ताडीको उत्पादन : ‘बाबुले लगाउने, छोराले कमाउने’

-राधेश्याम विश्वकर्मा
भैरहवा । औषधीको रुपमा समेत प्रयोग हुने ताडीको प्रयोग पछिल्लो समय रुपन्देहीको बेथरीमा फस्टाएको छ । औषधीको रुपमा प्रयोग हुने ताडीले नशा समेत दिने भए पछि भैरहवा, बुटवल तथा यस आसपासका शहरी क्षेत्रका बासिन्दाहरुको ताडी सेवनको लागी बेथरी लोकप्रिय हुँदै गएको छ ।

तराईका प्राय गाउँमा फाट्टफुट्ट ताडी उत्पादन गर्ने खजुर र तरकुलका रूख भेटिन्छन । तर बेथरीमा भने ताडीका रूखको प्रचुरताले यो ताडी गाउँका रूपमा पनि प्रसिद्ध छ । सामान्यतया रस निकाल्ने ताडीको रूखलाई निकै स्याहारेर सफा र छरितो बनाएर राखिने गरेको छ । तरकुल र खजुरको रुखबाट निस्केको रसलाई ताडी भन्ने गरिन्छ ।

भैरहवा–लुम्बिनी सडक खण्डको बेथरीबाट उत्तर लाग्ने बित्तिकै अग्लो अग्लो ताडी उत्पादन गर्ने रुखहरु देख्न सकिन्छ । बेथरीमा ताडीलाई पेशा बनाएर बस्नेहरु नभए पनि ताडीको सिजनमा भने यसबाट सामान्य आम्दानी गर्नेहरु रहेका छन् । प्राय फागुन देखी जेठसम्म यसको सिजन भए पनि यस बर्ष पानी नपरेको कारण साउनमा पनि पर्याप्त ताडी पाईने गरिएको छ ।

स्थानीय ताडी उत्पादक रुपन पासीले गरमीमा ताडीको सेवन फाईदाजनक रहेको बताए । उनले तराई जस्तो क्षेत्रमा ताडीको प्रयोगले ‘लु’को डर नहुने बताए ।

यसलाई गरमीमा बालबालिका देखि वृद्धासम्मले प्रयोग गर्ने गरेको र ताडी सेवनकै लागी बेथरीमा टाढा टाढाबाट मानिसहरु आउने गरेको उनले बताए ।  ताजा ताडीमा औषधिको गुणहरु रहेका छन् ।

रातिको समयमा माटोको भाँडो करिब ४० देखी ५० फिट अग्लो रुखमा बाँध्ने र बिहान त्यसलाई निकालेर सेवन गर्ने गरिन्छ । ताजा ताडीमा नशा हुँदैन । ताडीको सेवनले पेटको बिरामीलाई निको गर्नुको साथै पत्थरीको लागी पनि लाभदायक हुने गरेको छ ।

ताडीको रुख लगाएको कम्तिमा पनि २५ बर्ष पछि मात्र यसको रस निकाल्ने भएकोले यसलाई ‘बाबुले लगाउने, छोराले कमाउने’भन्ने गरिन्छ ।

बेथरीमा ताडीको उत्पादन प्रचेर हुने गरे पनि यसको ब्यवसायीकरण हुन नसक्दा भने यस क्षेत्रका उत्पादकले प्रयाप्त फाईदा लिन सकेका छैनन् । यसको उपयोग गर्न सके रसायनिक पेय पदार्थहरुलाई यसले प्रतिस्थापन गर्न सक्छ ।

स्वास्थ्यको लागि लाभदायक रहेको ताडी नशाको रुपमा पनि प्रयोग गर्न सकिन्छ जसको कुनै गलत प्रभाव पर्दैन । बिहान निकालिएको ताजा ताडीलाई घामा राखेर सेवन गर्दा यसले रक्सी जतिकै नशा दिने गरेको यसको उत्पादकहरु बताउछन् ।

सञ्चारकर्मी बिक्रम खडकाले पनि सरकारले यसको ब्यवसायीकरणमा जोड दिनुपर्ने बताए । उनले यसको प्रचार प्रसार गरी यसलाई ब्यवस्थित गर्न सके स्वदेशी उत्पादनले नै बिभिन्न रसायनयुक्त पेय पदार्थहरुको बिकल्पको रुपमा प्रयोग गर्न सकिने बताए ।

बेथरीमा मात्र ताडी उत्पादन गर्ने ५० घरधुरी भन्दा बढी रहेका छन् । एउटै सिजनमा सरदर ५० हजार रुपैंयाँ सम्म आम्दानी गर्ने गरेको स्थानीयहरु बताउँछन् । शुरुमा डेढ आना लिटर समम ताडी पाउने गरेको स्थानिय रुपन पासी बताउँछन् । अहिले भने यसको मूल्य प्रति लिटर ८० रुपैंयाँ रहेको उनले बताए ।

टिप्पणी थप्नुहोस्