भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेका छनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको दावी गरे । ‘सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ’, ओलीले भने,‘अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो । भ्रष्टाचारमा संलग्नलाई सानो ठुलो भनेर हेरिदैन, सबैलाई कारबाही हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए । विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पु¥याएर फिर्ता लिने ओलीको भनाइ छ ।

‘ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको हो । तर यही सरकारले जग्गा हडपेको जस्तोगरी मान्छेहरु कराइरहेका छन्’ ओलीले भने, ‘यो भन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए । त्यतिबेला सरकारमा बसेका मान्छे नै अहिले ठुला ठुला कुरा गर्छन् ।’

प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रसाशन कार्यालय स्थापना गर्न प्रधानमन्त्री समक्ष माग गर्दै एक ज्ञापन पत्र पनि बुझाएको छ । ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्रीले जनतालाई सहज रुपमा सेवा दिने आफ्नो नीति भएकोले इलाका प्रसाशन कार्यलय स्थापना गर्न आफू सकारात्मक रहेको बताए ।

टिप्पणी थप्नुहोस्