नेकपामा माधव नेपालको पुनरोदय

-नरेन्द्र विमल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सांगठनिक एकीकरण नसकिदै पार्टीभित्र नयाँ शक्ति सन्तुलनको अवस्था देखा परेको छ । करिब दुई तिहाइको सामथ्र्यमा बनेको सरकारले कुनै ठोस परिणाम दिन नसके पछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको प्रभाव पार्टीभित्र पनि कमजोर भएको छ । परिणाम पाँच वर्षपछि माधवकुमार नेपाल प्रम ओलीलाई चुनौति दिने अवस्थामा पुगेका छन् । संविधान जारीगर्ने र भारतीय नाकाबन्दीको समयमा ओलीको लोकप्रियता पार्टी र देशभर बढेको थियो । त्यो उफानमा नेता नेपाल निकै कमजोर बनेका थिए । पार्टी एकीकरणपछि प्रम ओली र पुष्पकमल दाहाल प्रचण्डबीच रहेको दुई ध्रुव अहिले तीन ध्रुवमा बिभाजित भएकोछ । नेपाली कांग्रेसभित्र लामो समय अभ्यासमा रहेको नेता त्रयको अवधारणामा नेकपा आइपुगेको छ ।

सर्प, भ्यागुतो र बिच्छी

प्राकृतिक प्रक्रियामा समेत सबैको सन्तुलन बनाइ राख्ने भूमिकामा रहेका हुन्छन बिभिन्न जीवहरु । जस्तो सर्प, भ्यागुतो र बिच्छीका बीच एकप्रकारको सन्तुलनको अवस्था हुन्छ । एक्ला एक्लै भेट हुँदा सर्पले भ्यागुतोलाई खान्छ, भ्यागुतोले भेट्यो भने बिच्छीलाई निल्छ र बिच्छीले सर्पलाई ठुँगेर मार्छ । नेकपाभित्र पनि तीन नेताको अवस्था त्यस्तै छ ।

२०७४ असोज १७ गते तत्कालीन एमाले र माओवादीले पार्टी एकीकरणको विषयमा निर्णयगर्दा किनाराका साक्षी मात्रै रहेका नेता नेपाल २०७६ बैशाख यता प्रभावशाली देखिएका हुन् । परिणाम स्वरुप नेपालले संगठनभित्र आफ्नो हिस्सेदारी बढाउदै लगेका छन् । एकीकरण हुनुअघिसम्म गठबन्धनबाट प्राप्तगर्ने हिस्सामा नेपाल निकट नेताहरुले भाग पाउने गरेका थिएन् । संघ तथा प्रदेश चुनावमा नेपाल पक्षलाई साइजमा ल्याउन ओलीले चालेको कदम प्रत्यक्ष रुपमा देखिन्थ्यो ।

तत्कालीन एमाले र माओवादीबीच भागबण्डा गरिंदा एमालेको अवस्था मजबूत भएको जिल्लामा समेत माओवादीलाई छाड्ने गरी सहमति भएको थियो । भोजपुरमा सबै राजनीतिक दलहरु एकतर्फ हुँदा पनि स्थानीय चुनावमा एमाले पहिलो दल बनेको थियो । भोजपुरबाट नेपाल पक्षका केन्द्रीय सदस्य रहेका राजेन्द्र राईलाई उम्मेदवार बनाउने भनेर सर्वसम्मत निर्णय भएको थियो । तर भागबण्ड हुँदा राईलाई रोक्नका लागि एमालेले भोजपुरमाथि दावी नै गरेन ।

प्रदेशका टिकटका लागि पनि राईले निकै झमेला ब्यहोर्नु परेको थियो । दोलखाको अवस्था पनि त्यस्तै थियो । दोलखामा एमालेले संघीय सांसदको टिकट पाए पनि ओलीले आफू निकट रहेका पार्वत गुरुङलाई टिकट दिए । पोलिटब्युरो सदस्य पशुपति चौलागाईको प्रदेश सांसदको टिकट मनोनयनको केही समयअघि मात्रै निश्चित गरिएको थियो ।

