हेगको भूत र भयको कोलाहल

-पुरुषोत्तम लम्साल
बाइस वर्ष अगाडि सन् १९९८ मा अन्तर्राष्ट्रिय युद्धअपराध अदालतको परिकल्पना स्वीकार भएपछि रोम सन्धी वा रोम बिधानको चर्चा शुरु भयो । र, चार वर्षपछि (सन्२००२ जुलाइ १) अदालत गठन भयो । त्यसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत भनिन्छ । यसको मुख्यालय नेदरल्याण्डको हेगमा छ । यो अदालतको उद्देश्य नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधमा संलग्न संसारका कुनै पनि व्यक्तिलाई न्यायिक कठघरामा उभ्याउनु हो । कसैकसैले यसलाई मानवताविरुद्धको अदालत पनि भन्छन्, कसैले बर्बरताविरुद्धको अदालत पनि भन्छन् । राज्य राज्यबीचको मुद्दा र सम्बन्धित देशभित्रको मानवताविरोधी मुद्दा यसको क्षेत्र हो । कुनै देशका सरकारले गम्भीर प्रकृतिका मानवताविरुद्धको अपराधलाई सम्बोधन गर्न असफल भएको अवस्थामा अन्तर्राष्ट्रिय फौजदारी अदालत देखाउने र खोज्ने चलन छ ।

मुख्यतः कुनै जाति, भाषा, धर्म वा अन्य अलग पहिचान भएका समूह नष्ट गर्ने अभिप्रायले गरिने नरसंहार वा जातीय नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधलाई यो अदालतले सम्बोधन गर्दछ । यसको अर्थ राज्यका तर्फबाट लड्ने प्रहरी, प्रशासक, सेना र सरकारप्रमुखदेखि विद्रोही लडाकू, कमाण्डर वा घटनामा संलग्न सम्बन्धित व्यक्ति पनि अन्तर्राष्ट्रिय फौजदारी अदालतको दायरामा आउँछन् ।

युगोस्लाभियाका पूर्व राष्ट्रपति स्लोभोदान मिलोसोभकदेखि चिलीका तानाशाह अगष्टो पिनोचेसम्म यो अदालतको कारबाहीको सूचीमा परेका छन् । कंगो र सर्बियाका राष्ट्रपतिदेखि सुडानका राष्ट्रपतिसम्मलाई हेगले लतारेको छ । यद्यपि, सुडान रोम विधानको पक्ष राष्ट्र थिएन । राष्ट्रसंघीय सुरक्षा परिषद्को सिफारिसमा त्यहाँका बहालवाला राष्ट्रपति ओमार हसनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले कारबाही थालेको हो । कंगोका विद्रोही नेता थोमस लुबांगाविरुद्ध अन्तर्राट्रिय फौजदारी अदालतले कैद सजाय सुनायो । उनिविरुद्ध १५ वर्षभन्दा मुनिका बालबालिकालाई युद्धमा होमेको अभियोग लगाइएको थियो । यसै साता मृत्यु भएका कम्बोडियाको पोलपोट सत्ताका मन्त्री नुओन ची लाई पनि हेगले गत वर्ष मात्र आजीवन कारावासको सजाय सुनाएको थियो ।

नेपाल रोम विधानको पक्ष राष्ट्र होइन । अर्थात् नेपालले रोम विधान अनुमोदन गरेको छैन । पक्ष राष्ट्र नभएपछि अन्तर्राट्रिय फौजदारी अदालतले नेपालका तात्कालीन राज्यपक्ष, विद्रोही पक्षविरुद्ध आफैंले मुद्दाको पहलकदमी लिन सक्दैन । र, नेपालका तात्कालीन राज्यपक्ष र विद्रोही पक्षका व्यक्तिहरुविरुद्ध अन्तर्राट्रिय फौजदारी अदालतमा प्रक्रियालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ‘इनिसियट’ गरिहाल्छ भन्नु तत्कालका लागि ठट्टा हो । नेपालको शान्ति प्रक्रियामा सहभागी राजनीतिक दलहरुले ‘निश्चित पात्रलाई कज्याउन’ राष्ट्रसंघलाई बोलाएर काठमाडौंमा अस्थायी अदालत (ट्रिब्यूनल) गठन गर्लान् ? हिजोको अनमिनै भूमिका देखेकाले अर्को खाली कागजमा ल्याप्चे ठोक्लान् ? बदलाको कोटीहोम लगाउँछु भन्नेहरुले लुकाएको प्रक्रिया यो पनि हो । इराक, कम्बोडिया र अफगानिस्तानका नरसंहारका दृष्टान्त र सन्दर्भ नेपालको सन्दर्भमा कति लागू हुन सम्भव छ ? हेगको मुखौटो बोकेर जात्रा नाचिरहेकाहरुले यो विषयमा जनमत तयार गर्न सकेका छैनन् । अर्थात् हेगको भुत एकाध युटुबेहरुसँग चिच्याउनेहरुको लैलै नै हो अहिलेका लागि ।

