देशप्रेम र राष्ट्रियता कागजको माछाजस्तो

-सतिश चापागाई
‘नेप्लीजडायस्पोरा डटकम’को सम्पादन कक्षमा अरबबाट अचानक खबर आयो– सिन्धुपाल्चोकका अमित न्यौपानेको निधन भयो । खबर पठाउने तेजवहादुर थापालाई लेखें–फोटो पठाईदिनु । समाचार बनाउँदै गर्दा म सामान्य थिएँ । यस्ता समाचार आईरहन्छ गइरहन्छनको भावमा । जसै मैले फोटो अपलोड गरें, मेरो मुड़ अचानकै परिवर्तन भयो । मन अमिलो भयो । आखाबाट आँशु नै खस्यो । समाचार बनाउँदै गर्दा आँशु खसेको मेरो पत्रकारिताको जीवनमा यो पहिलो पटक हो ।

त्यो भाईलाई म चिन्दै चिन्दिन । समाचार एक पटक सरसर्ती पढेको मात्र छु । तर यस लक्का जवान युवाले यो उमेरमा खाडीको एउटा कम्पनीमा जुन मरणवरण गर्‍यो त्यसबाट म विक्षिप्त भएँ । मैंले तेज़ जीलाई लेखें, ‘तेजजी यो भाईको समाचार पब्लिस गर्दैगर्दा मेरो आँखाबाट आँशु नै खस्यो । अझै कति यस्ता भाईहरु गुमाउनु पर्ने हो हामीले ?’ मैले फेरि लेखें, ‘आई एम भेरी सरी !’

‘दाई मैले उनको घरमा बुबालाई फोन गरेर घटना बताएँ । बुबाले, तिमी के भन्दैछौ बाबु, कसरी यस्तो भयो, हुन सक्दैन’, भन्नुभयो । म भावविह्वल भएँ । तेज भाईले मसंग भन्नुभयो ।

छ महिना अगाडी कान्छो बुबाको जेठो छोरो, मेरो भाई अरुणले त्यहि अरबबाट संसार छोड्यो । त्यतिबेला मैंले समाचार बनाउने फुर्सद र रुने सुबिधा पाइन । ३१ बर्षको भाई अरुण केही वर्षको अरब बसाई छाडेर सधैंका लागी नेपाल आउँदै थियो । आफ्नी जीवन संगिनीसंग फ़ोन गरेर भनेको रहेछ, ‘१५ दिनपछि सँधैका लागि अरब छाड्दैछु । कम्पनीलाई जानकारी गराएँ, म्यानेजरले हुन्छ भनेको छ ।’ भोलिपल्ट अरुण ढल्यो । ३१ बर्षको अरुणलाई हामीले गुमायौं । त्यसपछि सरकारी कागजातका अनेकन लफडा सकेर उसले आउंछु भनेकै दिन अरुणको पार्थिव शरीर घर पुग्यो ।

अरुण र अमित त प्रतिनिधि पात्र मात्र हुन् । बिना सोचेसम्झे बिदेशी भूमि यसरी ज्यान गुमाउने नेपालीको संख्या कति होला ? अनुमान पनि गर्न सकिदैन । हरेक दिन १५ सय नेपाली बाहिरिन्छन भन्ने तथ्यांक सबैसंग छ । दैनिक ३ जना नेपाली काठको बाकसमा फर्किएका तथ्यांक पनि सबैलाई थाहा छ । यी सबै तथ्यांकसंग देशको मिडिया र राजनीति लगायत सबै क्षेत्र जानकार छ । कर्मचारीतन्त्रले त यो तथ्यांकलाई पटक पटक ओल्टाई पल्टाई गरिरहन्छ ।

