करोडौं लगानी : सेवा शून्य

-सिराज खान

नेपालगञ्ज, साउन । बर्सेनी उपचारका लागि पश्चिम नेपालका करीब डेढ लाख विरामी आउने नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पताल आफै विरामी परेको छ । अस्पतालको मुटु विभाग लथालिंग छ । सिकलसेल एनिमिया जाँचगर्ने मेसिन महिनौदेखि बिग्रेको छ ।

आपातकालीन सेवामा जनशक्तिको अभाव छ । रेविजको भ्याक्सिन छैन । अस्पतालका सबै विभाग मनपरी ढंगले चलेका छन् । सफाईको नाममा अस्पतालका कोठाहरुमा जताततै फोहोर देख्न सकिन्छ भने शौचालय त छिर्नै नमिल्ने गरी गन्हाउँछन् । वार्डहरुको अवस्था पनि उस्तै छ । बिभिन्न जाँचका लागि सञ्चालनमा रहेको ल्याबमा मनपरी छ । त्यहाँ आउने विरामीलाई सस्तोमा सेवा दिनु पर्ने ठाउँमा मेसिन विग्रिएको भन्दै कर्मचारीले नै बाहिर आफन्तको प्रयोगशालामा वा कमिसन पाउने ठाउँमा पठाउँछन् ।

सरकारले करोडौं–करोड रुपैयाँ खर्च गरेर सुविधासम्पन्न भवन र वार्ड निर्माण गरेको छ । आधुनिक उपकरण र मेसिन जडान गरिएकोछ । तर,जनशक्तिको अभाव बताउँदै ती मेसिन जानाजान बिगारेर थन्काईएका छन् ।

प्रादेशिक अस्पतालमा सरकारले चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र पूर्वाधारका लागि बर्सेनी ठूलो रकम खर्च गरेपनि जनताले राम्रो स्वास्थ्य सेवा पाउन सकेका छैनन् । रिफर सेन्टरका रुपमा विकसित भैरहेको यो अस्पताल यतिबेला अनेकौं समस्याले ग्रस्त छ ।

अस्पतालका मुटुरोग बिशेषज्ञ कृष्ण अधिकारीको सरुवा भएपछि मुटुरोग सेवा प्रभावित भएको छ । ‘बिशेषज्ञ जनशक्ति’ अभावको कारण साढे ६ करोडमा खरिद भएको ‘क्याथ–ल्याब’ मेसिन त्यत्तिकै थन्किएको छ ।अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको अभावले बिरामी प्रभावित भएका छन् ।

यति मात्रै होइन, पश्चिम नेपालका थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा परेका छन् । नेपालगन्जमा रहेको २९ लाखकोे मेशिन ९ महिनादेखि प्रयोगमा आउन सकेको छैन । रोग छ छैन भन्ने एकिन गर्न महँगो रकम खर्च गरेर भारत जानुपर्ने बाध्यता रहेको बिरामी बताउँछन् । सिकलसेल एनिमिया जाँच गर्ने इलेक्ट्रोफोरसिस मेसिन बिग्रेको करिव ९ महिना भएको छ । मेशिन बिग्रेपछि सेवाग्राही निजी क्लिनिकमा दुई हजारबढी तिरेर जाँच गराउन बाध्य छन् ।

अस्पतालमा सातामा ३० जना जति सिकलसेलका बिरामी आउने गरेका छन । शुल्क तिर्न सक्नेले बाहिर क्लिनिकहरुमा जाँच गराएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरु ‘कहिले मेसिन बन्ला र जाँच गराउँला’ भन्दै कुरेर बसेका छन ।

अस्पतालमा बिग्रेर थन्काईएको उक्त मेशिन मर्मत गरि प्रयोगमा ल्याउन बाँकेस्थित नागरिक समाजले पटक पटक अस्पताल प्रमुखको ध्यानाकर्षण गराएको छ । तरपनि, उक्त मेशिन मर्मत गर्ने चासो कसैले देखाएका छैनन् ।

मेशिन बिग्रेपछि स्वास्थ्य परिक्षणमा समस्या भइरहेको डाक्टर राजन पाण्डे बताउँछन् । उनका अनुसार पटक पटक अस्पतालले मेशिन मर्मतका लागि खरिदकर्तालाई ताकेता गरेपनि अनेक कारणले मेशिन मर्मत हुन सकेको छैन । अहिले भेरीमा सिकलसेलका चार सय विरामी छन् । जसमा दैनिक ४० जना जति फलोअपमा आउछन् । मेशिन नहुँदा नयाँ तथा पुराना विरामीको रोग जाँचमा अप्ठारो भइरहेको छ । डाक्टर पाण्डेले बताए, ‘पुरानो मेशिन मर्मत तथा नयाँ खरीदको प्रक्रियामा हामी लागिरहेका छौं ।’

अस्पतालका प्रमुख डाक्टर रुपानन्द अधिकारी एचबी ईलोक्ट्रोफोरेसिस मेशिन मर्मतको लागि काठमाडौं पठाई सकिएको बताउँछन् । मेशिन काठमाडौं पठाएपनि अहिलेसम्म मर्मत नहुदाँ बिरामीहरु समस्यामा परेको उनी बताउँछन् । अस्पतालमा दरबन्दी अनुसार डाक्टरको नभएकाले सेवा प्रवाह असहज भएको पनि प्रमुख अधिकारी बताउँछन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री