स्थानीय तहमा पहिलो पटक लगानी सम्मेलन

-राधेश्याम विश्वकर्मा

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘तिलोत्तमा लगानी सम्मेलन’को आयोजना गर्दैछ । संघीय सरकारबाट सिक्दै नेपालमै पहिलो पटक स्थानीय तहले लगानी सम्मेलनको तयारी थालेको हो ।

तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालयले पत्रकार सम्मेलनको आयोजन गरि सम्मेलनबारे जानकारी गराएको छ ।कार्यक्रममा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले आर्थिक बिकासमा निजी क्षेत्रको उपस्थितिलाई ब्यापक बनाउने उद्देश्यसहित तिलोत्तमा लगानी सम्मेलनको आयोजना गर्न लागिएको बताए ।

लगानी सम्मेलन पछि तिलोत्तमामा आउने लगानी, पूँजी र ज्ञानले नगरको समृद्धिको मार्गचित्र कोर्ने र तिलोत्तमालाई नै चिनाउने घिमिरेले बताए । सम्मेलनमा कृषि, उद्योग, ब्यापार, पर्यटन पूर्वाधार लगायत गरि करिब १९ वटा परियोजना लगिने मेयर घिमिरेले बताए ।

जसमध्ये तिलोत्तमा एकिकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, तिलोत्तमा एकिकृत फोहोरमैला ब्यवस्थापन केन्द्र, तिलोत्तमा ढाक्रेबास एकिकृत पर्यटकीय स्थल लगायतलाई योजना बैंकको रुपमा सम्मेलनको लागी तयार पारिएको उनले जानकारी दिए ।

यस्तै तिलोत्तमाको रिङ्गरोडमा रेल सेवा, मिनि नेपाल, तिलोत्तमा सिटी कलेज, प्रादेशिक बस पार्क, अटो भिलेज, आफ्नै औद्योगिक क्षेत्र, स्मार्ट हाट बजार, स्मार्ट पार्किङ्ग स्थल लगायतको योजनालाई सम्मेलन मार्फत अगाडी बढाइँदैछ ।

नगर प्रमुख घिमिरेले सम्मेलनमा वित्त परिचालन, ब्यवसाय सञ्चालनमा सजिलो पार्ने कुरामा परामर्श दिने तथा मुलुकलाई सहयोग गर्न तत्पर हुने संस्थाहरु पनि सहभागी हुने बताए ।

लगानी भित्र्याउने उद्देश्य सहित हुन लागेको यस सम्मलेलनमा प्रतिवद्धता जनाउनेलाई कर छुट, जग्गा ब्यवस्थापन लगायतका बिषयमा पनि नगरपालिकाले सहजीकरण गर्ने छ ।

सम्मेलन लगानीसंग सम्बन्धित सबै पक्षको भेटघाट तथा नेटवर्किङ्गको साझा थलो बन्ने आयोजकले अपेक्षा लिएका छन् । सम्मेलनमा स्वदेशी तथा बिदेशी लगानीकर्ता गरि ५ सय बढीको सहभागिता रहने आयोजकले जनाएका छन् ।

तिलोत्तमा नगरपालिकामा प्रशस्तै सार्वजनिक जग्गा रहेको कारण लामो समयको लागि लिजमा दिएर कृषि र पर्यटनलाई बढावा दिने खालका उद्योगहरु स्थापना गर्न सकिने छ ।

नगरपालिकाले २ सय वटा राष्ट्रिय र ५० वटा बिदेशी लगानीबाट करिब २ अर्ब रुपैंयाँको लगानी भित्र्याउने सोच राखेको छ । आगामी असोज ९ गते हुने सम्मेलनको तयारी तिव्र बनाइएको आयोजकले बताए ।

यसको लागि नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको संयोजकत्वमा मूल समिति गठन गरिएको र यसले तिव्र रुपमा काम अगाडी बढाएको पत्रकार सममेलनमा जानकारी गराइयो थियो ।

टिप्पणी थप्नुहोस्