‘लुम्बिनी बौद्धको सानो संसार’ सार्वजनिक

संवाददाता

भैरहवा । रुपन्देहीका पत्रकार चेतन पन्तको ‘लुम्बिनी बौद्धको सानो संसार’ नामक बृत्तचित्र सार्वजनिक भएको छ ।

प्रदेश सरकारले तोकेको लुम्बिनी भ्रमण बर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने गरि लुम्बिनीको बिषयमा बृत्तचित्र निर्माण गरिएको छ ।

भैरहवामा लुम्बिनी प्रेस क्लबको आयोजनामा आयोजित कार्यक्रममा प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरिले उक्त बृत्तचित्र सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री गिरिले प्रदेश सरकारको लुम्बिनी भ्रमण बर्ष र नेपाल भ्रमण बर्षको लागी सहयोग गर्न सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्न आग्रह गरे ।

गिरीले नेपालमा आउने पर्यटकहरुलाई लामो समय सम्म बसोबास गराउने योजनामा सफल हुन नसकेको बताए । उनले विगतमा लुम्बिनी जाने सडक सांघुरो हुँदा बाहिरबाट आउने पर्यटकलाई समस्या सिर्जना भएको बताए ।

‘विगतमा समस्या थियो, तर अब अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसके पछि लुम्बिनीलाई चौडा सडकले जोड्ने र लुम्बिनीसंग सम्बन्धित अन्य साइडहरुलाई ती सडकले जोड्दा निश्चित रुपमा पर्यटकको ओइरो नै लाग्नेछ,’ मन्त्री गिरीले भने ।

विगतमा बस्ने खाने होटलको कमी थियो तर अहिले नीजि क्षेत्रबाट होटल क्षेत्रमा लगानी हुनु खुशीको विषय भएको उनले बताए ।

नेपाली र अंग्रेजी दुवै भाषमा निर्माण भएको बृत्तचित्रमा लुम्बिनीमा रहेको बौद्ध गुम्बाहरुको बारेमा जानकारी दिइएको छ । लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन तथा पर्यटकको आगमनमा बृद्धि गर्न बृत्तचित्रले महत्वपूर्ण भूमिका खेल्ने निर्माता चेतन पन्तले बताए ।

टिप्पणी थप्नुहोस्