ओली सरकार सबै कुरामा असफलः डा.महत

संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् ।

उनले भने,‘आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको छ । सरकार तमाम काममा असफल भएको छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको पनि आरोप लगाए ।

वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको उनको आरोप छ ।

उनले भने,‘सरकारले जनतातिर फर्केर राष्ट्रियताको कुरा गर्छ, तर जुन देशसँग आफ्नो कुरा राख्नुपर्ने हो त्यो देशसँग कुरै गर्न सक्दैन् । लम्पसार परेको छ । त्यसैले यो सरकार विदेश नीतिमा पुरै असफल भएको छ ।’
सर्लाहीमा हत्या भएकोले त्यसको सत्य, तथ्य पत्ता लगाउनको लागि संसदीय समिति बनाउनुपर्ने कांग्रेसले माग गरिरहेको पनि उनले जिकिर गरे ।

उनले भने,‘हामी मुलुकमा हत्या, हिंसा दोहोर्याउन दिँदैनौं । माओवादीलाई गिरिजाप्रसाद कोइरालाले वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउनुभयो ।’ महतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हिंसाको बाटो त्याग्नको लागि आग्रह गरे । उनले भने,‘विप्लव समूहले हिंसाको कदम रोक्नुपर्छ ।’

उनले पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकमा नेताहरुबीच जुहारी नचलेको बरु सकारात्मक छलफल जारी रहेको स्पष्ट पारे ।

उनले भने,‘महाधिवेशनको सन्दर्भमा हामी छलफलमा जुटेका छौं । महासमितिको बैठकले नयाँ विधान बनायो । अब नयाँ नियामावलीको टुँगो लगाउँछौं ।’ पार्टी यतिवेला पूर्ण रुपमा महाधिवेशन केन्द्रित रहेर संगठन विस्तारको काममा जुटेको पनि उनले विश्वास दिलाए ।

यद्यपी, उनले पार्टीभित्रबाट भोलि नै महाधिवेशन गर्नुपर्यो लौ चाहियो भनेर कसैलेपनि नभनेको जिकिर गरे । उनले केन्द्रिय कार्य समितिले बैठकले छिटोभन्दा छिटो अन्तरिम संरचना टुँगो लगाउने स्पष्ट पारे ।

उनले भने,‘अन्तरिम संरचनाले क्रियाशिल सदस्यता वितरण गर्छ । क्रियाशिल सदस्यताको टुँगो लागेपछि प्रारम्भिक मतदाताको सुचि तयार भएपछिमात्रै महाधिवेशनको मिति, कार्यतालिका तय हुन्छ ।’ महाधिवेशन गर्ने विषयमा पार्टीभित्र खासै विवाद नरहेको उनले जिकिर गरे ।

टिप्पणी थप्नुहोस्