कहाँ गयो ३८ क्विन्टल सुन ?

-आरती शर्मा
काठमाडौं । त्रिभुवन विमानस्थलमा ३८ क्विन्टल सुन फेला परेपछि त्यसको छेउँ, टुप्पो अहिलेसम्म फेला पर्न सकेको छैन । कहाँबाट ल्याइएको हो ? अहिले कहाँ छ, त्यो सुन ? यसको अनुसन्धान नै रहस्यको भुमरीमा परेको छ । यसले गर्दा सरकारको सुरक्षा निकायको साख एकदमै तल गिरेको छ ।

यो सुनकाण्ड नेपालमा सर्वाधिक चर्चित रहयो । सुन नेपालमा आउने चलन त पहिलेदेखि नै थियो । तर, सुरक्षा र प्रशासनले गम्भीरता देखाउन नसक्दा सरकारको निकै बद्नामी भयो । यो अठतीस क्विन्टल सुन जसरी विमानस्थलबाट बरामद भएको थियो त्यसरी नै गायब भयो । अहिलेसम्म यसको कुनै पत्तो लाग्न सकेको छैन । अनुसन्धानको नाममा प्रहरी प्रशासनले दर्जनौं व्यक्ति गिरफ्तार गरेको छ, कतिपय व्यक्तिहरु घर छोडेर भगुवाको जिन्दगी बिताइरहेका छन । यसबारे न्यायिक निकायले पनि भरलाग्दो निर्णय दिन सकेको छैन । तरपनि न्यायिक निकायबाट केही हुन्छ भन्ने अपेक्षा सबैले राखेका छन ।

यही सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको ज्यान गएको छ । यही काण्डमा एक सयभन्दा बढी व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको छ । यही दायरामा ल्याइएका एक व्यवसायी हुन, चेतन भण्डारी ।

उनका बुवाले ४० वर्षअघि गौचरबाट सुरु गरेको व्यापारलाई उनले छुट्टै पहिचान दिए । उनको सफलता उनको कडा मेहनतको प्रतिफल थियो भन्ने कुरा चेतनका सबै परिचितलाई जानकारी छ ।

उनै चेतन भण्डारी सुनकाण्डमा कसरी फसाइए भन्ने बारेमा तयार पारिएको विवरण :

‘बाजेको सेकुवा मेरो मामा चेतन भण्डारीले संचालन गर्नुहुन्छ । म कहिलेकाहिं त्यहाँ खान खान जान्थें । मामालाई म सुनको कारोबार गर्छु भन्ने थाहा छैन । बाजेको पसलमा सुनको कुनै कारबार हुँदैनथ्यो । बाजेको सेकुवा पसल असाध्यै भीडभाड हुन्थ्यो । सुनको कारोबार हुने कुरै भएन ।’

३८ क्विन्टल सुन तस्करी र सनम हत्या मुद्दाको मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेतीले अदालतमा गरेको बयान हो, यो । भण्डारीले सुनको कुनै कारोबार गर्दैनन भन्ने बयान गोरे (चुडामणि उप्रेती)को छ ।

किन लगाइयो अभियोग ?

नाताले भान्जा पर्ने गोरेसँग सरसापट गर्नु नै चेतन भण्डारीका लागि दसा सावित भएको छ । अभियोग पत्र अनुसार, भेटिएका डायरी तथा रजिष्टरमा लगभग २ सय ९० जनाको नाम उल्लेख छ । त्यस डायरीमा चेतनको पनि नाम छ भनिएको छ । अभियोग पत्र अनुसार, डायरीमा गोरेको घर बनाउने मिस्त्री, प्लम्बर ,साडुदाई विभिन्न रेष्टुरेन्टको नाम गरेर लगभग २ सय ९० को नाम उल्लेख गरेको पाइन्छ ।

यसरी नै सापटी लेनदेन हुने भएकोले आफ्नो नाम समावेश भएको हुन सक्ने चेतन भण्डारी पक्षको आशंका छ । भण्डारीको पसलमा गोरेले उधारो खाएपछि पैसा तिर्ने गरेका थिए । सायद, त्यो कारण पनि डायरीमा नाम उल्लेख गरिएको हुन सक्छ ।

