प्रचण्डको अर्को अनुहार

किशोर नेपाल

भूमिगत जीवनवाट सार्वजनिक भएको पहिलो दिनदेखि नै घात–प्रतिघात र अन्तर्घातको चौतर्फी आक्रमणमा परेका हुन पुष्पकमल दाहाल प्रचण्ड । त्यसपछि उनी दुइपटक प्रधानमन्त्री भै सके । राष्ट्रिय राजनीतिको चहल–पहलमा चारैतिर छाएका छन । प्रधानमन्त्री केपी ओली भएपनि प्रचण्डको फूर्ति प्रम ओलीको भन्दा कम छैन । संक्रमणकालीन न्यायको सन्दर्भमा कतै उनले वोलेको सुनियो, मलाई हेगको अन्तर्राष्ट्रिय न्यायालय लगियो भने म हिरो हुनेछु । यसप्रकारका भनाइ अतिशयोक्तिपूर्णहुने चर्चा पनि भयो ।

तर, प्रचण्ड त प्रचण्ड नै ठहरिए । उनी आक्रमण र संघात सहँदै गए । यस्ता संघात र आक्रमण उनको राजनीतिमा मात्रै सीमित छैन । उनले वेहोर्नु परेका व्यक्तिगत र पारिवारिक दुर्घटनाको कारक पनि उनलाई नै वनाइएको छ । उनी माथि यस्तो आक्रमण राजनीतिक हिसावले अन्य पार्टीले पनि गरेका छन । उनी अहिले जुन पार्टीका अध्यक्ष छन त्यही पार्टीभित्रबाट पनि आक्रमण भै रहेकोछ ।

अघिल्लो साता उनी आफनी बिरामी पत्नी सीतादेबीको इच्छा अनुसार दुवइमा छुट्टी मनाउन गएका छन । उनको यो क्रियाको निकै आलोचना भएको छ देशमा । यो अस्वाभाविक होइन नै । यो बिषयमा नेपाली प्रेसले उनीमाथि प्रचूर कटाक्ष गरेकोछ । उनीमाथिकोे आक्रमण आफनै पार्टी भित्रैवाट पनि ‘सांघातिक’ ढंगले भएको छ । यो स्वाभाविक होइन । प्रचण्ड आफैले हुर्काएका नेत्रबिक्रम चन्द ‘बिप्लव’ अहिले उनको साथमा छैनन । उनले जसरी प्रचण्डको राजनीतिमा अन्तरघात गरी रहेका छन त्यसलाई अस्वाभाविक भन्न मिल्दैन । तर, उनी अहिले जुन पार्टीमा छन त्यो पार्टीका एकपक्षका नेता कार्यकर्ता रिसाउनुको खासै अर्थ छैन ।

देशमा देखा परेका नव्वे प्रतिशत समस्या प्रचण्ड राजनीतिमा भएकै कारणले उठेको हुन भन्ने निष्कर्ष निकालेका छन यहाँ बिभिन्न राजनीति शक्तिहरुले । कम्युनिज्मका विरोधी भनेर ख्याति कमाएका प्रवुध्द व्यक्तिहरुको मन्थन–चिन्तनको गोली प्रचण्डतिर नै ताकिएको हुन्छ । प्रचण्डमाथि आक्रमणका आयाम यति विविध छन कि राजनीतिमा सबैले त्यसलाई थेग्नु सम्भव हुँदैन । प्रचण्डले त्यसलाई पचाइ सकेका छन । उनको चरित्र जे पनि पचाउन सक्ने खालको छ ।

दशक लामो “जन–युध्द” का सर्वोच्च कमाण्डर तथा साबिकमा राज्यको रुपान्तरणमा लागेको ध्वाँसदिने एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक शैली र सोचसंग कसैको पनि सहमति र असहमति हुनु वेग्लै कुरा हो । तर, उनी बिभिन्न राजनीतिक विरासत धानेर वसेका देशका अहिलेका नेताहरु भन्दा विलकुलै फरक छन । उनले आफै आफनो राजनीतिक विरासत बनाएका छन । त्यसलाई कसले सम्हाल्ने पत्तो छैन । रेणु र गंगा दुइ छोरी बाहेक बुहारी बीना गुरुंगले प्रचण्डको विरासत के थाम्न सक्लान रु बीना राजनीतिमा अस्थायी होलिन । उनी मेलम्चीमा डुब्ने अब निश्चित छ ।

अहिले पनि समकालीन धेरै नेताहरुको तुलनामा प्रचण्डको साख वढी नै छ । गाउँमा बस्ने नेपाली जनताले प्रचण्डलाई चिनेका छन माओवादीका रुपमा । शहरका मानिसहरुले उनलाई हिंसात्मक राजनीतिका सूत्रधार मानेका छन । यो गलत होइन । युध्दमा मारिएका पक्ष–विपक्ष सवैको जिम्मेवारी उनले लिनै पर्छ । लामो हिंसात्मक आन्दोलनका नेतृत्व गरेर प्रचण्डले आफना लागि नेपाली राजनीति र समाजमा पृथक स्थान वनाएका छन । तर, त्यसको सामाजिक बैधानिकताको पुष्टि गरिरहनुपर्ने नयाँ राजनीतिक परिस्थिति जन्मिएको छ देशमा ।

