लागु औषध र नैतिकता बिरुद्धको अपराध: प्रहरीको टाउको दुखाई

-राधेश्याम विश्वकर्मा
भैरहवा । लागु औषधको मुद्दाबाट हैरान भएको रुपन्देही प्रहरी पछिल्लो समय सार्वजनिक अपराध र नैतिकता बिरुद्धको अपराधबाट दिक्क छ ।

अचानक स्थानीयबासी र प्रहरी बिचको झडप बढेको छ । प्रहरीमाथि हातपात गरेको भन्दै प्रहरी कार्यालयले धमाधम नैतिकता बिरुद्धको अपराधमा मुद्दा दर्ता गरी प्रक्रिया अगाडी बढाई रहेको छ ।

गत आर्थिक बर्षको असार २९ गते प्रहरीसंग नै हातपात गरेको आरोपमा रुपन्देही प्रहरीले तिललोत्तमा नगरपालिका २१ बर्षिय रोशन थापा, विवेक बिक, १८ बर्षिय आयुष थापा र २३ बर्षिय सन्दिप बिकलाई पक्राउ गरेको थियो ।

यति मात्र होइन प्रहरी र अन्य ब्यक्तिलाई गाली गलौज तथा अभद्र ब्यवहार गरेको आरोपमा प्रहरीले गत आर्थिक बर्षमा २ सय ५६ वटा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसुरमा मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाएको छ । जिल्ला प्रहरी र कार्यालय र यस मातहतका बिभिन्न युनिटबाट प्रहरीले उक्त मुद्धा अन्र्तगत ३ सय ६० जनालाई पक्राउ समेत गरेको जनाएको छ ।

लागु औषध प्रयोग तथा यसको ओसार प्रसारबारे प्रभावकारी बनेको रुपन्देही प्रहरीको लागि अहिले नैतिकता बिरुद्धको अपराधले कार्यसम्पादनमा बाधा पुर्‍याउने देखिन्छ । यसअघि केही सार्वजनिक अपराधका मुद्दा अहिले नैतिकता बिरुद्धको अपराधको रुपमा परिभाषित भएको छ ।

बिगतका बर्षहरुमा लागु औषध प्रयोगकर्ता तथा यसको ओसार प्रसार गर्नेहरु केही मत्थर भए पनि नियन्त्रित भने भई सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक बर्षमा सबैभन्दा बढी लागु औषध सम्बन्धि मुद्धा नै दर्ता भएको छ । ३ सय ७१ वटा लागु औषध सम्बन्धि मुद्दामा ५ सय २१ जनालाई पक्राउ गरिएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

लागु औषध नियन्त्रण प्रहरीको टाउको दुखाई रहे पनि अहिले भने नैतिकता बिरुद्धको अपराधले पनि अनावश्यक झन्झट थपि दिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले तराईमा स-साना कुरामा पनि मुद्दा दर्ता गर्ने परिपाटीका कारण कार्यबोझ थपिएको बताउँछन् ।

‘सामान्य कुटपिटमा पनि जाहेरी लिएर आउने गरेका झगडियालाई सम्झाउन खोज्दा वकिल वा हुलाकबाट जाहेरी दर्ता गराउने परिपाटीका कारण पनि यो संख्या बढेको हो’, थापाले भने ।

यसले प्रहरीको दैनिक कार्यसम्पादन प्रक्रियामा खासै असर नपारे पनि रुपन्देहीमा बढी मुद्दा दर्ता हुनेमा नैतिकता बिरुद्धको अपराध पनि रहेको थापाले बताए । पछिल्लो तीन बर्षको लागु औषधको अपराध बिश्लेषण गर्दा अहिले यो अपराध घट्दै गएको प्रहरीको दावी छ ।

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार रुपन्देहीमा ज्यान सम्बन्धी अपराध पनि प्रशस्तै रहेको छ । बिशेषगरी रुपन्देहीमा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ ।

रुपन्देहीमा गत आर्थिक बर्षमा १ सय ४८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै ७५ जना बिष सेवन, १ जना आगो लगाएर, १ जना करेण्ट लगाएर तथा २ जनाले हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाई छ ।

कर्तब्य ज्यानमा १६ वटा मुद्धा दर्ता गरेको प्रहरीले ३७ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ भने ज्यान मार्ने उद्योगमा ११ वटा मुद्धा दर्ता गरि १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

यस्तै साधारण चोरीका १ सय ५४ वटा मुद्धा दर्ता भएको र २ सय १७ जना चोरहरुलाई समातेको डिएसपी भण्डारीले जानकारी दिए ।
गत आर्थिक बर्षमा नागरिकता सम्बन्धि ५, राज्य बिरुद्धको अपराधमा ३, धर्मपरिवर्तनमा १, जातीय भेदभाव तथा छुवाछुतमा १ सरकारी छाप दस्तखत किर्तेका १० वटा मुद्धा दर्ता भएको डिएसपी भण्डारीले रुपान्तरणलाई बताए ।

यस्तै मानव बेचबिखन तथा ओसारपसारमा १७, बहुविवाहमा ४३, विवाह सम्बन्धि कसुरमा १, जवरजस्ती करणीमा ७०, बालयौन दुराचारमा ४, जवरजस्ती करणी उद्योगमा ३२ र अप्रातिक मैथुनमा १ वटा मुद्धा दर्ता भएको छ ।

सवारी ज्यान सम्बन्धि १ सय ३० मुद्धा दर्ता गरि १ सय ६ जना माथी मुद्धा चलाइएको रुपन्देहीका प्रहरी प्रवक्ता भण्डारीले जनाए । रुपन्देही प्रहरीले बैंकिङ्ग कसुरका १ सय ११, अपहरण तथा शरिर बन्धकका ८, सट्टाबाजीको १ र बम बिष्फोटनको २ वटा मुद्धा दर्ता गरेको छ । गत आर्थिक बर्षमा १ हजार ८ सय ३७ वटा मुद्धा दर्ता गरि १ हजार ७ सय ६३ जनालाई पक्राउ गरिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री