काममा बाधा पुर्‍याउने कुनै कदम सह्य हुँदैन : मन्त्री भट्टराई

-राधेश्याम विश्वकर्मा

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको अवलोकन गरेको छन् ।

मन्त्री पद सम्हालेपछि काठमाडौं उपत्यका बाहिर पहिलो भ्रमणको रुपमा मन्त्री भट्टराईले लुम्बिनी र यस आसपासको बौद्ध परिपथ अवलोकन गर्न निस्किएका हुन् ।

भैरहवामा सर्वपक्षीय छलफलमा बोल्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय गौतम बुद्ध बिमानस्थल निर्माणको क्रममा कुनै पनि बाधा सह्य नहुने बताए । उनले यसको निर्माणमा कुनै पनि निकाय र कुनै पनि सरकारी निकायबाट आयोजनाको निर्माणमा ढिलाई गर्ने र बाधा पुर्‍याउने काम सह्य नहुने बताए ।

मन्त्री भट्टराईले अहिलेको सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले मन्त्री पद सम्हालेको दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई निर्धारित समयमा सकाउने गरि काम गर्न निर्देशन दिएको बताए ।

यसअघि बिमानस्थल निर्माणको लागि बिभिन्न बाधा ब्यवधान आए पनि अब तिनवटै तह मिलेर यसलाई समयमा सकाउन लागि परेको उनले बताए । नेपाल भ्रमण बर्ष २०२० को पूर्व सन्ध्यामा सन २०१९ को डिसेम्बर अन्तिम सम्ममा काम सकाउने गरि अगाडी बढ्न उनले आग्रह गरे ।

यस अघि बिभिन्न मन्त्रालयको कारण रकम भुक्तानीमा ढिलाई भएकोले अब सबै मन्त्रालयको बैठक बोलाई यसलाई सहजीकरण गर्ने उनले प्रतिवद्धता जनाए । बिकासका साझेदारका निकायबाट रकम भुक्तानी हुन ढिलाई भए मन्त्रालय आफैं पनि भुक्तानी दिन सक्ने गरि सक्रिय रहेको उनले बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल आयोजनाका आयोजना प्रमुख प्रवेश अधिकारीले समग्रमा बिमानस्थल निर्माणको काम ७४ प्रतिशत सम्पन्न भएको जानकारी गराए ।

उनले विभिन्न अवरोधका कारण पुनः म्याद थप गरि ३० डिसेम्बर २०१९ सम्म पुगेको बताए । अहिले पनि डेडिकेटेड विद्युत लाईनको काम सुरु नै हुन नसकेको अधिकारीले बताए ।

छलफलमा मन्त्री भट्टराईसंगै सांसद घनश्याम भुषाल, प्रदेश ५ का बन, पर्यटन मन्त्री लिला गिरी, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, मन्त्रलायका सचिव नागरिक उड्डययन प्राधिकरणका निर्देशक, राष्ट्रिय गौरवका आयोजनाका प्रमुख लगायतको सहभागिता थियो ।

टिप्पणी थप्नुहोस्