भारतद्वारा नेपाललाई पुस्तक, बस र एम्बुलेन्स उपहार

संवाददाता
काठमाडौं । भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ ।

भारतको ७३औँ स्वतन्त्रता दिवसका अवसरमा राजधानीस्थित उक्त देशको राजदूतावासमा बिहीबार बिहान एक विशेष समारोह गरी उपहार स्वरुप पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको हो ।

त्यस अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले जारी गरेको शुभकामना सन्देश वाचन गरेका थिए ।

समारोहमा भारतीय सेनामा सेवाका क्रममा वीरगति प्राप्त गरेका नेपाली नागरिकका विधवा र सन्तानलाई बीमावापतको रकम हन्तान्तरण गरिएको थियो ।

राजदूत पुरीले पर्सा, सुनसरी, काठमाडौँ, धादिङ, रौतहट, सर्लाही, सप्तरी, धनकुटा, कैलाली, इलाम, झापा, सङ्खुवासभा, रुपन्देहीलगायत ४० वटा विभिन्न सामाजिक सङ्घसंस्था र विद्यालयले सञ्चालन गरेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरे ।

साथै उनले देशका विभिन्न भागमा अवस्थित ३० वटा स्वास्थ्य संस्था, सामाजिक संस्थालाई एम्बुलेन्स र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, प्रहरी विद्यालयजस्ता छ वटा शैक्षिक संस्थालाई बसको साँचो हस्तान्तरण गरे ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तीपूर्ण गीतहरु प्रस्तुत गरे । नेपाल आर्मी ब्याण्डले पनि आफ्नो प्रस्तुति दिएको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री