लुम्बिनी विश्व विद्यालयको नयाँ रणनीति

-राधेश्याम विश्वकर्मा
भैरहवा । बौद्ध दर्शनमा अध्यापन गराउने एक मात्र लुम्बिनी बौद्ध विश्व बिद्यालय नया रणनीतिका साथ अगाडी बढ्ने भएको छ ।

बौद्ध शिक्षा संगसंगै विद्यार्थीहरुको जिविका, बिज्ञान, प्रविधि लगायतका बिषयमा समेत विश्वविद्यालयले अध्यापन गराउने तयारी गरि रहेको लुम्बिनी बौद्ध विश्व बिद्यालय केन्द्रिय कार्यालयले जनाएको छ ।

बुद्ध धर्म, दर्शन, संस्कृतिक, साहित्य र इतिहासको माध्यमबाट लुम्बिनीको प्रचार प्रसारमा सहयोग पुर्‍याउने उद्देश्य सहित लुम्बिनी केन्द्रिय कार्यालय रहने गरी लुम्बिनी बौद्ध विश्विद्यालयको स्थापना गरिएको हो ।

बिशेष गरी बौद्ध दर्शनको बिषयमा अध्यापन हुने यस विश्वविद्यालयमा आगामी दिनामा बौद्ध दर्शनसंगै जोडिएर अन्य बिषयको पनि अध्यापन गराउने गरि ४ वटा रणनीति तयार गरिएको यसका उपकुलपति प्राडा हृदयरत्न बज्राचार्यले बताए ।

बज्राचार्यले पहिलो रणनीति अन्र्तगत ‘कोर बुद्धिज्म’ अन्र्तगत यसको संरक्षण र प्रवद्र्धन गर्नु नै रहेको उनले बताए । बुद्धको दर्शन, बुद्धको ज्ञान, बुद्धको शिक्षा र बौद्ध संस्कृति, साहित्य, इतिहास, कला लगायतका बिषयलाई ब्यवस्थित गर्दै उच्च शिक्षा प्रदान गरिने छ । यसले विश्व शान्तीको लागी लुम्बिनी विश्वबिद्यालयलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको उनले बताए ।

दोस्रो रणनीति अन्तर्गत अहिलेको युवा युवती र समाजलाई आवश्यक ब्यवसाय ‘सम्यक आजिव’ चल्ने गरि श्रममा आधारित ब्यवसाय मूलक शिक्षा प्रदान गर्ने रहेको उनले बताए ।

तेस्रो रणनीति अनुसार समाजसंग मिलेर समाज रुपान्तरण र बिकासको लागि विश्वविद्यालयले सहकार्य गरेर जाने रहेको छ । यस्तै चौथो रणनीति अनुसार विश्वविद्यालयको विश्वब्यापीकरणको लागि संजाल र सूचना प्रविधि लगायतको बिषयमा समेत कक्षा शुरु गर्ने उनले बताए ।

उपकुलपति बज्राचार्यले आगामी दिनमा देवदह नगरपालिका र लुम्बिनी बिकास कोषसंगको सहकार्यमा जिविका निर्वाहमुखी कक्षा संचालन गर्ने बताए । यसका लागि देवदह नगरपालिकाले १ सय बिघा क्षेत्रफलको सामुदायिक बन विश्वविद्यालयलाई उपलब्ध गराउने र सो बनमा बनस्पति बिज्ञानको साथै बिभिन्न ब्यवहारिक तथा निर्वाहमुखी कक्षाहरु सञ्चालन गरिने योजना रहेको उनले बताए ।

यसैगरी लुम्बिनी बिकास कोषसंगको सहकार्यमा ‘आर्कियोलोजी’ बिषयमा अध्ययन शुरु गरि यसका विद्यार्थीलाई उत्खनन्मा प्रयोग गरि त्यहींबाट जिविकोपार्जन र विश्वबिद्यालयको शुल्कको ब्यवस्था गर्न सकिने योजन बनाइरहेको बताए ।

अहिले यस बिषयमा विश्वबिद्यालयको ऐन र केही शिक्षाविदहरुमा अन्यौलता रहे पनि यो बौद्ध ज्ञानसंग नै जोडिएर रहेको कारण बिस्तारै सबै भ्रमहरु चिरिने बज्राचार्यले बताए । उनले अहिले बजारमा रहेको शिक्षा जस्तो नभई बौद्ध बिश्वविद्यालयले प्रदान गर्ने शिक्षा बौद्ध दर्शनबाट निर्देशित भएर सञ्चालन हुने दावी गरे ।

‘बुद्धको दर्शन, बुद्धको शिक्षाबाट निर्देशित भएर जिवन यापनका लागी उचित कार्यक्रम के हुन सक्छ त्यो पहिल्याएर हामी अगाडी बढनेछौ,’ बज्राचार्यले भने । यी रणनितिहरुले बौद्ध दर्शन र लुम्बिनी विश्वबिद्यालयको प्रचार प्रसारमा सहयोग पुर्‍याउने विश्वविद्यालयको दावी छ ।

विश्वभर बौद्ध शिक्षा फैलाउने उद्देश्यले १५ वर्षअघि स्थापना भए पनि विश्वविद्यालय बुद्ध जन्मस्थल लुम्बिनीमै खुम्चिएको छ । विश्वविद्यालय २ बिघा ३ कट्ठा क्षेत्रफलमा साँघुरो गरी बनाएको शैक्षिक र प्रशासनिक भवनमा थियो ।

अहिले मात्रै लुम्बिनी बाहिर छात्र र शिक्षक आवास तथा लुम्बिनी विकास कोषले दिएको जग्गामा छात्रा आवास बनेको छ । क्याम्पसका डिन डा. माणिकरत्न शाक्यले विश्वविद्यालयले एक आंगिक क्याम्पससहित नौ वटालाई सम्बन्धन दिएको बताए ।

त्यसमा विद्यावारिधी, स्नाकोत्तर, स्नातक, पीजीडी र प्रमाणपत्र तह सञ्चालन गरेको छ । अहिले विश्वविद्यालयमा ९ सय ९२ जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।

विसं ०५५ मा लुम्बिनीमा सम्पन्न प्रथम विश्व बौद्ध शिखर सम्मेलनले दुई वर्षभित्र लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव पारित गरेको थियो ।

६ वर्ष बेवास्ता गरेको सरकारले दोस्रो विश्व बौद्ध शिखर सम्मेलन सुरु हुन एक दिनअघि मात्रै २०६१ मा अध्यादेश मार्फत् लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको घोषणा गरेको थियो ।

स्थापनाको झन्डै ८ वर्षपछि २०७० साल देखि लुम्बिनीमा स्नाकोत्तर, काठमाडौंमा स्नाकोत्तर र विद्यावारिधीका लागि बौद्ध दर्शन पढाउन थालेको थियो । बौद्ध विश्वविद्यालयलाई अन्र्तराष्ट्रिय पहिचान दिँदै नेपालकै फरक शैक्षिक संस्थाका रूपमा स्थापित गर्न नया रणनीति तयार गरेको छ ।

जस अनुसार विश्वविद्यालयमा थेरवाद, महायान, वज्रयान, बौद्ध इतिहास, बुद्धिस्ट कला र पुरातात्विक, हिमालयन बुद्धिजम, टुरिजम एन्ड टुरिज्म म्यानेजमेन्ट लगायत १४ विभाग छन् ।

टिप्पणी थप्नुहोस्