दिल्ली-बुटवल चल्ने नेपाली बसमा तस्करीका सामान

-सिराज खान
नेपालगञ्ज । नेपालबाट भारतका विभिन्न ठूला शहरका लागि चल्ने यात्रुवाहक बसहरुबाट ठूलो परिमाणमा तस्करी भैरहेको पाईएको छ ।

भारतका शहरहरुमा पुगेर त्यहाँबाट फर्किने क्रममा बसहरुमा लुकाएर लाखौंका तयारी कपडा र सवारी साधनका पार्टस लगायतका सामानहरु विना भन्सार नेपाल भित्र्याउने गरेको पाइएको हो ।

भारतको दिल्लीबाट बुटवलतर्फ गैरहेको एक नेपाली नम्बरको यात्रुवाहक बसमा लुकाएर राखिएको ६ लाख रुपैंयाँ बराबरको सामान नेपालगन्ज नाकामा शसस्त्र प्रहरीले बरामद गरेपछि उक्त किसिमको तस्करी भइरहेको खुलेको हो ।

दिल्लीबाट आएको ना ३ ख ६५८७ नम्बरको बसलाई नेपालगन्ज भञ्सार चेकपोष्टमा चेकजाँच गर्दा बसको साइड डिकीको भित्र पट्टी गोप्य लक सिस्टम बनाएर सो भित्र लुकाएर राखिएको २० बन्डल तयारी कपडा र केही मोटरपार्टसका सामानहरु फेला पारिएको छ ।

शसस्त्र प्रहरी बल ४० नम्बर गुल्मका डिएसपी नवराज बोहोराका अनुसार राजस्व छलेर भित्र्याउन खोजिएको बरामद सामानको मूल्य ६ लाख रुपैयाँ भन्दा बढी रहेको तथा सो सामान बसका मालिक बालकृष्ण पौडेलले नै राखेको जानकारी भएको छ । बरामद गरिएको कपडामा तयारी लेडिज सुट, जेन्टस शर्ट-पाइन्ट र अन्य तयारी कपडाहरु रहेका छन् ।

सो सामानसहित बस र बसका चालक बलवीर तामाङ तथा खलासी शौरभलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाईएको डिएसपी बोहाराले जनाए ।  बरामद गरिएका कपडाहरु बांगलुंग निवासी बसका मालिक पौडेलेले नै राख्न लगाएको र तस्करी गर्ने उदेश्यलले बसमा बिशेष प्रकारको गोप्य साइड डिकी बनाएको पाइएपछि तस्करी पहिलेदेखि नै हुँदै आएको पनि थाहा भएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी परमानन्द जोशीका अनुसार बस, सामान र चालक तथा खलासीलाई नियन्त्रणमा राखेर अनुसन्धान शुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानमा बस मालिक नै तस्करीमा संलग्न रहेको देखिएको उनले बताए । बसका मालिक पौडेल फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बसको खानतलासी शुरु गर्ने वित्तिकै बसका मालिक पौडेल फरार भएको र आफुहरु निर्दोष रहेको प्रहरी नियन्त्रणमा रहेका चालक तामाङले बताएका छन् । भारतको दिल्लीबाट काठमाडौं जाने यात्रुवाहक बसमा यसअघि केही महिना पहिले पनि प्रहरीले अवैध सामानहरु बरामद गरेको थियो ।

टिप्पणी थप्नुहोस्