मन्त्री पद त्याग्न तयार छुः मन्त्री यादव

संवाददाता

भैरहवा । नेपाल आयल निगमको भैरहवा विक्री डिपो फेरी शुरु भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले डिपोको उदघाट्न गरे ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले अब तेल आपूर्तिमा समस्या नहुने ग्यारेन्टी आफुले लिने बताएका छन् । उनले सरकार गठनपछि आफ्नै कारणले आपूर्तिमा बाधा अड्चन आए पनि अहिले पेट्रोलिएम पदार्थको सहज ढंगले आपूर्ति भइरहेको बताए ।

नेपाल आयल निगम लिमिटेडद्वारा भैरहवामा पुर्ननिर्माण गरिएको पेट्रोल पम्पको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मन्त्री यादवले भने,‘केही व्यवसायी साथीहरुले हाकिमले घुस माग्यो भन्नुहुन्छ, तर पैसा मैले दिन्छु हाकिमलाई गएर दिनुस भन्दा उहाँहरुले पछि नाक, मुख समेत देखाउन छोड्नुभयो, पछि बुझ्दा त तेल बढी पाइन्छ भन्ने उहाँहरुको मानसिकता रहेको पाइयो ।’ उनले कुनै कर्मचारीले पैसा मागे आफुहरुलाई जानकारी दिन आग्रह गरे ।

मात्रिका यादव मन्त्रीबाट हटेपछि हाकिमले सताउँछन् भन्ने नसोच्न व्यवसायीहरुले आग्रह गर्दै उनले भने म मन्त्री पदबाट हटेपनि सांसदबाट त कसैले हटाउन सक्दैन, फेरी मन्त्री जो भए पनि हाम्रै पार्टीको सरकार छ ।

मन्त्री यादवले आफु चाकडी गरेर मन्त्री नबनेकाले आफु बाधक भए मन्त्री पद त्याग्न तयार रहेको कुरा प्रधानमन्त्रीलाई समेत भनिसकेको बताए । खेलमा पनि राम्रो खेलाडी र क्याप्टेन समेत परिवर्तन हुन सक्ने भएकाले मन्त्री परिवर्तन भए पनि यही सरकार पाँच वर्षसम्म रहने उनले दावी गरे ।

यस्तै प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले सरकारले तदारुकताका साथ काम नगरेको भन्ने कतिपयलाई लागे पनि व्यवहारमा त्यस्तो नभएको बताए ।

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले राष्ट्रियता बलियो बनाए मात्र मुलुक समृद्ध हुन सक्ने बताए । उनले सरकारले शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने बताए ।

टिप्पणी थप्नुहोस्