डायरीमा नाम उल्लेख भएकै आधारमा चेतन भण्डारीलाई पक्राउ गरि मुद्दा चलाएको देखिन्छ । सर्वोच्च अदालतमा सोमबार भएको सुनुवाईमा डायरीको प्रसङ्ग उठेको थियो । अभियुक्त भुजुङ गुरुङको पक्षबाट बहस गरेका पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठले गोरेको साथबाट बरामद भएको डायरी सरकारी वकिलले समेत नपाएको रहस्य खोलेका थिए ।

उनले इजलासमा भने, ‘त्यो डायरीमा बहालवाला मन्त्रीदेखि उपल्लो तहका नेता तथा प्रहरीको समेत नाम उल्लेख भएको बताइएको छ । त्यो डायरी सरकारी वकिललाई समेत दिइएको छैन । यो मुद्दा व्यक्तिसँग मात्र सम्बन्धित छैन । सार्वजनिक चासोको त्यो डायरी अदालतले माग्नु पर्छ की पर्दैन ?’

कमजोर अभियोगपत्र
नाम : चेतन भन्ने चेतनाथ भण्डारी
पेशा : बाजेको सेकुवा पसल संचालक
वर्ण : गहुँ गोह्रो
उमेरः ३५ वर्ष
उचाई : ५ फिट ९ इन्च

मुद्दा : आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासी अवैध कारोबार अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान ।

नेपाल सरकार वादी भई लगाएको यो मुद्दाका विवरणहरु त्रुटिपूर्ण रहेको छ । चेतनको हुलिया बास्तविक भन्दा फरक छ । उनी ५ फिट ९ इन्चको नभई ५ फिट ५ इन्चका छन । उमेर ३५ वर्ष होइन । उनी ४२ वर्षका छन । सुनमा चेतनले लगानी पो गरेका हुन की भन्ने आशंका उत्पन्न हुनु स्वभाविक छ ।

अभियोग पत्रमा पेज १०८ देखि १२६ सम्म लगानीकर्ताको स्पष्टसँग नाम छ । तर, त्यसमा चेतन वा चेतनाथ वा बाजेको सेकुवाको कतै केही उल्लेख छैन ।

अभियोग पत्रलाई सरकारवादी फौजदारी मुद्दाको आधारभूत दस्तावेज मानिन्छ । सरकारवादी फौजदारी मुद्दामा वादी पक्ष (सरकारी वकिल)द्वारा लगाइएको आरोप, अभियुक्त उपर गरिएको मागदावी र सो पुष्टि गर्ने आधार र प्रमाणहरु उल्लेख गरिएको प्रारम्भिक दस्तावेज नै अभियोग पत्र हो ।

भण्डारी बिरुध्दको अभियोग पत्र नै कमजोर देखिन्छ । सरकारी मुद्दा सम्बन्धी ऐन, ०४९ ले अभियोगपत्र तयारीको जिम्मा सरकारी वकिललाई सुम्पेको छ । त्यसैले सरकारी वकिलले अभियोग पत्र तयार गर्दा आफनो बुद्धि, विवेक, व्यवसायिक दक्षता तथा कानुनद्धारा प्रदत्त अधिकार प्रयोग गरि मस्यौदा गर्नुपर्ने हुन्छ ।

यति जघन्य अपराध गरेको अभियोगमा मुद्दा दायर गरिएका चेतनाथ भण्डारीको संलग्नताका बारे गरिएको अभियोग पत्र नै फितलो बनेको छ । ३८ क्विन्टल सुनकाण्डको वृहत छानविनका लागि गृह मन्त्रालयका सह सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली नै गठन गरिएको थियो । दुई महिनाको अनुसन्धानपछि टोलीले पहिलो मुद्दामा फरार सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अभियोग दर्ता गराएको थियो ।

अभियोग पत्रमा उल्लेख गरे अनुसार, विभिन्न ठाउँबाट बरामद भएका डायरी तथा रजिष्टरहरुबाट उतारेको भनिएको अभियोगपत्रमा देखिन्छ । त्यसमा सुन मगाउने व्यक्तिहरुको नाम प्रष्टसँग उल्लेख गरिएको छ । त्यसमा खोइ त चेतनको नाम ? अभियोग पत्रमा प्रतिवादीका र थाहा भएसम्म निजका बाबुको नाम, थर, वतन भए घर नम्बर प्रष्ट उल्लेख हुनु पर्छ ।

