गाडीले ठक्कर दिइ युवकको हत्या

-राधेश्याम विश्वकर्मा
भैरहवा । रुपन्देहीमा एक युवकको हत्या भएको छ । पुरानो रिसवी साँध्न पिकअप गाडीले ठक्कर दिएर युवकको हत्या गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–९ बस्ने २५ बर्षिय बसन्त पुन रहेका छन् ।

मंगलबार राती ९ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पूर्व पौहनीमा तिलोत्तमा नगरपालिका– ९ बस्ने सबिन थापा, संदिप थापा, सोनु श्रीष र बसन्त पुन प्लटिङ गरेको खाली जग्गामा बसी बियर खाई रहेका थिए ।

उनीहरुसँग पुरानै रिसवी रहेका तिलोत्तमा नगरपालिका–७ बस्ने २४ बर्षिय अभिषेक गुरुङले एक्कासी लु १ च ३२४६ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको प्रहरीको भनाई छ ।

                                                        हत्या अभियुक्त -अभिषेक गुरुङ

हत्या गर्ने उद्देश्यले नै गाडीले सबैजनालाई ठक्कर दिन खोजिएको प्रहरीको अनुसन्धानले देखाएको डिएसपी भण्डारीले जनाए ।

गाडीले ठक्कर दिन खोज्दा अरु पीडितहरु गाडी भन्दा दाया–बाँया भागे पनि बसन्त पुन भने भाग्न सकेनन् । घाईते पुनलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा मिति बुधबार बिहान ५ बजे उनको मृत्यु भएको थियो ।

ठक्कर दिने लु १ च ३२४६ नम्बरको पिकअप भ्यान र त्यसको चालक रुपन्देही तिलोत्तमा नगरपालिका–७ बस्ने २४ बर्षिय अभिषेक गुरुङ प्रहरी नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए । यस बिषयमा थप अनुसन्धान भई रहेको उनले बताए ।

टिप्पणी थप्नुहोस्