सक्रिय राजनीतिमा देखिइन राष्ट्रपति भण्डारी

  • नरेन्द्र विमल

नेपाल कम्युनिष्ट पाटीको नेतृत्वका लागि नेताहरु बीचको म्युजिकल चेयरको खेल जारी रहेको छ । खेलको नयाँ राउन्ड बाट ‘बरिष्ठ’ नेता माधवकुमार नेपाल बाहिरिएका छन । उनी ‘राजनीतिक जीवनमा कहिल्यै चौथो स्थानमा नबसेका मानिस’ यो पटक नराम्ररी खुम्चिएका छन । नेकपाभित्र देखिएको शक्ति सन्तुलनको खेलमा पछिल्लो केही समय हावी रहँदै आएका नेपाल अहिले सचिवालयमा एक्लो बन्न पुगेका छन ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बढेको दूरी र बामदेव गौतम तथा झलनाथ खनालको असन्तुष्टि पछि नेता नेपाल पार्टीमा हावी भएका थिए । तर, नेकपाभित्रको खेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवेशसँगै समीकरण फेरिएको छ । झण्डै झण्डै एक्लिएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एकाएक शक्तिशाली बनेका छन् । नयाँ समीकरणमा संयोजकको भूमिका महासचिव विष्णु पौडेलले पाएका छन् । जानकारहरु संवैधानिक राष्ट्रपतिबाट खेलिएको भूमिका नेता नेपालप्रतिको दुराग्रह भन्दा पनि ओली एक्लिएको कारण पार्टीभित्रको गुट संरक्षणका लागि बढी प्रेरित रहेको बताउँछन् ।

नयाँ समीकरणमा कसरी रहने भन्ने बारेमा स्पष्ट रोडम्याप छ । जसअनुसार गौतमले उपाध्यक्षको जिम्मेवारी पाएका छन् । त्यसैगरी पार्टी एकीकरणका समयदेखि नै वरियतामा अन्यायपूर्ण रुपमा पछि पारिएको गुनासो गर्दै आएका झलनाथ खनालको वरियतालाई सच्चाइएको छ । खनाल दुई अध्यक्षपछि पार्टीभित्र तेस्रो नम्बरको नेता बनेका छन् । जसप्रति नेपालमा असन्तुष्टि भएपनि बैठकमा उनले त्यसलाई व्यक्त गरेनन् । नेपालले अध्यक्ष ओलीलाई त्यसका लागि जिम्मेवारी ठहराएका छन । वरियता आफूले मागेको नभै ओलीले नै दिएको भन्दै नेपालले आफू र खनाललाई लडाएर ओलीले शासन गर्न खोजेको तीखो प्रतिक्रिया रह्यो उनको ।

ओलीबाट शुरुमा प्रस्ताव आउँदा नाइनास्ती नगरेर तेस्रो वरियताका लागि लोभिएका नेपालको यो भनाइ सत्यको धेरै नजिक छ । नेपाल र खनालका पछि रहेका नेता समान भएपनि दुवै बीच खासै सहकार्य हुने गरेको छैन । एकले अर्कोविरुद्ध कदम चाल्ने गरेका छन् । जुन विषयमा विगत लामो समयदेखि चल्दै आएको छ । पछिल्लो समयमा अध्यक्ष ओलीले पार्टी एकलौटी रुपमा सञ्चालन गर्दा भने दुवै नजिकिएका थिए । जसले नेकपाभित्र ६ र ३ व्यक्तिको समिकरण बनेको थियो । सचिवालयमा पोखरेल र पौडेलको मात्रै साथ पाउदा ओलीको पार्टी र सरकारमा पकड कमजोर हुँदै गएको थियो । अर्कोतर्फ प्रचण्ड, नेपाल, खनाल, गौतम, रामबहादुर थापा मगर र नारायणकाजी श्रेष्ठ प्रकाश रहेका थिए । जसको बलमा जिल्ला अध्यक्ष र सचिव तथा जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकिने समयमा पूर्व एमालेभित्र नेपाल पक्षको ५१ प्रतिशत स्थानमा आफू निकटहरुलाई ल्याउन सफल भएको थियो ।

