चिनियाँ विज्ञ टोलीले मूख्यमन्त्री पोखरेललाई भेट्यो

-राधेश्याम विश्वकर्मा

रुपन्देही । मुख्यमन्त्री शंकर पोखरेलसंग चिनियाँ बेल्ट एण्ड रोड ईनिसिउटिभ चाईना (विआरआई) विज्ञ टोलीले भेट गरी विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदा बारे छलफल गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता, संभावना तथा बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै विआरआई मार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने बताए । उनले नेपालमा विआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा रहेको बताए ।

मूख्यमन्त्री पोखरेलले केरुङ–काठमाडौं–लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सके लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दु हुन सक्ने बताए । उनले कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसर बारे विस्तृत अध्ययन गर्नुपर्ने समेत बताए ।

चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विआरआई मार्फत गर्न सकिने काम र संभावना बारे मूख्यमन्त्रीसंग जानकारी लिएको मूख्यमन्त्रीको प्रेस सल्लाहकार शेर बहादुर केसीले जनाए ।

प्राध्यापक लीउ वी डोउले मुख्यमन्त्रीसंग महत्वपूर्ण छलफल भएको र समय दिनुभएकोमा धन्यवाद दिए । विआरआई परियोजना मार्फत चीनले आफूसगैं छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने बताए ।

टिप्पणी थप्नुहोस्