शशांक धार्मिक स्वतन्त्रताको पक्षमा

संवाददाता

तनहूँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी नेतृत्वमा परिवर्तन हुनुपर्नेमा जोड दिंदै भनेका छन्, ‘नयाँ र कल्पनाशील नेतृत्व नआएसम्म पार्टीले देशलाई नयाँ दिशातर्फ हाँक्ने कुराले गति लिन सक्दैन ।’

महामन्त्री कोइरालाले ‘म सभापति शेरबहादुर देउवाका बिरुध्द शिकायत गर्दिन’ भन्दै ‘यतिबेला पार्टीलाई यस्तो नेतृत्व चाहिएकोछ जसले पार्टीलाई अहिले देखिएको गूटबन्दीबाट मुक्त गरेर फरक तरीकाले देशको नेतृत्व गर्नसक्ने नेतृत्वको खाँचो रहेको’ बताए ।

डा. कोइरालाको राय थियो, ‘वाम पार्टीहरुको एकताले कांग्रेसलाई कमजोर बनाएको छैन । आफैं भित्रको गूटबन्दीले पार्टीलाई कमजोर बनाएकोछ । चुनावमा पार्टीको पराजयको कारण गूटवन्दी हो ।’

तनहूँ जिल्लामा आयोजित पार्टी कार्यकर्ताहरुको भेलालाई सम्बोधनगर्दै महामन्त्री कोइरालाले बताए, ‘पार्टीको महाधिवेशनहुन अझै डेढ बर्ष बाँकी छ । तर, मेरो दिमागमा पार्टीलाई गतिशील बनाउन पार्टी नेतृत्वमा परिवर्तन गर्नुपर्ने बिचार खेली रहेकोछ ।’

‘आउँदो अधिवेशनमा पार्टी नेतृत्व चयनगर्दा बुध्दिमत्तापूर्ण ढंगले गर्नु होला’ महामन्त्री कोइरालाले पार्टी कार्यकर्ताहरुसंग आग्रह गरे, ‘अबको नेतृत्वले नेपाली कांग्रेसलाई नेपालको सबभन्दा बलियो पार्टी बनाउने क्षमता राख्नु पर्दछ ।’

धर्मका सम्बन्धमा कार्यकर्ताहरुको प्रश्नको उत्तरदिदै डा. कोइरालाले बताए ‘धर्म कहिले पनि सापेक्ष वा निरपेक्ष हुँदैन । नेपाली कांग्रेसको झण्डामा अंकित चार तारामध्ये एउटा ताराले जनताको धार्मिक स्वतन्त्रताको अधिकारको प्रतिनिधित्व गर्दछ ।’

डा. कोइराला आगामी महाधिवेशनमा सभापतिको पदका उम्मेदवार हुने चर्चा कांग्रेसीहरुका बीच चल्न थालेको छ । डा. कोइरालाको शान्त छवि र बिश्वसनीय स्वभावका कारण उनी कार्यकर्ताहरुका वीच लोकप्रिय छन् ।

नेपाली समाजले कांग्रेस पार्टीका संस्थापक अध्यक्ष तथा जननेता बीपी कोइरालाको छवि र आदर्शको खोजी गरि रहेको अवस्थामा कांग्रेसका कार्यकर्ताहरुले नेतृत्व परिवर्तनमा डा.शशांक कोइरालाको सक्रियताको खोजी गरेका छन ।

डा. शशांक कोइरालाले कोइराला परिवारबाट एकजना मात्रै उम्मेदवारहुने बताएपनि सभापति पदका अर्का प्रत्याशी डा. शेखर कोइरालाले शशांक उम्मेदवार भएको वा नभएको अवस्थामा पनि आफू उम्मेदवार हुने बताइसकेका छन् ।

एउटा दैनिक पत्रिकासंगको अन्तर्वार्तामा ‘उत्तराधिकारको राजनीति भारतमा असफल भएको’ चर्चागर्दै डा. शेखर कोइरालाले नेपालमा पनि त्यस्तै हुने बताएका थिए ।

भारतमा उत्तराधिकारको राजनीति जवाहरलाल नेहरुको पालादेखि चलेको हो । नेहरुकी पुत्री इन्दिरा गान्धीले आफना पिताको उत्तराधिकार सम्हालेकी थिइन भने उनको हत्या भएपछि उनका जेठा छोरा राजीव गान्धीले भारतीय कांग्रेसको कमान सम्हालेका थिए । राजीवको पनि हत्या भएपछि उनकी पत्नी सोनिया कांग्रेसको नेता भइन । तर, उनी इटलीबाट आएको हुँदा बिदेशी मूलकी भएकीले भारतको प्रधानमन्त्री हुन पाइनन् । अहिले कांग्रेसको कमान उनका छोरा राहुलले सम्हालेका छन ।

नेपालमा स्थिति त्यस्तो छैन । बीपी कोइराला नेपाली लोकतान्त्रिक राजनीतिका प्रथम पुरुष थिए । उजको आदर्श, त्याग, तपस्याबाट नेपाली जनता प्रभावित छन । तीनवटा पुस्ताको पुस्तान्तरण भै सक्दा पनि नेपाली समाजमा बीपीको ‘क्रेज’ ब्यापक रहेको छ ।

बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले २०१५ को संसदीय चुनावमा दुइतिहाइ मत ल्याएर बिजयी भएको थियो । बीपी कोइरालाले त्यतिबेला जम्माजम्मी १८ महिना सरकारको नेतृत्व गरे ।

त्यसपछि राजा महेन्द्रले सैनिक लगाएर सरकार र संसद भंग गरे । बीपी कोइराला आफना सहयोगीहरु सहित बन्दी बनाइए ।
केही नेपाली विद्धानहरु बीपीलाई असफल राजनेता भन्दछन । सत्ताका सन्दर्भमा त्यो सही होला । तर, अहिले लोकले बीपीको आदर्श, उनको भिजन र उनको दृढताको अवलम्वनगर्ने उत्तराधिकारीको खोजी गरेको छ ।

हुन त, २०४६ सालको परिवर्तनपछि बीपी कोइरालाका कान्छा भाई गिरिजाप्रसाद कोइराला लामो समय प्रधानमन्त्री भए । तर, उनले बीपीको उत्तराधिकारको राजनीति गरेनन् । आफ्नै राजनीति हाँके ।

डा. शशांक कोइराला नेपालका उत्कृष्ट नेत्र चिकित्सकका रुपमा परिचित छन् । लामो चिन्तनपछि उनी सक्रिय राजनीतिमा समर्पित भएका हुन् । गएको महाधिबेशनमा उनी पार्टी महामन्त्री पदमा निर्वाचित भएका हुन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री