भारतको विकास र प्रगतिले नेपाललाई लाभ : भारतीय राजदूत

संवाददाता
काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच ‘विन विन’को अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारी भइरहेको बताए ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्तरक्रियामा दुई देशबीच विगतमा भएका सन्धी सम्झौताले सार्थक परिणाम हासिल गर्दै जानाले सबैलाई उत्साही बनाएको बताए ।

उनले भने,‘अब सिधै मोतिहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल आउँछ, हामी परिणाम हासिल गर्दैछौं ।’ विराटनगर चेकप्वाइन्ट सुचारु हुनगइरहेको र अरुण तेस्रो जलविद्युत आयोजना पनि द्रुत गतिमा बढिरहेको बताए ।

भारतको विकास र प्रगतिले नेपाललाई लाभ मिलिरहेको भन्दै दुवै देश मिलेर अघि बढिरहेकोमा खुशी व्यक्त गरे । भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै सम्बन्धबाट आर्थिक लाभ लिनसक्ने अवस्था बनेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकलाई प्राथमिकतामा राख्ने नीति लिएको उल्लेख गर्दै त्यो नेपालका लागि लाभदायक हुने बताए ।

मोदी प्रधानमन्त्री भएपछि चारपटक नेपाल भ्रमण गरेको र गत वर्ष दुईपटक भ्रमण गरेको भन्दै त्यसले दुई देशको सम्बन्ध सुमधुर भएको बताए । मोदीको भ्रमणले धार्मिकस्थलहरुमा भारतीय पर्यटक बढेको बताए ।

भारतले आतंकवादलाई परास्त गरी विकासको मार्गलाई फराकिलो बनाएको बताए । आतंकवादविरुद्धको लडाईंमा भारत सफल भएबाट ठूलो आर्थिक फड्को मारेको बताए । भारतले शान्ति, सुरक्षा र स्थिरतालाई महत्वमा राखेर काम गरिरहेको बताए ।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुवै देशको लोकतान्त्रिक आन्दोलनमा एक अर्काबाट सहयोग प्राप्त भएको उल्लेख गरे ।

वीपी कोइराला, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले भारतको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै जयप्रकाशनारायण र राममनोहर लोहियालगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान रहेको बताए ।

जयप्रकाशनारायण र राममनोहर लोहियालाई नेपालमा गिरफ्तार गरिंदा नेपाली जनताले जेल तोडेर भगाएको इतिहास सुनाए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री