबुझाएको नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।

उपमहानगरपालिकाले चार करोड ९८ लाख २९ हजार १७० रुपैयाँ बिद्युत महशुल बुझाउन बाँकी रहेको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए । उनले सडक बत्तीको महशुल बुझाउन पटक–पटक ताकेता गरे पनि उपमहानगरले बुझाउन नमानेको जनाए ।

‘कयौँ पटक पत्र पठाइसक्यौँ, तर बुझाउने कुनै पत्तो छैन,’ उनले भने, अब कडा रुपमा प्रस्तुत हुनपर्ने अवस्था आउँदैछ ।

त्यसैगरि, भेरी अस्पतालको पनि ६ लाख ४१ हजार १५६ रुपैयाँ विद्युत महशुल बक्यौता छ भने, यूनाइटेड टेलिकमले एक लाख ९९ हजार ५८ रुपैयाँ र यूनाइटेड प्रालिले एक लाख २१ हजार ८८७ रुपैयाँ महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ ।

मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिले पनि एक लाख भन्दा बढी विद्युत महशुल बुझाउन बाँकी देखिएको छ । समितिको एक लाख आठ हजार ५९१ रुपैयाँ बक्यौता देखिएको प्रमुख यादवले बताए ।

तर, नेपालगन्ज उपमहानगरपालिकाले सडक बत्ती बापतको रकम बुझाउन बाँकी नरहेको जनाएको छ ।  उपमहानगरका कार्यकारी प्रशासकिय अधिकृत हरि प्याकुरेलले बक्यौता रकम बुझाउन आउने बारे प्राधिकरणले पठाएको पत्र अहिलेसम्म प्राप्त नभएको बताए ।

उनले प्राधिकरणले प्रमाणसहित सडक बत्तीको रकम माग गरे भुक्तानी गर्न तयार रहेको बताए । ‘कुन आर्थिक बर्षको कति रकम वील सहित माग गरे उपमहानगर भुक्तानी गर्न तयार छ,’ उनले भने ।

विद्युतले नगरमा विद्युत वितरणका लागि गाडेका पोलहरुको भाडा नै करोडौं पुगेको पनि उपमहानगरपालिकाले जनाएको छ । पोलको भाडा माग गरिने तयारी भैरहेको सो कार्यालयका एक कर्मचारीले जनाए ।

टिप्पणी थप्नुहोस्