नेता नेपाल निकट नेताहरुको कुरा मान्ने हो भने कमजोर स्वास्थ्यको कारण चिन्तामा रहेका ओलीको रोडम्याप संकटमा रहेको छ । तत्कालै पार्टी सञ्चालनको हर्ताकर्ता दाहाल हुने छन् । राष्ट्रपति भण्डारी समक्ष गरिएको बाचाअनुसार ओलीले प्रतिवद्धता व्यक्त गरेको समयमै दाहाललाई सत्ता हस्तान्तरण गर्ने छन् । त्यस समयमा उपाध्यक्ष बनाइएका गौतमले पार्टी सञ्चलानको जिम्मेवारी पाउने छन्। गौतमले ओलीले भनेक व्यक्तिहरुलाई भनेको स्थानमा जिम्मेवारी दिने छन् । गौतमपछिका वैकल्पिक नेताका रुपमा पोखरेललाई विकास गरिने छ । गौतम र पोखरेलका बीच नवौं महाधिवेशन देखि खासै मिल्ती छैन ।

गौतमलाई उपाध्यक्षमा बनाइदा ओली पक्षले जनताको बहुदलीय जनवादको विषयलाई अघि बढाउने शर्त राखेको छ । नयाँ पत्रिकामा आएको गौतमको पछिल्लो आलेखले त्यसैलाई संकेत गर्ने नेताहरुले बताउँछन । गौतम जनताको बहुदलीय जनवादका कडा पक्षधर हुन । एमाले फुटाएर माले पार्टीको निर्माण गर्दापनि उनले जनताको बहुदलीय जनवादको बाटोमा सीपी मैनालीलाई घिसारेका थिए ।

दाहाल र ओलीबीचको नयाँ समीकरणका प्रभाव आइतबारको सचिवालय बैठकमा देखिएको छ । वरियतामा एक तह तल झारिएका नेता नेपालले विधानमा रहेका एक व्यक्ति एक पदको मान्यता अनुसार अध्यक्ष पद छाड्ने विषयमा कुरा उठाए पनि दाहालले यो विषय अध्यक्ष ओलीमा निर्भर रहने बताए । नयाँ सहमति अनुसार, प्रधानमन्त्री ओलीले अध्यक्षको कार्यकारी पदभार दाहाललाई दिने र प्रधानमन्त्रीको रुपमा ओली सक्रिय रहने छन । बिश्वस्त सूत्रका अनुसार, यसको जमानी बसेकी छिन राष्ट्रपति बिद्यादेबी भण्डारी ।

तर, दाहाल कार्यकारी अध्यक्ष त्यसबेला हुनेछन जब ओली दोस्रो पटक सिंगापुरमा उपचार सकेर फर्कनेछन । दाहालको बुझाई नेपालसँग भन्दा प्रम ओलीसँगकै सहकार्यमा पार्टीभित्र बढी शक्ति सञ्चय गर्न सकिने रहेको छ । ओलीको एकलौटी निर्णयविरुद्ध दाहाल र नेपाल एकै कित्तामा आएको भएपनि अहिलेसम्मको अवस्था हेर्दा महाधिवेशनमा यी दुवै नेताहरुबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिन्छ ।
सचिवालयमा एक्लै भएका नेपालले अब के गर्लान ? चासो विषय भएको छ । नेपाल पक्षलाई ललिता निवास जग्गा प्रकरणमा फसाउन नसकिएपछि उनलाई कमजोर बनाउनसचिवालयमा एक्लाउने कदम चालिएको बुझिन्छ ।

सचिवालयमा एक्लिए पनि नेकपामा नेपालको शक्ति घटेको छैन । जिल्ला अध्यक्ष तथा इन्चार्जहरुको चयनसम्म आइपुग्दा नेपाल एकीकरणका समयभन्दा बढी शक्तिशाली भएका छन् । त्यसैले आगामी दिनमा नेपालले के कदम चाल्छन सबैको लागि चासोको विषय रहेको छ । नेपालपक्षले दुवै अध्यक्षहरुबीचको एकता लामो समय नचल्ने अनुमान गरेका छन । पछिल्लो समयमा ईश्वर पोखरेलसँग चिढिएका पूर्व माओवादीहरुले यो समीकरणलाई भत्काउन खोजेका छन् । अर्को पक्षका लागि भने नेपाल पार्टीभित्र रहेको शक्ति पनि हो । स्थायी समिति र केन्द्रीय समितिमा उनी ओलीकै हाराहारीमा रहेका छन् । कार्यकारी अध्यक्षका रुपमा कामगर्न दाहालले नेपालसँग सहमति गर्न आवश्यक हुन आउने छ । एमाले र माओवादीबीच एकताको संक्रमणकाल चलिरहेको नेकपा भित्रहुने शक्ति संघर्षका फरक फरक रुप आगामी दिनमा स्पष्टसँग देखिने छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री