नेपालको एउटा सभ्रान्त र कुलिन बर्गले अन्तर्राट्रिय फौजदारी अदालतको राग अलापेको आज होइन, शान्तिप्रक्रिया अगाडि नै हो । सामाजिक संरचनाको केन्द्रमा रहेर नीति र राजनीतिमा चलखेल गरिरहेको ती स्वार्थ समूह फरकफरक रुप र आवरणमा रहेर ‘हेग, हेग, हेग’ चिच्याएको विषय नयाँ होइन ।

हेगलाई सकेसम्म ‘सौदाबाजीको विषय’ बनाउन तिनीहरुले गरिरहेको यथाशक्य प्रयत्नको औचित्य चाँहि आजको मितिसम्म देखिएको छैन । गोबिन्द केसीले उठान गरेको द्वन्द्वको मुद्दा र लेनिन बिष्टले रुक्मांगत कटुवालसँग गरेको भेट एकै हो । वर्थलेस । उनीहरुको लबिंग र खर्च कसले ब्यहोरिरहेको छ भन्ने तत्कालका राज्य र विद्रोही दुबैलाई थाहा छ, त्यसैले हेगको भुतले तर्साउन सकेको छैन ।

अर्को सवाल, अन्तर्राट्रिय फौजदारी अदालत पनि शक्ति राष्ट्रहरुको कठपुतली हुन सक्छ कि सक्दैन भन्ने पनि हो । गत वर्ष अफगानिस्तानमा बन्दीविरुद्धको दुव्र्यवहारको आरोपी अमेरिकी सैनिक र गुप्तचर अधिकारीलाई मुद्दा चलाउने विषयमा अमेरिकाले व्यक्त गरेको आक्रोश एउटा नजीर हो । त्यतिबेला अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बल्टनले अन्तर्राट्रिय फौजदारी अदालतलाई नै अबैध भएको आरोप लगाएको धेरै भएको छैन । प्यालेस्टिनी नागरिकविरुद्ध भएका मानवअधिकारविरुद्धका मुद्दा छानवीन गर्न भएको अनुरोधलाई हेगले सम्बोधनको प्रयास थाले अदालतविरुद्ध नै प्रतिबन्ध लगाइदिने धम्कीहरु पनि सार्वजनिक भए । अन्तर्राट्रिय फौजदारी अदालतसँग अनुरोध गरेकै कारण शक्तिराष्ट्रले कूटनीतिक नियोग नै बन्द भएका नजीर पनि जिउँदै छ ।

यस्ता तथ्यलाई नेपालमा हेगको हल्ला फिंजाउनेहरुले लुकाइरहेका छन् र हेगलाई ‘उसिनेको अण्डा’सरह प्रचार गरिरहेका छन् । यही प्रचार र केही स्वार्थ समूहको सक्रियता नै भय उत्पन्न गर्न पर्याप्त भइरहेको देखिन्छ । नत्र डा.बाबुराम भट्टराईको हम्बुराही संहिताको प्रतिक्रियात्मक टिप्पणी र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हिरो हुने रहर सार्वजनिक हुने थिएन । हेगको कोलाहलले संचार गरेको भयकै कारण तात्कालीन विद्रोही पक्षका नेताद्वय प्रचण्ड र बाबुराम आफ्नो मर्यादा नै भुलेर टिकाटिप्पणीको रत्यौलीमा रमाइरहेका छन् ।

भयको न्यारेटिभ्स

भयको विलोम साहस, निर्भय, अभय आदि हुन्छ । भय अर्थात् डर, एक प्रकारको त्रासग्रस्त मनोविज्ञान । खासमा भय ज्ञात वस्तु, पदार्थ, अवस्थाबाट उत्पन्न हुन्छ । अनुभवै नगरिएको स्थितिमा भय उत्पन्न हुँदैन । अर्थात् भय वास्तविक र काल्पनिक हुन्छ । वास्तविक भयले भन्दा बढी काल्पनिक भयले मान्छेलाई भयभित बनाउँदछ । अज्ञात भएबाट मान्छे विरलै डराउँछ । जस्तो स–साना बालबालिका अँध्यारोमा किन खेल्छन् ? आगोसँग किन जिस्किन्छन् ? सर्पसँग किन डराउँदैनन् ? साधारण स्थितिमा मान्छेमा किन मृत्युको भय देखिंदैन ? किनकी, उसले अनुभव गरेको हुँदैन । मान्छे ईश्वरसँग किन डराउँछ ? किनकि ऊ कर्मको फलबारे जानकार छ ।

