‘संसद अवरोध जारी रहन्छ’

संवाददाता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले आफूहरुले उठाएका माग सम्बोधन भए भोलि(सोमबार) संसद अवरुद्ध जारी राख्ने स्पष्ट पारेकी छिन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘हामीले उठाएका कुराहरु सम्बोधन भए भोलि बस्ने संसद सुचारु हुन्छ । अन्यथा हामी संसद अवरुद्ध जारी राख्छौं ।’ उनले आफूहरु हिंसाको पक्षधर नभएको पनि स्पष्ट पारिन् । भुषालले सरकारबाट लोकतान्त्रिक मूल्य र मान्यताको आधारस्तम्भ भत्काउने काम भयो भने आफूहरु त्यसको विरोधमा उत्रिने बताइन् ।

उनले भनिन्,‘हामी मानवअधिकार, विधिको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, प्रेस स्वतन्त्रताको पक्षमा छौं । संविधान विरोधी गतिविधि भए हामी त्यसको विरोध गर्छौं । यी सबै विषयहरु उठाउने महत्वपूर्ण थलो भनेको नै संसद हो । त्यही भएर हामीले यी विषयहरु उठाईरहेका छौं ।’

सर्लाहीमा असार ५ गते घटेको कुमार पौडेल हत्या प्रकरणको बारेमा आफूहरु संसदीय छानबिन समति गठन गर्नुपर्छ भनेर माग गरिरहेको पनि उनले सुनाईन् । उनले भने,‘यो घट्नामा मानवअधिकारको उल्लघंन भएको छ । यो घट्नामा संसदीय समिति गठन गर्नुपर्छ । यसबारेमा संसदले सरकारलाई आवश्यक निर्देशन दिनुपर्छ ।’

त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सर्लाही घट्नाको विषयमा संसदीय छानबिन समिति गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध जारी रहने चेतावनी दिए । उनले भने,‘संसव अवरोध गर्ने हाम्रो ईच्छा होईन । हामीले यो चाहेको छैन् ।’

कर्णले सभामुखले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सरकारलाई तीन पटकसम्म निर्देशन दिएको अवस्थामा अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारप्रति कडा आपत्ति जनाए ।

उनले भने,‘सरकार त संसदबाट जन्मिएको हो । संसदको निर्देशन पालना गर्नुपर्छ । तर, अहिलेको सरकारले निर्देशन पालना गरेको छैन् । सरकारले पनि प्रतिवेदन सार्वजनिक गर्छु भनेर अहिलेसम्म सार्वजनिक गरेको छैन् । यो त निकृष्ट काम हो ।’

संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छु भनेर बोलिसकेको तर अहिलेसम्म सार्वजनिक नगरेकोमा कर्णले गुनासो पोखे ।

कर्णले सर्लाहीमा गैरन्यायिक हत्या भएकोले आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट पारे । उनले भने,‘अवैध धन्धा चलाएर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने अनि त्यही खाल्डोमा पुरिएर बालकको ज्यान गएको छ । यो त मानवअधिकारको गम्भिर उल्लंघन हो ।’

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री