तत्कालीन एमाले र माओवादीबीच ६ प्रदेशको नेतृत्व बाँडफाँड हुँदा एमालेको भागमा चार र माओवादीको भागमा दुई प्रदेश परेको थियो । एमालेको भागमा परेको १, ३, ४ र ५ प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री ओलीले आफू निकट नेताहरु क्रमशः शेरधन राई, डोरमणि पौडेल, पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई बनाएका थिए ।

कतिसम्म भयो भने स्थायी कमिटी सदस्य र प्रदेश इन्चार्ज समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्यविरुद्ध केन्द्रीय सदस्य समेत नरहेका डोरमणि पौडेललाई संसदीय दलको नेताको चुनावमा उठाइयो । गुटको शक्तिको आधारमा पौडेललाई जिताइयो । अन्य प्रदेशमा समेतमा अवस्था त्यस्तै रह्यो । नेपाल र नारायणकाजी श्रेष्ठ विदेशमा भएको समयमा सचिवालयको बैठक बोलाएर प्रदेश इन्चार्ज र अध्यक्षको बाँडफाँड गरी नाम चयन गर्ने काम भयो ।

विदेशबाट फर्किएका नेपालले नोट अफ डिसेन्ट लेख्ने बताए । तर सुनुवाई भएन । त्यस समयसम्म दुवै अध्यक्षको एउटै स्वर र मत रहेको थियो । तर, जिल्ला अध्यक्ष र सचिवको छनोटसम्म आइपुग्दा परिस्थितिले कोल्टे फेर्यो । नेपालले लामो समय अडान लिए र समानान्तर अध्यक्ष घोषणा गर्ने समेत चेतावनी दिए । अध्यक्ष ओली अर्का अध्यक्ष दाहाललाई साथ लिएर पेलेरै जाने मनस्थितिमा थिए । तर अध्यक्ष दाहालले नेता नेपालले उठाउँदै आएको मापदण्डको आधारमा नै जिल्ला अध्यक्षहरु चयन गर्न सहमत भए । यसले नेपाललाई पार्टीभित्र उपस्थिति राम्रो बनाउने मौका मिल्यो । ओलीले तयार पारेको सूचीमा जिल्ला अध्यक्षमा तीन जना मात्रै पर्ने अवस्था थियो ।

अहिले पूर्व एमालेको भागमा परेको ४४ जिल्ला कमिटी मध्ये १६ जिल्ला कमिटीका अध्यक्षहरु नेपाल पक्षका रहेका छन् । त्यसैगरी २२ जना सचिव नेपाल पक्षका आएका छन । भूगोलमा रहेका ७७ जिल्ला कमिटी मध्ये ४४ अध्यक्ष एमालेको भागमा परेको थियो । तर अन्यत्र पनि यसले आफ्नो उपस्थित देखाउने अवसर पाएको छ । जिल्ला इन्चार्ज तोक्दा पनि पुरानो मापदण्डलाई आधार बनाइयो । पहिलो एमाले र माओवादीले प्राप्त गर्ने जिल्ला छुट्याउने र जुन पार्टीको भागमा परेको छ त्यसको जिम्मेवारी पुरानो इन्चार्जलाई दिने गरी सहमति भएको छ । आन्तरिक समिकरणमा नेपाललाई फाइदा पुगेको छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कमिटीमा नेपालको पक्षमा उपस्थिति राम्रो रहेको थियो । पछिल्लो अवस्थालाई हेर्दा नेकपाभित्र तीन वटै समूह बराबरीको हैसियतमा देखिन्छ ।

