१६ बर्षमै विवाह गर्न पाउनु पर्छ भन्दै चक्काजाम र धर्ना

-सिराज खान
नेपालगञ्ज । विवाहको उमेर घटाउनु पर्ने माग गर्दै नेपालगन्जमा महिलाहरुले चक्काजाम गरेर धर्ना समेत दिएका छन् ।

नेपालको कानुनले २० बर्ष पुगेपछि मात्र महिलाको विवाह गर्नुपर्ने प्रावधान राखेकोमा सो कानुनलाई खारेज गरेर १६ बर्षकै उमेरमा विवाह गर्न पाउनु पर्ने माग राखेर मधेशी महिलाहरुले नेपालगन्जमा मंगलवार चक्काजाम गरेर धर्ना समेत दिएका हुन् ।

१६ वर्षको उमेरमै छोरीको बिवाह गर्न पाउनुपर्ने माग राख्दै ती महिलाहरु आन्दोलित भएका हुन् । २० वर्ष पुगेपछि मात्र छोरीको विहे गर्न पाउने नियम मधेशी समाजको संस्कृती सभ्यतासँग मेल नखाएको भन्दै मधेशी समुदायका महिलाहरुको नेपालगन्ज उपमहानगरपालिकामा धर्ना दिएका थिए । उनिहरुले नगरपालिका अगाडी चक्काजाम समेत गरेका थिए ।

जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्रले ति महिलाहरुलाई धर्नामा सहभागी गराएको महिलाहरुले बताएका छन् । मिश्रले जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट दर्जनौं महिलालाई सडकमा उतारेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका अगाडी धर्ना दिदै उक्त समूहले चक्काजाम समेत गरेको थियो । चक्काजामका कारण नेपालगञ्जको सवारी सञ्चालन केहीबेर प्रभावित भयो ।

यही समूहले यसअघि जानकी गाउँपालिकामा छोरीको बिवाहको सम्पुर्ण खर्च दिनुपर्ने माग सहित धर्ना दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा मिश्रकै समूहले १६ वर्षमुनीका किशोरीले बिहे गर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । २० वर्षको उमेरमा बिहे गराउँदा ‘मधेसी समूदाय’ का चेलीलाई समस्या हुने बताउँदै मिश्राले १६ वर्षमै बिवाह गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग राखेको बताए ।

मधेशी समुदायका छोरीहरुको ढिलो बिवाह गर्दा घरको खर्च बढ्ने, छोरी भागेर अन्तै जाने भएकाले १६ वर्ष अगाडी नै विवाह गर्न पाउनुपर्ने उनको तर्क छ । सो मागको महिलाअधिकारकर्मी संघ संस्थाहरुले कडा रुपमा विरोध गर्दै प्रचलित कानुनमा कुनै प्रकारको परिवर्तन गर्न नहुने बताएका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री