धान खेतीको बेला बाँकेमा मलको हाहाकार

-सिराज खान
नेपालगञ्ज । बाँकेमा ठीक खेतीको बेला आएर रासायनिक मलको हाहाकार भएको छ । मल नपाएर जिल्लाका अधिकांश किसानहरु यताउता भौतारिरहेका छन् ।

पछिल्लो समयमा आएर लगातार वर्षा भइरहेकाले रोपाइँ गर्ने किसानले मल पाएका छैनन् । मलका लागि आ आफ्नो नजिकका सहकारीमा पुग्दा मल नपाएर रित्तै फर्किनु परेको किसानको गुनासो छ ।

मल सकिएकोले करिब दुई महिनाददेखि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका गोदाम रित्तै छन् । मल नहुँदा धेरै सहकारी नेपालगन्जमा पुगेर रित्तो हात फर्किरहेका छन् ।

अनुदानको मलको ७० प्रतिशत कृषि सामग्रीले र ३० प्रतिशत साल्ट ट्रेडिङले पाउँछ । कृषि सामग्रीमार्फत १ सय ५३ वटा र साल्ट ट्रेडिङमार्फत ६० वटा गरी दुई सय १३ वटा सहकारीले बाँकेमा मल बेचिरहेको कृषि सामग्री कार्यालयका प्रमुख रमेश पौडेल बताउँछन् । गत आर्थिक बर्षका कोटा सकिएको र नयाँ कोटा नआएको हुँदा मलको अभाव भएको उनले जनाए ।

कृषि सामग्रीको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयको गोदाम पहिलो पटक रित्तिएको प्रमुख पौडेलले बताए । कार्यालयको गोदाममा युरिया, डीएपी र पोटास गरी सबै मल कार्यालयले जनाएको छ ।

साल्ट ट्रेडिङको गोदाममा पनि सबै मल सकिएको छ । मलको माग अत्याधिक रहेकोले अबदेखि कोटा बृद्धिमा जोड दिइने कार्यालय प्रमुख मनोज चौधरी बताउँछन् । साल्ट ट्रेडिङले डीएपीको सट्टामा गैर अनुदानको एसएसपी नामको अर्को मल पनि बेचिरहेको छ । जुन डीएपी भन्दा अलि महंगो भएको उनले बताए ।

जिल्ला मल आपूर्ति समितिको बैठकले बाँकेका सहकारीलाई भैरहवाबाट मल ल्याउन सिफारिस दिएपछि कृषि सामग्रीको सिफारिसमा बाँकेका ३७ वटा सहकारीले गत असारको अन्तिम सातादेखि केही दिनसम्म ६ हजार ६ सय ५० बोरा मल भैरहवाबाट ल्याएका थिए । तर सो मल पनि ल्याउने बित्तिकै सकिएको थियो ।

त्यसपछि भैरहवाले माथिको आदेश भन्दै मल दिन रोकेको थियो । अब चालु आर्थिक बर्षको कोटाको मल ल्याउने प्रयास भैैरहेको कृषि सामग्री कम्पनी लिमिटेडलले जनाएको छ ।

उता, सयौं किसानले आवश्यक परेको बेला मल नपाएपछि भारतबाट तस्करी गरेर ल्याईएको महंगो मल खरिद गर्नु परेको गुनासो गरेका छन् । उनिहरुले दोब्बर बढी मूल्य तिर्नु परेको पनि बताएका छन् ।

बाँँके खजुराका किसान भरत मल्लले नेपालमा मल नपाएर भारतबाट तस्करी गरेर ल्याईएको मललाई दोब्बर बढी मूल्य तिरेर खरिद गर्नु परेको बाध्यता सुनाए । सोही प्रकारको गुनासो अधिकांश किसानको छ ।

अहिले धान खेतीका लागि मल अपरिहार्य भएको जनाउँदै जिल्लाका किसानहरुले जसरी पनि मल उपलब्ध गराउन माग गरेका छन् ।

टिप्पणी थप्नुहोस्