नेकपाभित्रको अहिलेको सन्तुलन भनेका एकले अर्कोलाई निषेध गरेर जान सक्ने अवस्था छैन । नेकपाभित्र सबै महत्वपूर्ण निर्णय गर्दै आएको नौ सदस्यीय सचिवालयमा तीन समूहका तीन तीन जना रहेका छन् । पूर्व माओवादीहरु प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ एकतर्फ छन भने अर्कोतर्फ ओली, ईश्वर पोखरेल र विष्णु पौडेल रहेका छन् । तेस्रो समूहमा नेपाल, झलनाथ खनाल र बामदेव गौतम रहेका छन् ।

तत्कालीन एमालेको संसदीय दलको नेता तथा पार्टी अध्यक्षमा ओलीलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेका गौतम असन्तुष्ट रहेका छन् । प्रतिनिधिसभा चुनावमा आफूमाथि अन्तरघात गरेर हराएको आरोप लगाउँदै आएका गौतम विकास निर्माणका लागि छुट्टै सरकारी संरचना बनाउन चाहन्थे तर प्रम ओलीले त्यसलाई रोके । त्यसैगरी गौतमले वहालवाला सांसदलाई राजिनामा गराएर चुनाव लड्ने निकै प्रयास गरे । उनले एक दर्जन स्थानमा त्यस्तो प्रयास गरेपनि अध्यक्ष ओलीले त्यसलार्ई असफल बनाइ दिए । त्यसपछि गौतम ओलीबाट टाढिएका छन ।

नेपाल र खनाल ओलीसँग पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका छन् । ओली खनाललाई पराजितगर्दै एमाले संसदीय दलको नेता र नेपाललाई पराजितगर्दै पार्टी अध्यक्षमा चुनिएका हुन् । नेकपाभित्र पूर्व एमाले एकीकृत हुँदा पूर्व माओवादी हावी हुनसक्छन । तर, पूर्व एमाले बिभाजित अवस्थामा रहेको कारण त्यो संभव छैन । अध्यक्ष ओलीको स्थायी समितिको अवस्था सचिवालयको भन्दा कमजोर रहेको छ । स्थायी समितिमा नेपाल पक्षका नेताको संख्या बढी छ ।

नेता त्रयको अभ्यास

अहिलेको नेकपाभित्रको अवस्था कांग्रेसले लामो समयदेखि अभ्यास गर्दै आएको नेता त्रयको जस्तै हो । जसमा शीर्ष तीन नेताहरुबीच प्रमुख रुपमा सल्लाह हुन्छ र दुई जना जुन पक्षमा हुन्छन् त्यही निर्णय कार्यान्वयन हुन्छ । पछिल्लो समयका निर्णयहरुमा त्यस्तै देखिन्छ । जिल्ला अध्यक्षहरु कसलाई बनाउने भन्ने विषयमा नेतात्रयको एकमत रहेको थिएन । ओली र नेपाल दुई खेमामा विभाजित रहेका थिए । अर्का अध्यक्ष दाहालले नेपालले अघि सारेको प्रस्तावको समर्थन गरे । ओली त्यसलाई मान्न बाध्य भए । त्यसपछि एकीकृत पार्टीले लिने कार्यनीतिको बारेमा विवाद भयो । अध्यक्ष ओली र अध्यक्ष दाहाल दुई ध्रुवमा रहे । ओलीले जनताको बहुदलीय जनवाद एकीकृत दलको कार्यनीति हुनुपर्ने तर्क राखे भने दाहाल जनताको जनवादको पक्षमा उभिए । नेपालले सहमति भैसकेको विषय भन्दै दाहालको साथ दिए । त्यसैअनुसार प्रतिवेदन छाप्ने निर्णय भयो ।

नेकपाभित्रको अहिलेको अवस्था तीन ध्रुवीय हो । निर्णय गर्ने समयमा त्यो दुई ध्रुवमा परिणत हुन्छ । ओली र प्रचण्ड दुवैलाई माधवकुमार नेपालको डर छ । उनलाई छाडेर जाँदा आफू सकिने डर ओली र प्रचण्ड दुबैमा रहेको छ ।

टिप्पणी थप्नुहोस्