माग सुनुवाई नभएको भन्दै प्रतिपक्षिद्वारा संसद बैठक अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस र राजपाले अवरोध गरेपछि प्रतिनिधि सभाको आज(बुधबार)को बैठक स्थगित भएको छ ।

गत असार २४ गतेदेखि निरन्तर दुई दल मिलेर सर्लाहीका भिन्ना भिन्नै ३ स्थानमा भएको घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गरिरहेका छन् । आजको बैठक स्थगन भएपश्चात् रुपान्तरणसँग कुरा गर्दै कांग्रेस सांसद डिला संग्रौलाले समिति गठन नभएसम्म बैठक सञ्चालन गर्न नदिने जानकारी दिइन् ।

‘हामीले संसद अवरोध गरेरै सरकार र संसदको ध्यानकार्षण गराउँदा पनि सुनुवाई भएको छैन’, सांसद संग्रौलाले भनिन्–‘सरकार र सभामुखले प्रमुख प्रतिपक्षि दलसँग वार्ताको पहल समेत गर्न नखोज्नु विडम्बना हो।’

आजको बैठक शुरु भएको जानकारी भएसँगै दुबै दलका सांसदहरुले विरोध जनाएका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै शून्य समयको कारवाही अघि बढ्छ भन्ने वित्तिकै सांसदहरु रोष्टम अगाडि आएर नाराबाजी गरे । सभामुख कृष्णबहादुर महराले पटक पटक यो विषयमा आफ्नो ध्यानर्काषण भएको अवगत गराउँदै सांसदहरुलाई बस्नका लागि अनुरोध गरे ।

झण्डै १ घण्टासम्म रोष्टम अगाडि नाराबाजी भएपश्चात् बिहीबार अपरान्ह २ बजेका सम्मकालागि बैठक स्थगित भएको छ । सर्लाहीमा कुमार पौडेल र सरोजनारायण हत्याबारे छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेस र राजपाको माग छ ।

टिप्पणी थप्नुहोस्