‘नेपालगन्ज हरियाली’ अभियान शुरु

-सिराज खान

नेपालगञ्ज । शहरीकरण र विकासका नाममा रुख विरुवा काटिंदै गएपछि उजाड र रुखवीहिन बन्दै गएको पश्चिम नेपालकै प्रसिद्ध तथा पुरानो शहर नेपालगन्जलाई हरियो बनाउने अभियान शुरु गरिएको छ ।

रुख विरुवाको अभावका कारण सबैभन्दा गर्मी हुने र नजिकै बर्षा भएपनि शहरमा बर्षा कम हुने हुँदा हरियाली अभियान शुरु गरिएको हो । शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले अभियान शुरु गरेका हुन् ।

शहरमा दस हजार रुख विरुवा रोपेर शहरलाई हरियो बनाउने अभियानको शुरुवात गर्दै आइतवार मन्त्री राईले बृक्षरोपणको शुभारम्भ गरे । उनले सातवटै प्रदेशका सातवटा शहरमा बृक्षरोपण गर्ने अभियानलाई गृहनगर नेपालगन्जबाट शुरु गरिएको बताए ।

दस हजार विरुवा रोपिएपछि जताततै ‘हरियाली नै हरियाली’ देखिने जनाउँदै उनले शहरको वातवरण समेत स्वच्छ र सफा हुने बताए ।

नेपालगन्ज उपमहानगरपालिका र हरियालीका अभियन्ता हेमन्तराज काफ्लेको समन्वय र सहयोगमा यो अभियान शुरु गरिरएको मन्त्रीले जनाए ।

नेपाल भारत सीमाना नजिक जमुनाहा–कोहलपुर सडकखण्डको जमुनाहा चोकमा आइतवार विहान मन्त्री राईले गुलमोहरको ठुलो विरुवा रोपेर सो अभियानको शुभारम्भ गर्दै दुई महिनाभित्र दस हजार विरुवा रोपिसकिने बताए ।

बृहत्त बृक्षरोपण शुरु गरिएपछि देशकै सबैभन्दा बढी गर्मी हुने सहर नेपालगन्ज अब छिटै हराभरा हुने भएको छ ।

प्रधानमन्त्री केपी ओलीलाई आफ्नो अभियानबारे जानकारी गराउँदा प्रधानमन्त्रीले प्रभावित भएर देशैभरी ५ करोड बिरुवा रोप्ने निर्देशन दिएर अभियान शुरु गरेको उनको दावी छ ।

सो अवसरमा नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शमसेर राणाले बृक्षरोपण अभियानलाई उपमहानगरले पूर्ण सहयोग गरिरहेको जनाउँदै बिरुवाको संरक्षण उपमहानगरपालिकाका सबै वडा समितिहरुले पनि बिरुवाको संरक्षण र हेरचाह गर्ने वचन दिएको उपमहानगरले जनाएको छ ।

देशकै सबैभन्दा धेरै गर्मी हुने सहरका रुपमा रहेको नेपालगन्जमा हरियो रुख विरुवा नहुँदा गर्मी अत्याधिक हुने गरेको ठहर गर्दै त्यसको एउटा विकल्पका रुपमा सहरमा दस हजार रुखका विरुवा रोपिन थालिएको जनाईएको छ ।

टिप्पणी थप्नुहोस्