जब माओलाई भँगेराले हराए

एजेन्सी । यो घटना हो सन १९५८ को । त्यतिखेर माओत्सेतुङग संसारका सबैभन्दा शक्तिशाली मानिसहरु मध्ये एक थिए । चीनमा जन–गणतन्त्र स्थापना भएको थियो र माओ थिए त्यसका संस्थापक नेता । स्वाभाविक नै हो, उनको आँखा आफनो देशको भबिष्यमा केन्द्रित थियो । तर, उनका आँखा जमीनमा मात्रै होइन, आकाशमा पनि केन्द्रित हुन्थे । माओका आँखा आकाशमा त्यतिबेला बढी केन्द्रित हुन्थे जतिबेला पशुपंक्षीहरुको घुईंचो लाग्दथ्यो त्यहाँ ।

सन १९५८ मा माओले चारवटा कीटनासक अभियान चलाएका थिए । यो उनको ‘ग्रेट लिप फरवार्ड’ अभियानको अंग थियो । माओ चीनलाई कृषि समाजबाट औद्योगिक शक्तिकेन्द्रमा बदल्न चाहन्थे । माओले पहिचान गरेका चार कीराहरु मूसा, झींगा, लामखुट्टे र भँगेरा थिए । उनी यी चारै जातका कीरालाई समूल नष्टगर्न चाहन्थे ।

यी मध्ये मूसा, झींगा र लामखुट्टेले रोग फैलाउँथे । भँगेरा चाहीं ‘पूँजीवादी’ चरा थिए । चीनका किसानले बडो दुःख गरेर उत्पादन गरेको अन्न चोरेर खाने, काम चाहीं केही नगर्ने । माओले चीनबाट भँगेरा निर्मूलगर्ने आदेश दिए ।

माओको इच्छा अनुसार जनता भँगेरामार्ने अभियानमा लागे । कतिले उडदा उडदैको भँगेरा छर्रा हानेर खसाले भने कतिले जालमा पारेर भँगेरा मार्न थाले । त्यसमा पनि, एउटा उपाय निकै सिर्जनात्मक थियो । चराको बथानलाई जमीनमा बस्नै नदिन चीनियाँहरु नाङलो र थाल ठटाउँथे। आवाज सुनेर डराएका चराहरु जमीनमा बस्दैनथे । उडदा उडदै थाक्थे र जमीनमा खसेर मर्थे ।

त्यतिबेलाको एउटा रिपोर्ट अनुसार : चीनियाँ भूमिमा आफनो मृत्युको जाल फैलिएको चाल पाएपछि चराहरु बिदेशी दूताबासका बगैंचाहरुमा बास बस्न थाले । यसै क्रममा, पोल्याण्ड दूतावासको बगैचामा भँगेराहरुले थुप्रै गुँड लगाएका थिए । यो देखेर चीनियाँ अधिकारीहरुले त्यहाँ भित्र पसेर भँगेरामार्ने अनुमति खोजे । दूतावासले त्यस्तो अनुमति दिन मानेन । त्यसपछि, अधिकारीहरुले जनतालाई दूतावास वाहिर ढोल, थाल र नाङलो ठटाउन लगाए । परिणाम, सबै भँगेरा त्यही उडे, त्यही खसे र त्यही मरे । दूतावासका कर्मचारीले सावेलले सोहोरेर मरेका भँगेरा हटाए ।

यस्तो उपाय लगाएर चीनमा कति भँगेरा मारिए ? त्यसको कुनै लेखा–जोखा छैन । बिशेषज्ञहरुका अनुसार, चीनबाट भँगेरा त झण्डै झण्डै सखाप नै भए । भँगेरा धपाउन छानामा चढेका कतिपय मानिस समेत छानाबाट खसेर मरे । कति त भँगेरामार्न राखिएको बीष झुक्किएर खानाले पनि मरे ।

यो अभियानको नकारात्मक असर तत्कालै देखियो । अर्को सिजनको कृषि बालीमा सलह पसेर बेमाख पारे । ‘सलहले पहिलेको तुलनामा दोब्बर बाली सखाप पारे’ अमेरिकन युनिभर्सिटीका प्रोफेसर तथा ‘प्रकृति बिरुध्द माओको लडाईं’ पुस्तकका लेखक जुडिथ शापिरोले बताइन । शापिरोले त्यो अभियानका बेला सक्रिय रहेका चीनियाँ जनतासंग घटनाका बारे सोधेकी थिइन । चीनियाँ युवा र केटाकेटी पोलेको भँगेरा बडो आनन्द मानेर खान्थे । त्यो अवसर पनि गुम्यो ।

माओ भँगेरासंग चुनाव हारे । यो हार डेविडसंग ‘गोलियथ’ ले लडाईं हारे जस्तै थियो । भँगेराले धान गहूँ मात्रै खाँदैनथे, बालीमा लाग्ने कीरा फटेंग्रा पनि खाइदिन्थे । भँगेरा सखाप भएपछि सलह र बालीनालीमा लाग्ने अरु कीरा फटेंग्राले किसानलाई सताउन थाले । अन्नको उत्पादन घटेपछि सन १९६० मा मात्र माओको दिमागमा यो कुरा घुस्यो । उनले भँगेरा मार्ने अभियान तत्काल रोक्न लगाए । रोक्न लगाएपनि जति नोक्सान हुने हो त्यो भै सकेको थियो । यसैको परिणाम सन १९५९ देखि १९६१ सम्म चीनमा दुइबर्ष लामो अनिकाल पर्यो । अनिकालको कारण भँगेरा मात्र थिएनन । माओले लाखौं किसानलाई खेतमा कामगर्न छाडेर स्टील कारखानामा कामगर्न जान आव्हान गरेका थिए । औद्योगिकीकरणको नाममा जंगल बेमाख हुँदै थियो ।

भँगेरा मार्ने अभियानले ‘वातावरणमाथि अधिनायकवाद’ थोपरिएपछि त्यसका असर के हुन्छ ? त्यसलाई देखाउँछ । शापिरो भन्छिन, ‘तानाशाहले सही निर्णय लियो भने परिणाम राम्रो आउँछ । उसको निर्णय राम्रो भएन भने जनताको ज्यानैजाने कहाली लाग्दो अवस्था आउँछ । भँगेरामार्ने अभियानमा माओ गलत थिए ।’

 

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री