बाझिने बयान

अनुसन्धानमा टेकराज मल्ल ठकुरीको बयान अनुसार भण्डारीसँग परिचय भएपछि सुनको कारोबार शुरु गरिएको हो । ठकुरीले अन्य प्रतिवादीको घर, ठेगाना, फोन नम्बर भन्न सक्छन । तर चेतनको भन्न सक्दैनन ।

ठकुरी आफू ५ फिट ३ इन्चका छन । आफु समान उचाई भएको मानिसलाई ५ फिट ९ इन्च भनी कसरी ६ इन्च ठूलो देखे ? यो कौतुहल लाग्ने विषय छ । अर्का अभियुक्त नरेन्द्र कार्कीको बयान अनुसार उचाई ५ फिट ९ इन्च भनिएको छ । जब कि, चेतन भण्डारीको उचाई ५ फिट ५ इन्च मात्र छ । सँगै काम गरेको भए आफु भन्दा ३ इन्च होचो मान्छेलाई आफु भन्दा अग्लो कसरी भन्यो होला ?

त्यस्तै अर्का अभियुक्त लाक्पा शेर्पाको उचाई ५ फिट ५ इन्च उल्लेख छ । शेर्पाले आफनो बयानमा चेतनको उचाई ५ फिट ९ इन्च उल्लेख गरेका छन । आफु समान उचाईको मान्छेलाई त्यति धेरै उचाई देखे त ? कसरी सँगै काम गरेको भनि पत्याउने ? जबकि, चेतन भण्डारीले आफनो प्रत्युत्तरमा शेर्पासँग कहिल्यै भेट नभएको उल्लेख गरेका छन ।

सबैजना अभियुक्त स्वयंले दिएको बयान अनुसार टेकराज मल्ल ५ फिट ३ इन्च, लाक्पा शेर्पा ५ फिट ५ इन्च, मोहन काफले ५ फिट ४ इन्च र नरेन्द्र कार्की ५ फिट ८ इन्च भनेको छ । तर , सबैले चेतनको उचाई ५ फिट ९ इन्च भनेको छ ।

यदि सँगै काम गरेको भए चेतनको ५ फिट ५ इन्चको उचाईलाई सबै जनाले एउटै हाइट (५ फिट ९ इन्च) कसरी देखे ? त्यसमा पनि बराबर उचाई भएका लाक्पा शेर्पा र लगभग बराबर उचाई भएका मोहन काफलेले चेतनलाई ५ फिट ९ इन्च देखे । अनौंठो लाग्ने कुरा त ,चेतन भन्दा २ इन्च सानो टेकराज मल्ल र चेतनभन्दा ३ इन्च अग्ला नरेन्द्र कार्कीले पनि ५ फिट ९ इन्च नै भनेको कुराबाट के बुझने ?

साथी भनिएका टेकराज मल्ल र कृष्ण भन्ने नरेन्द्र कार्कीको ततिम्बा बयानमा चेतन भण्डारीको घर र बाबु बाजेको नाम थाहा नभएको उल्लेख छ । हराएको सुन खोज्न मान्छेको ज्यानै समेत लिएर पनि खोज्नु भनी चेतनले कसलाई कुन मितिमा भनेका थिए ? चेतनले कुन नम्बरको मोबाइलबाट फोन गरे ? कल डिटेलमा यो कुरा खुलाइएको छैन । चेतन भण्डारीले हालसम्म के कति सुन ल्याए वा ल्याउन लगाए ?

समूहमा कारोबार गर्ने भएको भए कुन कुन ठाउँमा बसेर छलफल गरे ? सो ठाउँमा चेतनको उपस्थिति थियो भनि खुलाउन सकेको छैन । मोहन काफ्ले लगायतका अभियुक्तहरुले गरेको बयान पनि आपसमा नमिल्ने र बाझिएको देखिन्छ ।

समितिले तयार पारेको सुनको लिष्ट (अभियोग पत्र पेज १०८ देखि १२६ सम्मको एक्सेल सिट) मा चेतनको नाम छैन । उनले के अपराध गरेका थिए र उनलाई अभियुक्त बनाइयो भन्ने प्रश्न खडा भएको छ । अभियुक्त भुजुङ गुरुङले आफ्नो बयानमा लगभग ३० वर्ष अघिदेखि तस्करी गर्दै आएको स्वीकारेका छन । तर, चेतन भन्ने पात्रलाई उनले नचिनेको उनको बयानमा उल्लेख छ ।