देश छोडेर जानुका आफ्नै समस्या हुन्छन । सत्य कुरा हो, कोही पनि मान्छे खुशी मनले अरब जाँदैन । अरब मात्र होइन कोही पनि मान्छे खुशी मनले विदेश जाँदैन । बिकसित देशमा जानेका अलि फरक पढ्ने बाटो बन्द भएपछी र पढ्दा लागेको खर्च तिर्न युवाहरु अरब पुगेका छन् । देशमा सेवा गर्ने अवसरको ढोका बन्द भएपछी युवाहरु अरब पुगेका छन् । बिहे गर्दा लागेको खर्च तिर्न र बिहेपछि श्रीमतीका गहना र चाहना पुरा गर्न युवाहरु अरब पुगेका छन् । पाखोबारी मै उत्पादनशील काम गर्दा हौसला र साथ नपाएका युवाहरु अरब लागेका हुन् । बिर्सन हुन्न, देशको माटोमा पसिना पोखेर उब्जेका उत्पादनले बजार नपाएपछि धेरै युवाहरु अरबमा पुगेका छन् ।

भन्नेहरु त भन्छन –‘पसिना बगायो भने गाउँ मै सुन फल्छ ।’ यो कुरामा जति सत्यता छ त्यति वास्तविकता छैन । यो त खोलाको माछा र कागजको माछा जस्तै फरक कुरा हो । खोलाको माछा पो मारेपछि पोलेर खान सकिन्छ, कागजको माछा पोल्न थाल्यो भने के हुन्छ ? के खाने ? गाउँमा गरिव र सोझा सिधाले के अवसर खोज्ने ? ऋण कसले दिन्छ ? विश्वास कसले गर्छ ? अवसर नै पो कति खुलेका छन् र ? अनि ती अवसरमा खरो उत्रन के–के गर्नुपर्छ सबैलाई थाहा छ । अनि तत्कालका लागि देशप्रेम र राष्ट्रियता कागजको माछाजस्तो लाग्छ र युवाहरु विदेश पुग्छन ।

कसैलाई लाग्न पनि सक्छ यी विदेश जानेहरु सबै ठग र अल्छीहरु हुन् । असली ठग र अल्छिहरु त उनीहरुलाई विदेश पुर्‍याउने दलाल बनेका छन् र त्यही गाउँ सहर मै डुलेका छन् । अनेक जालसाजी गरेर, नक्कली सपना देखाएर यी युवाहरुलाई विदेश पुर्‍याएका छन् ।

एउटा युवाले काठमाडौँको दलालबाट सुनेको कुरो अरबको दलालसम्म पुग्दा आधा फरक पाउँछ । ठग काठमाडौँमा छन् की अरबमा ? काठमाडौँमा हुँदा एउटा दलालसंग उसको पासपोर्ट हुन्छ अरब पुग्दा अर्को दलालले उसको पासपोर्ट राखिदिन्छ । ठगहरु नेपाली हुन् कि बिदेशी ? नि:शन्देह नेपालीहरुले नै नेपालीलाई ठगिरहेका छन् ।

प्रसंग ठग्नेहरुको होइन, यस बिषयमा अर्को लेखमा चर्चा गरौंला । प्रसंग ठगिनेहरुको हो । यो लेखमा मैले कोट्याउन खोजेको बिषय अझै कति नेपालीले विदेश जानुपर्ने बाध्यता भोग्नु पर्ने भन्ने हो। मैंले माथि भनेजस्तै किताबका माछा खाउ भन्ने शैलीको एउटा जमातको नेपालमा हालीमुहाली छ । जो बाबुबाजेको सम्पती वा उनीहरुकै सानको आडमा आफुसुखी छ र केही अवसर पनि पाएको छ । उसको बोली सुनिन्छ पनि । अनि फ्याट्टै भनिदिन्छ, ‘बिदेशमा ट्वाईलेट सफा गर्न हुने, देशमा काम गर्न नहुने ?’ फेरी प्रश्न उठ्छ माछा त खाने तर कहाँको ? खोलामा माछा छ की छैन ? मतलव देशमा अवसर छ कि छैन ?