प्रचण्डका सम्वन्धमा राजनीतिक वृत्तका मानिसहरुले आ–आफनै धारणा वनाएका छन । कम्युनिष्ट आन्दोलनमा लागेका धेरै नेताको नजरमा उनी वदमास हुन् । कपट उनको मूल चरित्र हो । धन संग्रहमा उनलाई जित्ने कोही छैन । उनको वचनको ठेगान छैन । हुन्न कसैलाई भन्दैनन । हुन्छ भनेको कुरा गर्दैनन । कांग्रेसीहरुका आँखामा उनी विश्वसनीय छैनन । एमालेको संस्थापन पक्ष सम्हाल्ने नेताहरुलाई प्रचण्डले पटक पटक राजनीतिक लाभको पदमा उकाली दिएकाछन । तै पनि, उनीहरु प्रचण्डसंग सतर्क देखिन्छन । माधव नेपाल कहिले प्रचण्डसंग साठगाँठमा देखिन्छन र कहिले मतभेदमा । प्रचण्डका वारे उनको व्यवहार र धारणामा निरन्तरता देखिदैन । माधव नेपालको सवभन्दा ठूलो राजनीतिक गुण हो समय अनुसारको व्यवहार ।

मधेशी वृत्तमा पनि प्रचण्डका वारे समान मत छैनन । विजयकुमार गच्छदार एकताका उनलाई भरपर्दो नेता मान्दथे । अहिले उनी चारै दिशाको चक्कर मारेर कांग्रेसमा फर्किएका छन । उपेन्द्र यादवले प्रचण्डको भरोसा गुमाएपछि बाबुराम समातेका छन । मधेशका नेता सत्ता र सरकारको न्यानो नपाएसम्म चलहल गर्नसक्ने अवस्थामा नै देखिदैनन ।

यतिखेर प्रचण्ड आफैले सह–निर्माण गरेको पार्टीभित्र सुदृढ देखिदैनन । त्यसको अर्थ उनले संगठन माथिको आफनो पकड गुमाउन थालेका छन भनेर लगाउन मिल्दैन । ‘न्याटिव’ प्रकृतिको राजनीतिमा प्रम ओलीलाई मात दिन प्रचण्डलाई निकै गाहारो परेको छ ।

पार्टीभित्रका साना–ठूला हरेक गुट र हरेक नेताले उनलाई आफनो निमेसिस ठानेका छन । उनीहरुका लागि प्रचण्ड ‘इसेन्सियल इभिल’ भएका छन ।

दैनिक राजनीतिमा प्रचण्डले नेता र उपनेताहरुसंग गर्ने भलाकुशारी र देखाउने चलाखीको राजनीतिको मूल विन्दूमा कुनै महत्व देखिदैन । अहिलेको राजनीतिमा हरेक नेता अलिकति चलाख भएन भने पछाडि परिहाल्दछ । प्रचण्डले जति राम्रो लगाएपनि र जति राम्रो घरमा वसेपनि त्यसको सिकोगर्न कोही तयार छैनन । पैसाको विवाद पक्कै जायज हो । सवै नेताले जायज नाजायज तरीकाले अर्थ संकलन र संचालन गरेकै हुन्छन । प्रचण्डको ‘इन्टरनल’ सिष्टमले पनि त्यसै गरेको छ । राजनीतिको धन्दामा चन्दाको महत्व सर्वाधिक रहन्छ । यत्तिकै लागि प्रचण्डलाई मात्रै दोषी ठहर्याउनु कदाचित न्याय–संगत ठहरिदैन ।

धेरै वुध्दिवादीले नेपालको राजनीतिक पृष्ठभूमि नै नवुझी माओवादी हिंसाको विरोध गरेका छन । नेपालमा प्रजातान्त्रिक आन्दोलनको प्रवर्तक नेपाली कांग्रेस पार्टीले तीन पटकसम्म हिंसात्मक संघर्ष गरेको छ । अहिले माओवादीलाई आतंककारी र लुटेराको संज्ञा दिइएजस्तै कांग्रेसीलाई २०१८ सालदेखि २०२८ सालसम्म अराष्ट्रिय तत्व र त्यसपछि पनि २०३३ सम्म देश द्रोहीको संज्ञा दिइन्थ्यो । यो दन्त्यकथा होइन । समयको गतिसंगै राजतन्त्र आफनै अन्तर्विरोधमा नफँसेको भए कांग्रेसीहरु अहिले पनि अराष्ट्रिय तत्व र देश द्रोहीको आरोप खेपी रहेका हुन्थे ।

विरासतवादी आँखाले हेर्दा प्रचण्ड धेरै नै वदमास नेता हो कि भन्ने आशंका सवैको मनमा जाग्दछ । यो राज्यमा शताव्दीयौ देखि चलेको चलन र मान्यता नै हो राजकाजमा लाग्न भाइ–भारदार र कुल–कुलायनका मानिसमात्रै सुयोग्य हुन्छन । यसका विपरित सामान्य परिवारमा जन्मेका प्रचण्डले यो चलन र मान्यतालाई मिथ्या सावित गरिदिए । एउटा व्यक्तिले यो भन्दा ठूलो योगदान केही दिन सक्दैन समाजका लागि ।

प्रचण्डको वारेमा कुनै निष्कर्ष निकाल्दा युध्द, शान्ति र सहमतिलाई मात्रै उपलव्धिका रुपमा गन्न मिल्दैन । भक्तपुरको सिध्द पोखरी जस्तो लटक्क जमेर स्थीर वसेको नेपाली समाजलाई हुँडलेर त्यसलाई चलायमान वनाउन उनले निकै कडा परिश्रम गरेकाछन । अहिलेको नेपाली समाज राजनीतिका विषयमा लगातार सचेत हुनुको एउटा कारण यो पनि हो । -साभारः जनकपुर टुडे

टिप्पणी थप्नुहोस्