सम्बन्ध विच्छेद मुद्दा दर्ता गराउनेमा पुरुषको संख्या धेरै

संवाददाता

झापा । बैदेशिक रोजगारलगायत आर्थिक पक्षसँग जोडिएका घट्नाले पारिवारिक सम्बन्धमा दरार उत्पन्न हुँदै जान थालेको छ । झापा जिल्लामा सम्बन्ध विच्छेदको मुद्दा दर्ताको अवस्था हेर्दा थप स्पष्ट हुन सकिन्छ ।

झापामा सम्बन्ध बिच्छेदका मुद्दामध्ये बैदेशिक रोजगारमा गएकाको ४० प्रतिशत दर्ता भएका छन् । मुद्दा दर्ता गराउनेमा महिलातर्फ ५ सय १४ र पुरुषतर्पm ३ सय ४ वटा छन् । सो संख्या २०७५ भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता २०७४ लागू भएपछि ११ महिनाको तथ्याङ्क भएको जिल्ला अदालत झापाका स्रेस्तेदार दिनेशराज खनालले बताए ।

‘बिगतका बर्षहरुमा पुरुषको तर्फबाट पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्न न्यून संख्यामा आउँथे । कतिपय अदालतसम्म आउँथे न्याय खोज्दै पुरुषले दर्ता गर्नै नपाइने र झन्झटिलो प्रक्रिया भएपछि मुद्दा दर्ता नै नगरी फर्किन्थे’ स्रेस्तेदार खनालले भने,‘अहिले नयाँ कानून आएपछि दर्ता खुला भएको थियो ।’

यस बर्ष पनि ०७६ वैशाखदेखि असार मसान्तसम्मको तथ्याङ्क हेर्दा महिलातर्फ क्रमशः ५२ वटा मुद्दा परेका छन् भने सोही अवधिमा २० वटा मुद्दा पुरुषले दर्ता गराएका छन् । ‘झण्डै ५० प्रतिशतको हाराहारीमा पुरुषले मुद्दा दर्ता गर्दै आएको देखिन्छ,’ खनालले भने ।

जसमध्ये नयाँ मुलुकी देवानी संहिता लागु भएपछि ११ महिनाको अवधिमा मात्र सम्बन्ध विच्छेदका ८ सय १८ वटा मुद्दा दर्ता भएको अदालतको तथ्यांङ्कले देखाएको छ ।

यही सिलसिला अघि बढ्ने हो भने पुरुषको संख्या पनि महिला बराबरी पुग्न सक्ने उनले अनुमान लगाए । गत भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता २०७४ लागू भएपछि पुरुषको तर्फबाट समेत सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्न पाउने कानुनी व्यवस्था लागु भएपछि महिलाकै हाराहारीमा पुरुषको सख्या बढ्दै गएको छ ।

सम्बन्ध विच्छेदका मुद्दाहरूमा अहिलेको नयाँ कानूनी व्यवस्थाले एकतर्फी वा दुवै पक्ष मुद्दामा उपस्थित नभएका मुद्दाहरू एक वर्षसम्म नटुङ्गिने भएकाले सकेसम्म दुबैपक्ष मिलेर जाउन् भन्ने उद्देश्यले सम्बन्ध विच्छेदको हकमा ८० प्रतिशत मुद्दा मेलमिलापबाट नै मिलाउने गरिन्छ । ‘कसैगरी मिल्न नसकेको खण्डमा मात्र प्रक्रियागत ढङ्गले जाने हो’ स्रेस्तेदार खनालले भने ।

मुद्दामा अंश, बालबच्चालगायतका धेरै कारण हुने भएकाले यी सबै कुरालाई सहज बनाउनका लागि पनि एक वर्षसम्म पर्खिने व्यवस्था राखिएको उनले जनाए ।

वैदेशिक रोजगार, घरेलु हिंसा, बढ्दो सामाजिक सञ्जालको प्रयोग, आपसी वादविवादलगायतको कारणले सम्बन्ध विच्छेदका घटना बढेको अदालतले जनाएको छ ।‘झापामा वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेदका मुद्दा अधिकतम आउन थालेको’ झापा जिल्ला न्यायधिस शान्तिप्रसाद आचार्यले बताए । ‘समाज यदि यस्तै गरी अगाडी बढ्ने हो भने अबका पाँच बर्षमा सक्कली जोडी भेट्न मुस्किल छ, सामाजिक अवस्था खल्बलिंदै गएको छ,’ आचार्य भन्छन् ।

न्यायाधीश आचार्यका अनुसार बिहे गरेको एक महिनादेखि एक बर्षसम्मका जोडी धेरैजसो सम्बन्ध बिच्छेद गर्न आउँछन् । त्यसवाहेक ५० देखि ६० बर्ष उमेर समूहका व्यक्तिहरु पनि सम्बन्ध बिच्छेदका लागि आउने गरेका छन् ।

नयाँ कानून आउनु भन्दा पहिले पुरुषले सम्बन्ध विच्छेद गर्न चाहँदा पनि गाविस वा नगरपालिकामा दर्ता गराइ एकवर्ष पर्खिनुपथ्र्यो । गाविस नगरमा नमिलेपछि मात्र सोही गाउँ वा नगरकोे सिफारिस लिएर अदालत पुग्ने गर्थे । ‘अहिले सोझै अदालत जान पाउने व्यवस्था भएपछि पुरुषको संख्यामा बृद्धि भएको हो ।

नेपालको जारी मुलुकी देवानी संहिता २०७४ को भाग ३ को पारिवारिक कानूनको परिच्छेद ३ ले पति–पत्नी बीच चित्त नबुझे सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ । परिच्छेद ३ को दफा ९३ देखि उपदफा हुँदै १०४ सम्म यो विषयमा उल्लेख गरिएको छ ।

झापा जिल्ला अदालतमा गत आर्थिक वर्ष ०७४/०७५ बाट जिम्मेवारी सरेर आएका समेत गरी आर्थिक वर्ष ०७५/०७६ मा ४६ सय ६५ वटा विभिन्न प्रकारका मुद्दा दर्ता भएका थिए ।

टिप्पणी थप्नुहोस्