स्काउटमा पस्यो राजनीति

  • कृष्ण आचार्य

२०७५ साल फागुन ३ गते शुक्रबार । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको सरकारले एक बर्ष पूरा गरेको दिन । देशका दुई प्रमुख समाचारपत्र ‘कान्तिपुर’ र ‘नागरिक’ पहिलो पृष्ठमा प्रम ओलीको तस्वीर सहितको बिज्ञापन प्रकाशित गरे । नेपाल स्काउटका संरक्षकका रुपमा प्रम ओली नेपाल स्काउटको भेषभूषामा थिए । घाँटीमा नेपालको झण्डाव्दारा बनाइएको स्कार्फ र छातीमा स्काउटको पदक र लोगोले सजधज ।

देशमा प्रजातन्त्र स्थापना भएदेखि यता देशको प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारलाई बधाइ र शुभकामना दिने चलन शुरु भएकोछ । तर, यस्तो राजनीतिक अवसरमा नेपाल स्काउट जस्तो बिशुध्द शैक्षिक संस्थाले किन प्रमलाई बधाइ र शुभकामना दियो ? यो बुझन सकिने कुरा थिएन । तर, बिस्तारै कुरा बुझियो । निर्दलीय पंचायतकालमा जसरी राजा र उनका परिवारले स्काउटको राजनीतिक प्रयोग गर्थे, प्रम ओली आफू स्काउटको संरक्षक भएको अवसर पारेर, त्यसरी नै सरकार प्रमुखको हैसियतमा बधाइ र शुभकामना प्राप्तगर्न चाहन्छन । उनका कार्यकर्ताहरु राजाको पालादेखिको चलनलाई निरन्तरता दिएर स्काउटको नाममा आफनो रोटी सेक्न चाहन्छन ।

गएको जेठ १७–२१ गतेसम्म पोखरामा स्काउटको रोभर मूट भयो । त्यो बेलामा पनि यस्तै प्रकारको अब्यबस्था थियो । स्काउटका तस्वीर र ब्याजको त कुरै नगरौं, अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्वगर्दा लगाउन दिइने झण्डाको स्कार्फ समेत सबैका लागि उपलब्ध गराइएको थियो । रोभर मूट कार्यक्रममा स्काउटका संस्थापक सर बेडेन पावेलको तस्वीरराख्ने परम्परा तोडेर चारैतिर प्रम ओलीको फोटो राखिएको थियो ।

स्काउटका लागि राजनीतिकरण कुनै नयाँ कुरा होइन । यो राजनीतिक अब्यबस्था र तदर्थवादमा नै चली रहेकोछ । २०७१ देखि यता स्काउटले परिषदको बैठक आयोजनागर्न सकेको छैन । परिषदको बैठक आयोजनागर्न दुई-दुईवटा तदर्थ समिति बनेर पनि परिषदको बैठक बस्न सकेको छैन । स्काउट सरकारका लागि एउटा प्रयोगशाला जस्तो भएकोछ । दोस्रो तदर्थ समिति बनेपछि मन्त्रीसंग एकपटक मात्रै मिटिंग भएको छ । त्यतिबेला जिम्मेवारी बाँडफाँडको कुरा भएको थियो । तर, त्यसमा कसैले चासो दिएन । यो प्रसंगमा, स्काउटका पूर्व केन्द्रीय समिति सदस्य तथा प्रशिक्षक गुणराज प्याकुरेलको भनाइ छ – सँधै राजनीतिबाट मुक्त मानिएको स्काउटमा अहिले राजनीति लवालव भरिएकोछ । अन्यत्र जस्तै यहाँ पनि भागवण्डाकै आधारमा संस्था चलाउने अभ्यास भइ रहेको छ ।

२०६० सालदेखि श्रीराम लामिछाने स्काउटको चिफ कमिश्नर थिए । मण्डले पृष्ठभूमिका लामिछाने २०७१ जेठको कर्मचारी आन्दोलनपछि बिदा भए । त्यसपछि संयोजक मनोनीत भएका ध्रुबप्रसाद शर्मा पुससम्म रहे । त्यसपछिको परिषदले रविन दाहाललाई चीफ कमिश्नर मनोनीत गर्यो । अहिले लोकबहादुर भण्डारीको संयोजकत्वमा परिषद बनेकोछ ।

स्काउटको केन्द्रीय समितिमा एकजना महिला सीमा कर्णमात्रै सदस्य छिन । कर्ण स्काउटका अहिलेको गतिविधिसंग पूरै असन्तुष्ट छिन । केन्द्रीय समितिले उनीसंग कुनै सल्लाह लिने गरेको छैन । न त उनलाई कुनै निर्णयका बारे नै जानकारी गराइन्छ । कर्ण पोखरामा भएको रोबर मूट कार्यक्रम र मोरंग सुनसरीमा भएको प्रशिक्षण कार्यक्रम मनोमानी ढंगले गरिएको बताउँछिन । यति ठूलो निर्णयगर्दा केन्द्रिय सदस्यहरु उपस्थित हुनुपर्नेमा उनी स्वयं समेत त्यसमा उपस्थित थिइनन । उनलाई यसबारे जानकारी नै गराइएको थिएन ।

स्काउटको बजेटमा सरकारले बृध्दि गरेको छ ता पनि यो पबित्र संस्थाभित्र आर्थिक अनियमितताका काण्डहरु थुप्रै हुँदै आएका छन । लामिछानेकै पालादेखि आर्थिक अनियमितता शुरु भएको बताउनेहरु थुप्रै भेटिन्छन । हाल पनि, पोखराको रोबर्ट मूट सम्मेलन र मोरंग सुनसरी प्रशिक्षणमा लाखौं हिनामिना भएको आशंका गरिएको छ ।

स्काउटका जानकारहरु, बर्तमान सरकारले नजानिदो हिसावले स्काउटको प्रयोग राजनीतिक प्रयोजनका लागि गरिरहेको बताउँछन । सूत्रहरुका अनुसार, स्काउट अहिले सर बेडेन पावेलका आदर्शबाट अनुप्रेरित संस्था नभएर राजनीतिक चाटुकारहरुको अखडा भएको छ ।

टिप्पणी थप्नुहोस्