फर्निचर उद्योग र पसलमा आगलागी हुँदा ५ करोडको क्षति

-सिराज खान

नेपालगञ्ज । स्थानीय वीपी चोकमा रहेको फर्निचर टोलमा विहीबार राती लागेको आगोबाट एक दर्जन बढी फर्निचर उद्योग, गोदाम तथा पसलहरु जलेर ध्वस्त भएका छन् ।

राती ११ बजेबाट शुरु भएको आगलागि ४ वटा दमकलको सहयोगमा विहान ५ बजेमात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब ५ करोडको क्षति भएको व्यवसायीहरुले जनाएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि आगलागी शुरु भएको स्थान एकान्तमा रहेको तथा त्यहाँ कोही पनि नबस्ने हुँदा कसैले आगो लगाएको हुनसक्ने भन्ने आशंका पनि गरिएको छ ।

लड्डन सिद्दिकीको उद्योगबाट शुरु भएको आगलागी फैलिंदै गएर त्यहाँ रहेका १३ वटा उद्योग, गोदाम र पसललाई ध्वस्त बनाएको थियो ।

आगलागीबाट हिमालय स्टिल फर्निचर उद्योग, सानिया स्टिल फर्निचर उद्योग, स्टार स्टिल फर्निचर उद्योग, वारसी फर्निचर उद्योग, बिन्देश्वरी फर्निचर उद्योग, न्यू रुबी फर्निचर, प्रतापसिंह फर्निचर, आलिया फर्निचर, अमन फर्निचर, ए–वान फर्निचर, वावा फर्निचर, बाबा टे«र्डसर सरदार डेण्टल क्लिनीक पूर्ण रुपमा जलेर नष्ट भभएका छन् ।

आगलागीबाट ठुलो परिमाणमा तयारी फर्निचर, थोक विक्रीका लागि राखिएका प्लाइवुड, फर्निचरमा प्रयोग गरिरने केमिकल, स्टील दराज लगायतका सामाग्रीहरु जलेर नष्ट भएको हिमालय स्टिल फर्निचर उद्योगका सञ्चालक शब्बिर सिद्दिकीले बताए ।

दमकल ढिला आउँदा आक्रोश

एक किलोमिटरको दुरीमा रहेको दमकल आगलागी भएको खबर गरेको ४५ मिनेटपछि मात्र पुगेको पीडितहरुको गुनासो छ ।

ढिलैगरि पुगेको दमकलमा पानी समेत नरहेको जनाउँदै समयमा दमकल आएको भए क्षति रोक्न सकिने पीडित व्यवसायी वताउँछन् । कोहलपुर र राँझाबाट समेत दमकल बोलाउन सम्बन्धित निकायले ढिलाई गरेको उनीहरुको आरोप छ ।

पीडितहरु आक्रोशित हुँदै कहिले पनि दमकल समयमा नपुगने गरेको बताएका छन् । मात्र एक किलो मिटरको दुरीमा रहेको दमकल समयमा पुगेको भए धेरै उद्योग जोगिन सक्ने बाबा फर्निचर उद्योगका सञ्चालक हासिम सिद्दिकीले बताए ।

विहान आगलागीस्थल पुगेका नेपालगन्जका मेयर धवल शमशेर राणासंग स्थानीय आक्रोशित भएका थिए ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले दमकलको सेवा राम्रो नभएको गुनासो गर्दै त्यसमा तत्काल सुधार गर्नु पर्ने माग गर्दै थप २ वटा दमकलको व्यवस्था गर्न मेयरसंग अनुरोध गरे ।

यसअघि मंगलवार राती पनि घरबारीटोलमा आगलागी हुँदा २ वटा पसल जलेर नष्ट भएका थिए । त्यहाँ डेढ करोडको क्षति भएको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री