प्रतिगामीहरु सडकमा आए भन्दैमा सरकार भाग्दैन : प्रधानमन्त्री ओली

संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराए ।

‘सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर सरकारको संयमतालाई हेरेर केही तत्वहरु बढि हौसिएको देखिन्छ,’ उनले भने,‘प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सह्य हुँदैन । जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्वहरु नहौसिए हुन्छ ।’

प्रधानमन्त्रीले प्रतिगामीहरु सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि आग्रह गरे । ‘प्रधानमन्त्री लगलग काँमेका छन्, प्रधानमन्त्री जाने भए भनेको सुनेँ । पद नगएको राजा, महाराजा प्रधानमन्त्री कोही छैन । मलाई पनि अर्को चुनावदेखि बस्न मन छैन,’ उनले भने,‘प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ । चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ,’ उनले भने ।

प्रधानमन्त्रीले सरकारले आवश्यक कानुनहरु छोटो समयमा नै निर्माण गरेको स्मरण गर्दै कतिपय आवश्यक कानुनहरु यही अधिवेशनबाट टुंगोमा पुर्‍याउनुपर्ने बताए । उनले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताए ।

प्रधानमन्त्रीले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैं काम गरिरहेको, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरुबीच सम्झौता भएको, मन्त्री र सचिवहरुको बीच समेत सम्झौता भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सिफारिस आउनेवित्तिकै यसै साता सत्य निरुपण र बेपत्ता आयोग गठन हुने जानकारी दिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री