‘बिदेशमा ट्वाइलेट सफा गर्न हुने, देशमा काम गर्न नहुने !’ भन्नेहरुसंग एउटा सामान्य प्रश्न गर्न मन लाग्छ की त्यही ट्वाइलेट सफा गर्ने अवसर कति छ हाम्रो देशमा ? ट्वाइलेट सफा गरेर आफु र सपना पाल्न सकिन्छ की सकिन्न ? ट्वाइलेट सफा गरेर निस्किदै गर्दा सम्मान मिल्छ कि अपमान ? हामीकहाँ ट्वाईलेट बनाउनु पर्छ भन्नेसम्मको चेत पलाईसकेको छैन । यिनै ट्वाईलेट सफा गर्नेहरुले पठाएको सोच र पैसाले नै त घरघरमा ट्वाईलेट बन्न लागेका हुन् भन्ने कुरा बिर्सन पाइन्छ र ?

भ्रष्ट र विकृत व्यवस्थाहरुले गरीखानेहरुका सारा हक-अधिकार छिनेर राखेका छन् । गणतन्त्रको अभ्यासको एक दशक पनि यो वर्गको जनजीविकाको सवालमा राज्य उदासिन रह्यो ।

नेपालको ग्रामिण भेगको हरेक घरबाट कम्तिमा एक जना विदेशमा गएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘देशका अधिकांस युवाहरुको सानो सपना अरब र ठुलो सपना अमेरिका छ’ भनेर बेलाबेलामा भन्ने गरेका छन् । यो सत्य पनि हो ।

राज्यको रुपान्तरणमा लागेको देशले युवा जमातको भावना र आवश्यकता बुझ्न नसक्दा अझै पनि आगामी पिढीको भबिश्य सुनिश्चित देखिएको छैन । देशमा बढ्दो युवा बेरोजगारीको बिकल्प खोज्नु, बिदेशिएका लाखौं नेपालीलाई फर्काउने योजना कोर्नु र बिदेश मै जन्मेर हुर्किएको नेपाली रगतमा नेपालप्रेम भर्नेसम्मको दुरदृष्टि राख्ने बेला हो यो । यो राज्य ‘रुपान्तरण’को बेला हो तर राज्य ‘रुमल्लिईरहेको’ आभाष विदेश बस्ने नेपालीलाई भईरहेको छ ।

गत बर्ष पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईसंग भिडियो अन्तरबार्ता गर्ने अवसर मिलेको बेला मैंले उहाँलाई सोधेको थिएँ, ‘भट्टराई ज्यु, मलाई डिभी नपरेको भए म आज अरबमा हुन्थें । रहरमा होइन बाध्यतामा विदेश जानुपर्ने स्थितिको कहिले अन्त्य हुन्छ ?’ भट्टराईले भन्नुभयो, ‘स्वदेशी बिदेशी पुँजी परिचालन गर्दै कृषिलाई आधुनिकीकरण, अर्थतन्त्रलाई औधोगीकिकरण गर्ने र नेपाललाई पर्यटनको केन्द्र बनाउने हो भने त्यो अवस्था छिट्टै आउँछ ।’ भट्टराईको निचोड पनि त्यही थियो हामीले उपयुक्त नीति निर्माण गर्न सकेका छैनौं ।

संसारकै राम्रो हाम्रो संबिधानले जनताका धेरै अधिकारहरु सुरक्षित गरिसकेको छ । अब लेख्न बाँकी केहि छैन, देख्न बाँकी धेरै कुराहरु छन् । त्यसमध्येको पहिलो कुरा हो संविधानको अक्षरश पालना । अनि मात्र हामी समृद्धिको यात्रा तय गर्न सक्छौं । अन्यथा, विदेशमा बसेर ज्यान हत्केलामा राखेर रेमिट्यान्स पठाउनेहरुलाई गाली गरेर मात्र देश बन्नेवाला छैन । राज्यको उचित रुपान्तरण भए मात्र अरुण र अमितले जस्तै अरु युवाले बिदेशमा अनाहकमा ज्यान गुमाउनु पर्ने छैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री