मन्दिर छेक्ने गरी ब्यापारिक भवन बनाउने निर्णयको विरोध

-सिराज खान

नेपालगन्ज । नेपालगन्जको प्रसिद्ध तिर्थस्थल बागेश्वरी मन्दिर प्रांगणमै दुई तले व्यवसायीक भवन निर्माण गर्न सुरु गरेपछि नगरवासीले विरोध गरेका छन् ।

मन्दिरको अगाडी आँगनमै व्यवसायीक भवन निर्माण भएपछि मन्दिर छेकिने र साँघुरो हुनुका साथै सुन्दरता पनि समाप्त हुने हुँदा उक्त भवन कुनै पनि हालतमा बनाउन नदिने उनिहरुको भनाई छ ।

मन्दिर अगाडी व्यापारिक भवन बनाउन नहुने जनाउँदै सो भवनले मन्दिरलाई छेक्नुका साथै झन साँगुरो बनाउने हुँदा सो कार्य तत्काल रोक्नु पर्ने नेपालगन्जका अगुवा तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताए ।

नागरिक समाजका अर्का अगुवा दिवाकर खनालले पनि मन्दिर अगाडी व्यवसायीक भवनको कुनै पनि औचित्य नरहेको जनाउँदै मन्दिरलाई खुल्ला र फराकिलो राख्नु पर्ने बताएका छन् । उनले मन्दिर अगाडी दुई तले वा तीन तले भवन बनाउनु उपयुक्त नभएको जनाउँदै सो तत्काल रोक्न माग गरेका छन् ।

सोही प्रकारले स्थानीय अभियन्ता विभेक श्रेष्ठले कुनै पनि हालतमा मन्दिरलाई कुरुप बनाउन नदिने चेतावनी दिएका छन् । उनले मन्दिरलाई सुन्दर सफा र फराकिलो बनाउनु पर्ने माग गर्दै व्यवसायीक भवन बनाउन नदिने बताए ।

यसैबीच मन्दिरको प्रांगणमा दुईतले सपिङ्ग कम्पलेक्स बनाउन लागिएको मन्दिर व्यवसथापन समितिले जनाएको छ । सो का लागि नेपालगन्ज उपमहानगरका मेयर डा.धवल शमशेर राणाले सिलन्यास समेत गरिसकेका छन् ।

उक्त भवनको पहिलो तल्लामा १७ वटा सटर निर्माण गरिने छन् भने प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा माथिल्लो तल्लामा साधु सन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ । ९३ लाख रुपैंयाँको लागतमा सो भवन निर्माण कार्य सुरु भएको जनाईएको छ ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेपालगञ्ज उपमहानगर पालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सपिङ कम्पलेक्स निर्माण सम्पन्न भएपछि मासिक दुईलाख रुपैंयाँ बागेश्वरी मन्दिरलाई आम्दानी हुने भएकाले बनाउन लागेको बताएका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री