विदेश पढ्न जाने अधिक, स्वदेश फर्कने न्यून

-कृष्ण आचार्य

काठमाडौं । विदेशी विद्यालय वा शिक्षण संस्थाबाट प्राप्त उपाधि त्रिभुवन विश्वविध्यालय मातहतको पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता नलिई नेपालमा मान्य हुँदैन् ।

तर दिनहुँजसो विदेशका विश्वविद्यालयमा अध्यनका लागि जाने बिद्यार्थीको संख्या भने बढी रहेको छ । सोही अनुरुप नेपालमा समकक्षता लिने बिद्यार्थीको संख्या पनि दिनदिनै बढी रहेको छ ।

त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्राडा पारसनाथ यादवका अनुसार त्रिविबाट झन्डै २० हजार बिद्यार्थी बार्षिक रुपमा समकक्षता लिने गरेका छन् । यो संख्या दिनानुदिन बढी रहेको छ ।

हुनत अध्ययनकै लागि भनेर विदेशिने युवाको संख्या त्रिविमा समकक्षता लिने भन्दा तेब्बरले बढी छ । ०७४/०७५ साल असारसम्मको तंथ्यांक हेर्ने हो भने ६९ हजार ६ सय २३ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेश जाने अनुमति लिएका छन् । त्यसपछि पनि २०७५/०७६मा ६० हजार बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका छन् ।

आंकडा अनुसार बिद्यार्थीहरु प्रायजसो अमेरिका, अस्ट्रेलिया, जापान र छिमेकी मुलुक भारत अध्यनका लागि ‘नो अब्जेक्सन लेटर’ लिने गरेका छन् ।

यद्यपी, विदेशमा अध्ययन सकाएका कति विद्यार्थी नेपाल फर्कन्छन भन्ने कुरा नेपालमा आएर लिएको समकक्षताबाट स्पष्ट हुन्छ । त्रिविले बिद्यालय तह भन्दा माथिका प्रमाण पत्रहरुलाई समकक्षता प्रदान गर्ने गर्दछ ।

समकक्षता प्रदान गर्ने आधार

कुनै पनि बिद्यार्थीले आफ्नो प्रमाण पत्र समकक्षताका लागि पेस गर्दैगर्दा सम्बन्धित बिद्यार्थीले अध्यन गरेको कोर्ष कन्टेन्ट मिलेको या नमिलेको स्पष्ट खुलेको हुनुपर्छ । जसमा क्रेडिट आवर, बिद्यार्थीले अध्यन गरेर आएको संस्था या विश्वविद्यालयमा सम्बन्धित निकायबाट अनुमति प्राप्त छ कि छैन भन्ने नै मुख्य आधारहरु हुन् ।

यस बाहेक अन्य विभिन्न प्रमाणपत्रहरुको सक्कल कपी पेस गर्नु पर्दछ । आवश्यक कागजातहरुमा समकक्षता माग गरेको तहको प्रमाणपत्र, लाब्धंक पत्र र ट्रान्सक्रिप्टको फोटोकपी, चारित्रिक प्रमाण पत्र, आफुले अध्यन गरेको तहको सिलेबस ,थेसिस र रिसर्च पेपर, हाइर एजुकेसन काउन्सिलको सम्बन्धन भएको प्रमाण पत्र, वर्गीकरण खुलेको ग्रेडिङ्ग स्केलको कागजात आवश्यक पर्छ ।

अन्य भाषा भए अंग्रेजी अनुवाद गरिएको तल्लो तहको प्रमाणपत्र, लब्धांकपत्र ट्रान्सक्रिप्ट साथै नेपाल नोटरी पब्लिक काउन्सिलबाट प्रमाणित प्रतिलिपिहरू र साथमा पासपोर्ट र भिषा अनिवार्य हुनुपर्दछ । भारतमा पढेर आएकालाई कतिपय कागजात अनिवार्य छैन् ।

समकक्षताको आकर्षण

केही बर्ष अघिसम्म समकक्षता लिने बिद्यार्थीहरुको संख्या निकै कम थियो । तर अहिले संख्या बढेको छ । निर्देशक प्राडा यादवका अनुसारअहिले दैनिक झन्डै ६० जति बिद्यार्थीले समकक्षता लिइरहेका छन् । जुन पहिलेको तुलनामा निकै बढी हो ।

प्रायजसो बिद्यार्थीहरु प्राविधिक शिक्षाका लागि नेपाल भन्दा बाहिर जाने गरेको पाइन्छ । उनीहरु अध्यनका लागि बाहिर जान्छन र कतिपय राम्रो आम्दानीको आशले उतै पलायन हुन्छन त कोहि नेपाल फर्किन्छन ।

प्राडा यादव भन्छन, ‘मैले एक कार्यक्रममा पाएको शिक्षा मन्त्रालयको आंकडा अनुसार गतबर्ष (२०७५/२०७६)मा नेपालबाट बाहिर अध्यन गर्न जानका लागि ६३ हजारले अनुमति लिगेका थिए ।’

टिप्पणी थप्नुहोस्