सरकारी संचारमाध्यम कि पार्टीको भर्ती केन्द्र ?

संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले सरकारले सरकारी सञ्चार माध्यमहरुलाई आफ्नो पार्टीको मुखपत्र बनाउने, कार्यकर्ताहरु भर्ती गर्ने तथा विपक्षीहरुका आवाजहरुलाई बन्द गर्ने काम गरिरहेको आरोप लगाएकी छन् ।

बिहीबार संसदमा बोल्दै उनले रेडियो नेपालले कार्यरत श्रमजीवि पत्रकारलाई बिनाकारण जागिरबाट निकालिएकोमा ध्यानाकर्षण गराउँदै उनीहरुलाई स–सम्मान पुर्नवाहलीका लागि माग गरिन ।

सरकारले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र पत्रकारिताको मूल्य मान्यता विपरीत पुर्ण नियन्त्रणमा राख्ने प्रयास गरेको उनको आरोप थियो ।

उनले भनिन, ‘सरकारी सञ्चार माध्यमहरुमाथीको हस्तक्षेप तथा सञ्चारकर्मीहरुको मनोबल गिराउने काम बन्द गरी पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टीका साथ त्यहाँ कार्यरत सञ्चारकर्मीहरुलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण मिलाउँदै हटाईएका पत्रकारहरुलाई तत्काल पुर्नबहालीको माग गर्दछु ।’

विवादित मिडिया काउन्सिल विधेयक, विद्युतीय कारोबार ऐन, आमसञ्चार विधेयक, विज्ञापन विधेयक लगायतले वर्तमान सरकारको मिडियालाई कत्तिको नियन्त्रण गर्न खोजेको छ भन्ने प्रष्ट भईसकेको डा. संग्रौलाको भनाइ थियो ।

रेडियो नेपाल केन्द्रीय कार्यालय सिंहदरबारको निर्णय अनुसार सुदुर पश्चिम प्रदेश प्रशारण केन्द्र दिपायलमा १० वर्ष देखि कार्यरत सुनिता रावल, तीन बर्ष देखि कार्यरत प्रकाश बम र चक्र कुँवरलाई बिना कारण यहि भाद्र १ गतेदेखि हटाइएको थियो ।

टिप्पणी थप्नुहोस्