चीनका पत्रकारहरु लोपोन्मुख

एजेन्सी । कुनै समय यस्तो पनि थियो जतिबेला चीनियाँ सम्वाददाताहरुको ‘भाउ’ निकै माथिल्लो तहमा पुगेको थियो । उनीहरु चीनमा जवाफदेही पध्दति सफल तुल्याउने शक्ति थिए । अहिले मौन रहेका छन ।

झांग वेनमिन कुनैबेला चर्चित पत्रकार थिइन । उनको नाम सुनेर मानिस थर्कमान हुन्थे । उनी पुलिस अत्याचार, अबैधानिक थुनुवा र वातावरण जस्ता बिषयमा कलम चलाउँथिन । अहिले उनको बेहाल छ । पुलिसले उनका समाचारका स्रोतलाई कारबाही गरेकोछ । उनका सामाजिक संजालका खाताहरु बन्द गरी दिएकोछ । उनले लेखेका समाचार र टिप्पणीहरु कसैले प्रकाशित गर्दैन । उनी आफनो बचतबाट जीवन यापन गरी रहेकी छिन । झांग भन्छिन, ‘वाक स्वतन्त्रताको परिधि खुम्चिएको छ । यो स्वतन्त्र पत्रकारहरुका लागि खतरनाक अवस्था हो ।’

चीनियाँ कम्युनिष्ट पार्टीको कडा नियन्त्रणमा रहेको समाजमा कुनैबेला ‘खोज पत्रकार’ का आवाज जवाफदेही र आलोचनाको स्रोत थिए । तर, सी जीनपिंग राष्ट्रपति भएपछि त्यस्ता पत्रकारहरु सबै लोप भए ।

दर्जनौं संवाददाताहरु प्रहरी अत्याचारका शिकार भए । समाचार प्रकाशन प्रसारण संस्थाहरुले खोज पत्रकारितालाई निरुत्साहित गर्न थाले । राष्ट्रपति सीले चीनमा ‘बलियो शासक’ को अवधारणा ब्यूँताएर राजनीति शुरु गरेपछि चीनियाँ प्रेसले सरकारको आलोचना हुने काम गर्न छाडेकोछ । त्यसको ठाउँमा सीको नेतृत्वमा मानिसको जीवनस्तर कति बढेको छ भन्ने लेखिन थालेको छ ।

‘चीन फेरी एकपल्ट सेन्सरशीपको युगमा छ’, आलोचकहरु भन्दछन । ‘हामी लगभग लोप भै सक्यौं’ संवाददाता लिउ हु बताउँछन । सेंचुवा प्रान्तका लिउ ४३ बर्षका भए । भ्रष्ट राजनीतिज्ञका बारेमा खोज समाचार तयार गरे बापत उनी बर्षदिन जति जेल बसे । भ्रष्टाचारको सत्य उजागर हुन पाएन । सत्य कुरा बताउन कोही जीवित रहेन ।

सन २०१२ मा सी सत्तामा आएपछि चीनियाँ संचार माध्यमको हुलिया बदलियो । संचार माध्यमहरु कम्युनिष्ट पार्टीको नियन्त्रणमा ल्याइए । स्वतन्त्र आवाजहरु बन्द गरिए । संचार माध्यमको काम ‘सकारात्मक शक्ति’ फैलाउनु, पार्टीलाई प्रेमगर्नु, पार्टीको सुरक्षा गर्नु र पार्टीको सेवा गर्नु तोकियो ।

त्यसबेला देखि नै चीनियाँ समाज ‘सूचना शून्य’ देखिएको छ । अहिलेको समय यति महत्वपूर्ण छ कि बिश्वका नेताहरु चीन कस्तो ‘सुपर पावर’ बन्दैछ ? भनेर जिज्ञासा राख्दैछन । चीनमा चाहीं नीतिगत छलफलको सट्टा चीनियाँ प्रेसलाई चीनियाँ समाजवादी ब्यबस्थाको रक्षा गर्न खटाइएको छ ।

टिप्पणी थप्नुहोस्