फितलो अनुसन्धान

चेतन भण्डारी र गोरे भन्ने चुडामणि उप्रेतीको लगानीमा चेतनाथ भण्डारीको नाममा झापाको दमकमा ३१ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । यो जग्गा दमकमा नभई तोपगाछी वडा नं ४ मा पर्छ । यो चेतनाथको नाममा नभई उनकी पत्नी नीतिमा कार्की भण्डारीको नाममा छ ।

यो जग्गा खरिद गर्न भण्डारीले सिटिजन्स बैकबाट २ करोड ६५ लाख ऋण लिएको उल्लेख छ । उक्त ऋण वापतको भुक्तानी बैंकको नियम अनुसार चेक मार्फत गरिएको छ । भण्डारीले बैंकको स्टेटमेन्ट र ऋणको डिटेल पनि पेश गरेका छन ।

यसरी ऋण लिएर किनेको जग्गालाई गोरेसँगको संयुक्त लगानी भन्नु, नीतिमा कार्की भण्डारीको नाममा रहेको जग्गालाई चेतनाथ भण्डारीको भन्नु, तोपगाछी-४ मा रहेको जग्गालाई दमकको भनि उल्लेख गर्नुले अनुसन्धान कति फितलो भएको रहेछ भन्ने कुराको पुष्टि हुन्छ ।

यसरी ऋण लिएर किनेको जग्गाको सावाँ, ब्याज चेतन भण्डारीले नै तिर्दै आएका छन । यसमा अरुको संयुक्त लगानी भनेर गुमराहमा राख्न खोजेको देखिन्छ । यसमा संयुक्त लगानी हो भनेर जिकिरका साथ प्रमाणित गर्ने आधारहरु पेश गरेको पाईंदैन ।

सेकुवामा शिलबन्दी संशय

०७४ जेठ महिनाको अन्तिम साता विशेष समितिले बाजेको सेकुवाका शाखाहरुमा छापा मारेको थियो । छापा मार्दा त्यहाँ कुनै शंकास्पद हिसाब किताबको खाता, कम्प्युटर वा सुन तस्करीसँग सम्बन्धित कुनै पनि वस्तु तथा तथ्यहरु खोजिनु पथ्र्यो । तर, सिधै सिल गरियो ।

के उद्देश्यले सिल मात्र गरियो ? यो प्रश्न अनुत्तरित छ । सिल गर्नु अघि चेतन भण्डारीका भान्जा (चार्टड एकाउन्टेन्ट)लाई सुन समितिले एक पटक गृह मन्त्रालयमा बोलाएको रहेछ । त्यतिबेला धेरै सोधपुछ गरिएछ ।

ती मध्ये अन्त्यमा एक जनाले भनेछन्, ‘चेतनले यत्रो सम्पत्ति कसरी कमायो ? खुब फुर्ति गर्दै हिंड्थ्यो । अब देख्छ त्यसले । अब कसरी चलाउँदो रहेछ बाजेको सेकुवा ?’ चेतन विरुद्ध विशेष अनुसन्धान समितिभित्र कसैले बिगार्ने नै नियतका साथ काम गरेको प्रष्ट देखिन्छ ।

अदालतसंग आशा

चुडामणि उपे्रतीसँग मिलेर व्यापार व्यवसाय गर्न जान्छु भन्दै सनम शाक्य काठमाडौं आए । ०७४ साल फागुन १९ गते शाक्य अपहरणमा परे । उनलाई कुटपिट गर्दै करेन्ट लगाएर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । शंकास्पद अभियुक्तलाई प्रहरीले पक्राउ गरि मुद्दा चलायो ।

कुनै व्यक्ति अभियोग प्रमाणित नभएसम्म बेकसुर मानिन्छ । फौजदारी न्याय सिद्धान्तको मुलभुत मान्यता यहिं रहेको छ । तर, चेतन भण्डारीलाई लगाइएको अभियोग र अनुसन्धान आपसमा बाझिएको देखिन्छ ।

थुनछेक सम्बन्धमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दिएको आदेश चित्त नबुझेपछि प्रतिवादी पक्ष सर्वोच्च अदालतमा आइपुगेको छ । २०७६ साल १९ असार यता यही मुद्दामा सर्वोच्च अदालतमा दुवै पक्षका वकिलले लगातार बहस गरेका थिए । अहिले बहस टुंगिएको छ । न्यायाधीशद्धय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छोड्ने भन्ने निर्णय गर्नेछ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री