लुम्बिनीलाई बनभोज स्थल बनाइँदा आध्यात्मिक महत्व गुम्दै

-राधेश्याम विश्वकर्मा

भैरहवा । यस बर्ष जुलाई सम्ममा ९ लाख ६० हजार २ सय ६० जनाले लुम्बिनीको भ्रमण गरेका छन् । जस मध्ये नेपालीहरु ७ लाख ६३ हजार ४ सय ३१ जना भारतीय १ लाख १० हजार २ सय ९८ जना र पासपोर्ट धारक बिदेशी ८६ हजार ५ सय ३१ जना रहेको थिए ।

गत बर्ष यसै अवधिमा ९ लाख २६ हजार ३ सय ९९ जनाले लुम्बिनी अवलोकन गरेका थिए । अर्थात गत बर्ष भन्दा यस बर्ष लुम्बिनी भ्रमण गर्नेको संख्या करिब १० प्रतिशतले वृद्धि भएको छ ।

संख्यामा हेर्दा यो तथ्यांक केही सन्तोषजनक देखिए पनि गुणात्मक रुपमा हेर्दा अझै पनि लुम्बिनीमा जुन प्रकारले पर्यटकको ओईरो लाग्नु पर्ने हो त्यो हुन सकेको छैन ।

अधिकांश नेपालीहरुले भ्रमण गर्ने र लुम्बिनीलाई बनभोज तथा सेल्फी खिच्ने स्थलको रुपमा प्रगोग गर्दा यसको आध्यात्मिक महत्व गुम्दै गएको सरोकारवालाहरुको चिन्ता छ । आध्यात्मिक क्रियाकलाप हुने स्थानमा अन्य क्रियाकलापहरु बढदै गएकोले लुम्बिनी कस्तो गन्तब्य हुने भन्नेमा नै प्रश्न उब्जिएको छ ।

पर्यटन ब्यवसायी हेम बिष्टका अनुसार अहिले संघीय सरकार देखि स्थानीय सरकारसम्म लुम्बिनीलाई कस्तो बनाउने भन्नेमै अन्योलमा छन् । बिष्टले ४० बर्ष अघि बनेको गुरुयोजना ५ बर्षमा सकिनु पर्नेमा अहिले पनि पूरा हुन नसकेको गुनासो गरे ।

उनले तत्कालिन समयमा गुरुयोजना बनाउने प्राध्यापक केन्जो टांगेले परिकल्पना गरेको लुम्बिनी समय सापेक्ष अनुरुप परिवर्तन भएको छैन ।  त्यसै पनि लुम्बिनीमा आउने तेस्रो मुलुकका पर्यटकलाई भुल्याउने वातावरण नहुँदा उनीहरुको बसाई र खर्च गर्ने रकम ज्यादै न्यून रहेको होटेल ब्यवसायीहरुको गुनासो छ ।

पासपोर्ट बोकेका पर्यटकहरुको लुम्बिनी बसाई यसअघि औषतमा १ दशमलव ४४ दिन बढेर अहिले १ दशमलव ८८ दिन बढेको छ । उनिहरुले खर्च गर्ने रकम पनि औषतमा ८८ युएस डलर मात्र रहेको छ । यसको तुलनमा मुस्लिम धार्मिक क्षेत्र मक्कामा पर्यटकको औषत बसाई २३ दिन र खर्च ८ सय ८५ युएस डलर रहेको अध्ययनहरुले देखाएका छन् ।

मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्र मक्काकै हाराहारीमा बौद्ध अनुयायीहरुको आस्था केन्द्र लुम्बिनीलाई पनि आध्यत्मिक पर्यटकिय केन्द्रको रुपमा बिकसित गर्न सकिने भए पनि सरकारले चासो नदिंदा यो मनोरन्जन केन्द्रमा मात्र सिमित भएको छ ।

लुम्बिनी होटल एशोसिएसन अफ नेपालका महासचिव लिलामणि शर्माले लुम्बिनीमा आध्यत्मिक गतिविधि नबढाएसम्म पर्यटकको बसाई छोटो नै हुने जिकिर गरे । उनले लुम्बिनीमा ध्यान देखि आध्यात्मिक गतिविधिहरु बढाउन सरकार, लुम्बिनीमा रहेका २७ वटा चैत्य–गुम्बा, लुम्बिनी बिकास कोष र पर्यटन ब्यवसायी तथा होटल ब्यवसायीको उत्तिकै दायित्व रहेको बताए ।

यसअघि लुम्बिनीमा लामा पूजा, मोलम पूजा लगायतका आध्यत्मिक गतिविधिहरु हुदै आएकोमा अहिले सो पूजाहरु भारत तर्फ सरेको छ । यद्यपी, गत बर्ष भएको त्रिपिटक च्यान्टिङ्ग र बार्षिक रुपमा हुने बुद्ध जयन्तीका कारण पर्यटकको बसाई केही लम्बिए पनि अब मासिक रुपमा यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरु आवश्यक रहेको सरोकारवालाहरुको भनाई छ ।

पर्यटकको बसाई लम्बाउन गन्तब्य ब्यवस्थापनमा पनि जोड दिनुपर्ने पर्यटन जानकारहरु बताउछन् । लुम्बिनीमा गर्मीयाममा पर्यटकको आगमन ज्यादै न्यून भएको हुँदा यसको ब्यवस्थापन गर्नुपर्ने, पूर्वाधारहरुको विकास, दक्ष जनशक्तिको साथै सरकारी निति पनि स्पष्ट हुनु पर्ने यसै बिधामा बिद्यावरिधि समेत गरेका लुम्बिनी बिकास कोषका सूचना अधिकृत हरिध्वज राईको भनाई छ ।

प्रदेश ५ सरकारले तोकेको लुम्बिनी भ्रमण बर्ष २०७६ र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि लुम्बिनीमा नियमित रुपमा हुँदै आएका बाहेक अन्य कुनै पनि बिशेष कार्यक्रमहरु गरिएका छैनन् । बिशेषगरी लुम्बिनी बिकास कोषले त यस्ता कुनै पनि गतिविधि गर्न कानूनी बन्देज नै रहेको कोषका सूचना अधिकृत हरिध्वज राईको भनाई छ ।

पासपोर्टवाहकको लुम्बिनी आगमनलाई बढाउन लुम्बिनीमा आध्यात्मिक गतिविधि बढाउन अहिले केही प्रयासहरु भएका छन् । जसमध्ये त्रिपिटक च्यान्टिङ्ग, फुल मून प्रेयर, दैनिक दिप प्रज्वलन लगायतका गतिविधिहरु अगाडी बढाईए पनि यी पर्याप्त भने रहेको छैनन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री