विकासको मारमा जनप्रतिनिधि

-राधेश्याम विश्वकर्मा
भैरहवा । सिद्धार्थनगर नगरपालिकाका एक वडा सदस्यले आफु जनप्रतिनिधि भएकै कारण पीडित भएको गुनासो गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य दिपक कुमार श्रेष्ठ जनप्रतिनिधि भएकै कारण चारैतिरबाट दबावमा परेको गुनासो गरेका हुन् ।

सघन शहरी बिकास मार्फत वडामा निर्माणधिन रहेको बाटो अवरोध गरेको भन्दै उनले स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन समेत गरेका छन् । किशोरपुरमा निर्माणाधिन बाटोमा रहेको आफ्नो घर बाटो निर्माणकै लागि भत्काए पनि राजनीतिक पूर्वाग्राहका कारण चरित्र हत्या गरिएको उनले आरोप लगाए ।

भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले स्थानिय सञ्चारमाध्यममा प्रकाशित समाचार राजनीतिक पूर्वाग्राही ढंगले प्रकाशित गरिएको आरोप समेत लगाए ।

श्रेष्ठले २३ फुटको बाटो निर्माण गर्ने क्रममा बाटोको दुवैतर्फ बराबर क्षेत्रफल लिनु पर्नेमा त्यसो नगरी दबावकै भरमा आफ्नो बढी जग्गा लिएर त्यहाँबाट बिस्थापित गराउन खोजेको आरोप लगाए ।

जनप्रतिनिधिले नै बिकासको काममा अवरोध श्रृजना गरेको लगायतको मानसिक यातना दिई आफुलाई बदनाम गर्न खोजिएको आरोप लगाउँदै उनले यसको बिरुद्ध कानूनी उपचार खोज्ने बताए । ‘म बिकास बिरोधी हुँदै होइन आफैं घर भत्काएर बाटोको लागी सहज बनाई दिएको हुँ, तर सबै बाटो मेरै जग्गाबाट लैजान खोजेपछि त्यसको उपचार खोज्न बाध्य भएको छु’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने ।

उनले टोलको विकासको लागी काम गर्न खोज्दा आफै बिकासको मारमा परेको बताए । ठेकेदार र प्राविधिकको गल्तीको सजाय आफुले भोग्नु परेको भन्दै उनले न्यायको लागी पहल गरि दिन सञ्चारकर्मिलाई आग्रह समेत गरे ।

‘म वडा सदस्य नभएको भए यति अन्याय सहनु पर्दैनथ्यो होला, वडा सदस्य भएकै कारण चारै तिरबाट चेपुवामा परेको छु । जनप्रतिनिधि भएकै कारण विस्थापित हुनु कहाँसम्मको न्याय हो ?’ श्रेष्ठले भने ।

टिप्पणी थप्नुहोस्