औषधि विक्रीमा सिण्डिकेट !

-सिराज खान

नेपालगञ्ज । औषधि जस्तो संवेदनशील बस्तुको व्यवसाय पनि सिण्डिकेटको मारमा परेको छ । सरकारले विभिन्न क्षेत्रमा सिण्डिकेट समाप्त गरेको घोषणा गरे पनि औषधि व्यवसायमा सिण्डिकेट अन्त्य हुन सकेको छैन् ।

खुला प्रतिस्पर्धाको युगमा पनि छुट दिएर तथा सस्तोमाऔषधि विक्री गर्न नपाइने उर्दी जारी गर्दै औषधि व्यवसायी संघ भेरीले औषधिको विक्रीमा सिण्डिकेट लगाएको छ ।

नेपालगन्जको एक थोक औषधि व्यवसायीले औषधिमा सर्वसाधारणका लागि १० प्रतिशत छुट दिने घोषणा गरेपछि सो व्यवसायीलाई कारवाही गर्ने, औषधि नै सप्लाई गर्न नदिने धम्की औषधि व्यवसायी संघका अध्यक्ष अभय बस्नेतले दिएका छन् ।

नेपालगनजको ध्रुबतारा पब्लिक फार्मेसी प्रालिले सर्वसाधारणलाई सबै प्रकारको औषधिमा १० प्रतिशत छुट दिने घोषणा गरेपछि औषधि व्यवसायी संघका अध्यक्ष बस्नेतले सार्वजनिक रुपमै धम्की दिएका थिए ।

बस्नेतले औषधिमा कुनै पनि छुट नदिने संघको निर्णय रहेको जनाउँदै त्यसो गर्ने फार्मेसीलाई कारवाही गर्नुका साथै औषधि नै नपाउने अवस्था सृजना गरिने चेतावनी दिएका छन् ।

औषधीजस्तो व्यवसायमा सिण्डिकेट लगाउने कार्य गर्ने औषधी व्यवसायी संघलाई नै कारवाही गर्नु पर्ने माग सर्वसाधारणले गरेका छन् ।
नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शमसेर राणाले जनतालाई कुनै पनि चिज छुटमा पाउने अधिकार रहेको जनाउँदै अब सिण्डिकेटको युग नरहेको प्रष्ट पारेका छन् ।

उनले कसैले आफ्नो नाफाबाट कटौती गरेर छुटमा दिन चाहन्छ भने त्यसलाई रोक्ने अधिकार कसैलाई नभएको बताए । यस्तै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले छुट दिने र सस्तोमा दिने व्यापारीबाटै सामान खरिद गर्ने उपभोक्ताको अधिकार रहेको जनाउँदै कुनै पनि व्यवसायमा सिण्डिकेट लगाउन नपाइने बताए ।

ध्रुवतारा फार्मेसीले सर्वसाधारणलाई सहज रुपमा औषधीमा १० प्रतिशत, सर्जिकल र सेनेटरी तर्फ २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ ।

सो फार्मेसीले आफ्नो औषधि पसलको अगाडि १० प्रतिशत छुटको बोर्ड समेत राखेको छ । सो फार्मेसीले सर्वसाधारणलाई औषधिमा छुट दिएपछि अन्य फार्मेसी र मेडिकल स्टोरले पनि १० प्रतिशत छुट दिनु पर्ने माग सर्वसाधारणले गरेका छन् ।

टिप्पणी थप्नुहोस्