नेटवर्क व्यापारको नाममा ठगी : ४४ जनाको उद्धार

-सिराज खान
नेपालगञ्ज । एक भारतीय कम्पनीले नेटवर्किङ व्यापारको नाममा नेपाली युवायुवतीहरुबाट लाखौं रकम ठगी गरिरहेको खुलासा भएको छ ।

लाखौं रकम उठाएर तालिम दिने बहानामा सीमापारी रुपैडिहा पुर्‍याइएका ४४ जना युवायुवतीको उद्धारपछि ठगी भइरहेको खुलेको हो ।

रुपैडिहामा सामान खरिद गर्न जान लागेको भनि ढाँटेर ती युवायुवतीहरु सानो-सानो समुह बनाएर भारत छिरेको माइती नेपालले जनाएको छ । समुहमा रहेकाहरुमा अधिकांश ९ देखि १२ कक्षामा पढ्ने विद्यार्थीहरु रहेका छन् । उनीहरुलाई सीमापारी तालिम दिन भनी बोलाइएको थियो ।

भारतको चेन्नईस्थित ओरियन्स ग्लोबल मार्केटिङ कम्पनीले नेटवर्किङ व्यापारको बहानामा कैलाली र दाङका ४४ युवायुवतीबाट करिब १० लाख रुपैंयाँ संकलन गरेको जमुनाह प्रहरी कार्यालयले जनाएको छ ।

फाराम भराउने भनी प्रतिब्यक्ति २ हजार पाँच सय संकलन गर्नुका साथै विभिन्न सामान पठाउने भनी जनही १५ हजार देखि एकलाखसम्म रकम असुलेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा विहानैदेखि जमुनाहा इलाका प्रहरी कार्यालय र जमुनाहास्थित माइती नेपालको टोली सक्रिय भई भारत प्रवेश गरिसकेका २४ युवती र २० युवकलाई उद्धार गरिएको थियो ।

माइती नेपालले ४४ जनाको समूहलाई रुपैडिहामा भेटेर सोधपुछ गर्दा रुपैडिहामा सामान किनमेल गर्न आएको बताएपछि बेचविखनमा पर्ने आशंकामा उनीहरुको उद्धार गरेको बताइएको छ ।

जमुनाहा इलाका प्रहरी कार्यालयका इन्चार्ज सई माधव रिजालको अगुवाइमा रुपैडिहास्थित भारतीय सीमा सुरक्षा बल(एसएसबी) सँग समन्वय गरी उनीहरुलाई नेपालगञ्ज ल्याइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उद्धार गरिएका ४४ युवायुवतीबाट ६ लाख भारतीय रुपैंयाँ असुली गरिएको छ ।

जमुनाहा इलाका प्रहरी कार्यालयका इन्चार्ज रिजालको सक्रियतामा जिल्ला प्रहरी कार्यालयबाट ट्रक मगाएर रुपैडिहास्थित एसएसबी फोर्सबाट आवश्यक कागजात पुरा गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

४४ युवायुवतीसहित भारतीय कम्पनीको मिलेमतोमा युवायुवतीको जमात बटुल्ने २ जना नेपाली नाइकेलाई पनि प्रहरीले हिरासतमा राखेको छ । उनीहरुसंग सो बिजनेश नेटवर्कका बारेमा सोधपुछ भैरहेको जनाईएको छ ।

टिप्पणी थप्नुहोस्