फजुल खर्च गरी तीज मनाए कारवाही

-राधेश्याम विश्वकर्मा

भैरहवा । तीजमा फजुलखर्ची र सुरक्षा चुनौति थपिएको बताउँदै जिल्ला प्रशासन कार्यालयले यसलाई नियन्त्रण गर्न आग्रह गरेको छ ।

फजुल खर्च तथा महंगा पोसाक र गहना प्रदर्शन गरी ध्वनी प्रदुषण हुने गरि कार्यक्रम गरिए कारवाही समेत गर्ने प्रशासनले चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै तीजको नाममा एक महिना अघिदेखि नै बिभिन्न खाले बिकृति बढ्दै गएको जनाउँदै यसको मौलिकतामा नै चुनौति थपिएको बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षरित सूचनामा शहरी क्षेत्रमा तीजको मूख्य दिन आउनु अघि नै बिभिन्न संघ संस्थाको नाममा बिभिन्न होटल र पार्टी प्यालेसमा दर खाने र भेटघाटको नाममा होटल तथा पार्टी प्यालेसको अग्रिम बुकिङ्ग भएको कार्यालयलाई जानकारी प्राप्त भएको उल्लेख छ ।

यस प्रकारले मनाइँने तीज पर्वले सामाजिक सदभाव खल्बलिन गई विकृतिको रुप लिने र सुरक्षा नै प्रभावित हुने भएकोले कुनै पनि संघ संस्था, समुह, सहकारी, होटल, पार्टी प्यालेसहरुले तीजको मौलिक परम्परामा आँच आउने गरी फजुल खर्च, भडकिलो अस्वाभाविक तरिकाले कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । यस्तो कार्यक्रम गरिए प्रचलित कानुन अनुसार कारवाही समेत गर्ने सूचनामा उल्लेख छ ।

टिप्पणी थप्नुहोस्