सुनको मूल्यमा लगातार बृद्धि : विक्री घट्दा व्यवसायी चिन्तित

-सिराज खान

नेपालगन्ज । केही समय पहिलेसम्म सुन नपाएर सुनको कोटा बढाउनु पर्ने माग गर्दै आएका बाँकेका सुनचाँदी व्यवसायीहरु अहिले सुन विक्री हुन छाडेपछि चिन्तित छन् ।

सुनको मूल्य लगातार आकाशिँदै गएपछि कारोबारमा मन्दी आएसँगैै सुनको विक्री पनि घटेको व्यवसायीहरुको भनाई छ । सोमबार सुनको मूल्य प्रति तोला ७२ हजार रुपैयाँ पुगेको छ । काठमाडौंको तुलनामा नेपालगन्जमा सुनको मूल्य तोलामा एक हजार बढी हुने गरेको छ ।

मूल्य बढ्दै गएपछि केही समय यता विक्री आधा घटेको सुनचाँदी व्यवसायी संघ नेपालगन्जका अध्यक्ष सलाहुद्दिन जसगढले बताए । सुनको विक्री सबैभन्दा बढी हुने पर्व तीज नजिक आईसक्दा पनि खरिद गर्ने ग्राहकहरु बजारमा नदेखिंदा व्यवसायी चिन्तित भएकाके अध्यक्ष जसगढको भनाई छ ।

‘सुनको कोटा विक्री नभएर अहिले सुनचाँदी व्यवसायी हैरान भएका छन् । अधिकांश पसल सुनसान अवस्थामा पुगेका छन् । कसरी व्यवसाय गर्ने हो केही थाहा छैन,’उनले भने । सुनको मूल्य लगातार बृद्धि भएपछि गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक बढी आउन थालेको पनि व्यवसायीले बताएका छन् ।

सुनचाँदी व्यवसायी संघका अनुसार साउन महीनामा मात्र सुनको मूल्य तोलामा सात हजार ५ सय रुपैयाँ बढेको छ । असार ३१ गते प्रतितोला छापावाला सुनको मुल्य ६५ हजार ५०० रुपैयाँ थियो । अहिले बढेर ७२ हजार ५०० पुगेको छ ।

साउन १४ गतेसम्म सुनको मूल्य प्रतितोला ६५ हजार रुपंैयाँमा तलमाथि हुँदै आएको थियो । साउन १५ देखि २१ गतेसम्म निरन्तर बढ्दै ६९ हजारमा पुगेको थियो ।

साउन २२ गते ७१ हजार ५०० प्रतितोला पुगेको मूल्य फेरी निरन्तर बढ्दै साउन ३१ गते ७२ हजार ५०० पुगेको थियो । भदौ महिनाको दुई दिन मूल्य ७२ हजारमा टिकेको छ ।

कारोबार कम भएपछि नेपालगन्ज र कोहलपुरका सुनचाँदी व्यवसायीहरूले बैंकबाट सुन किन्न बन्द गरेका छन् । बाँकेका लागि बाँके सुनचाँदी व्यवसायी महासंघलाई मासिक तीन किलो र नेपालगन्ज सुनचाँदी व्यवसायी संघका लागि तीन देखि चार किलोसम्म कोटा छुट्याईएको छ ।

तर अहिले सुनको कारोबार लगभग शून्य अवस्थामा पुगेकोले बैंकबाट व्यवसायीले सुन निकै कम खरिद गरिरहेको बाँके सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष बुद्धिप्रसाद दियालीले बताए ।

मूल्य आकाशिएकोले नयाँ गरगहना बनाएर विक्री गर्ने काम ठप्प नै भएको जनाउँदै उनले पुरानो गहना लिएर मर्मत वा विक्रीका लागि आउने ग्राहक मात्र कुरेर बसेको जनाए ।

मूल्य बढेर फाइदा हुने भएपछि आफूसँग भएको सुन फिर्ता गर्ने ग्राहकको संख्या बढेको सुनचाँदी व्यवसायी संघ नेपालगन्जका अध्यक्ष जसगढको भनाई छ ।

‘बजारको अवस्था अनुसार चल्नैपर्ने बाध्यता छ,’ उनले भने, ‘गत हप्ताको तुलनामा अहिले गरगहना फिर्ता गर्ने ग्राहकको संख्यामा केही कमी आएको छ । तर, गरगहना किन्नेभन्दा फिर्ता गर्ने ग्राहक नै बढी छन् ।’ तीज आउन एक साता पनि बाँकी नरहँदा सुुनका पसलहरु सुनसान देखिनुले व्यवसाय धरासायी भएको पुष्टी गरेको जसगढले बताए ।

 

टिप्पणी थप्नुहोस्