जे. कृष्णमूर्तिले कहीं लेखेका थिए ‘भय वस्तुतः कायरताको प्रकृति हो ।’ उनको भाषामा कायरताको अर्थ आन्तरिक दुर्बलता हो । संकटको सामना गर्ने क्षमता क्षीण हुँदै जाँदा अथवा आन्तरिक दुर्बलता प्रबल हुँदै जाँदा मान्छेलाई भयले छोप्दै लान्छ भन्ने कृष्णमूर्तिको तर्क थियो ।
फियर एण्ड फ्रिडममा फेरेज नेडेस्डी लेख्छन्ः ‘भय त्यहाँ उत्पन्न हुन्छ जहाँ एक विशिष्ट प्रकारको जीवनप्रति मोह हुन्छ ।’ त्यो विशिष्टता कायम राख्नु र त्याग गर्नुबीच स्वतः भयको प्रतिक्रिया देखिन्छ । लौकिक वा सांसारिक मोहबाट अलगाव नहुँदासम्म भय स्थीर रहन्छ । फेरेज आकांक्षा र भयबीच पनि उस्तै सपाट सम्बन्ध केलाउँछन् । एउटा विशिष्टताबाट अर्को विशिष्टतामा जाँदा भय नियन्त्रण त हुन्छ तर निर्मूल हुँदैन भन्ने उनको ठम्याई छ ।

अन्तरआत्मा कलुषित भएको अवस्थामा व्यक्ति आरामको निद्रा सुत्न सक्दैन । किनकि स्थायी आशंका नै भयको कारण हो । धोकाको भय, बदलाको भय, रहस्य खुल्ने भय, असहयोगको भय इत्यादिले व्यक्तिलाई गाँजिरहेको हुन्छ । अर्थात्, संकटग्रस्त व्यक्ति स्थायी पृथकताको कल्पनाबाट पनि भयभित भइरहेको हुन्छ । यही कारण ऊ सम्झौतापरस्त हुन्छ, आत्मसमर्पण गरिरहेको हुन्छ ।

रिचर्ड गार्नेटको दृष्टिकोण सापटी लिने हो भने कुनै वस्तुसँग अति गहनतम् निकटता वा लगावले मानसिक कष्ट दिइरहँदा व्यक्तिमा भयको जोखिम बढी हुन्छ । हो पनि, शारीरिक कष्ट पो स्नायुगत हुन्छ मानसिक कष्ट कल्पनागत पनि हुन्छ, भावनागत पनि हुन्छ । भयभित के ले बनाउँछ ? संकटबाट बच्नका लागि व्यक्तिले यसअघि एकत्रित गरेको संगठित गरेको सञ्चित अनुभवले बनाउँछ ।

जहाँ भयको कारण छैन त्यहाँ भयभित भइरहेको हुन्छ । तर, चोर चोरी गर्न डराउँदैन । छली ठगी गर्न डराउँदैन । कपटी षड्यन्त्र गर्न डराउँदैन । ब्यभिचारी व्यभिचार गर्न डराउँदैन । बेइमान असत्य बोल्न वा झुठा मिथ्या भाषण गर्न गराउँदैन । तर सबैमा समान प्रकृतिको भय हुन्छ । ज्ञात भय । यस्तो बेलामा मान्छे माटोको पुत्लासँग पनि डराउँछ । शरीर, मन र आत्मा कमजोर भइसकेपछि अवरोधसँग संघर्षको अपेक्षाभन्दा भय घनिभूत हुन्छ । यो कर्मको फलबारे ज्ञात भय हो ।

‘प्रचण्ड’ को भयभित्र विचित्र संयोग भेटिन्छ । कहिले साम्राज्यवादले, कहिले तिनका मतियारले सिध्याइदिने भय प्रकट गरे । शान्तिकालमा प्रतिक्रियावादीहरुले नै सिध्याइदिने भय रह्यो । कहिले दरबार हत्याकाण्ड र कहिले मदन भण्डारीको उदाहरण दिएर दर्जनौंपटक उनले आफ्नो भय प्रकट गरे । जनताको घेरामा रहँदा भन्दा सुरक्षाकर्मीको घेरामा रहँदा प्रचण्डमा ज्यादा भय प्रकट भइरहेको छ ।

हिजो विप्लवको भयले सताएको देखियो । हुँदाहुँदा अब लेनिन बिष्ट र कमल थापाहरुसँग ‘प्रचण्ड’ भयभित छन् । ज्ञानेन्द्र शाहलाई आफैंले नारायणहिटीबाट गलहत्याएको दावी गर्ने प्रचण्ड तिनै ज्ञानेन्द्र शाहसँग भयभित देखिन्छन् ।

उनलाई थाहा छ, फरकफरक स्वार्थ समूह फरकफरक आवरणमा तर एउटै उद्देश्यले काम गरिरहेका छन् । ती सबका विरुद्ध संगठित मुक्का प्रहार गर्ने शक्ति, साहस र सामथ्र्य क्षीण छ । यसैले भयग्रस्त अभिव्यक्ति दोहोरिने क्रम बढ्दो छ । भयमाथि विवेकले नियन्त्रण गर्ने कि आवेगले ? भयलाई मर्यादाको सीमाभित्र रहेर कज्याउने कि उत्तेजित वा अमर्यादित भएर उछाल्ने ? सम्बन्धित पात्रहरुले नै जानुन् ।

टिप्पणी थप्नुहोस्