‘स्ट्राइकर’ ओलीको गोटी नेपाल !

–आरती शर्मा

काठमाडौं । पार्टी एकीकरण भएको एक वर्षपछि बरिष्ठ नेता माधवकुमार नेपाललाई आफू आगोको भुङग्रोमा परेको अनुभूति भइ रहेको छ । ५ भदौमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भनाभनले उनलाई पिरोल्न थालेको छ ।

उपचारका लागि सिंगापुर जानु अघि ओलीसंग भएको झगडा सामान्य भएकोले यसलाई घर झगडाको रुपमा बुझिदिन नेता नेपालको आग्रह रहेको छ । तर, नेता नेपाल निकट एक केन्द्रीय सदस्य भन्छन, ‘यो झगडा अभिनेत्री शिल्पा पोखरेल र निर्देशक छवि ओझाको घर झगडा जस्तो होइन । पार्टीभित्र विधि प्रक्रिया र सिद्धान्तको बहस हो ।’

३ जेठ २०७५ मा तत्कालीन दुई कम्युनिष्ट पार्टी ( एमाले र माओवादी) बीचको एकीकरणपछि ओली पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई आफूपछिको नेतृत्वमा झार्न सफल भए । ओलीको गतिविधिले वाक्क भएका दाहाल नेताद्वय माधव नेपाल र बामदेव गौतमबीच समीकरण हुने भेउ पाएपछि चनाखो बने ।

तर, अध्यक्ष ओलीले विधानमै नभएको पार्टी उपाध्यक्ष पद सिर्जनागर्दै वामदेब गौतमलाई संगठन विभाग प्रमुख नियुक्त गरे । गौतम ओली अनुकुलका नेता हुन ।

अध्यक्ष ओलीले पुष्पकमल दाहाललाई बैठकको अध्यक्षतासँगै पार्टी संचालनको अधिकार दिएर मौन गराए । दाहालले यसलाई पार्टी एकतापछि गुमेको आफनो बरियता पुनस्र्थापित भएको सोचे । अन्ततः माधव नेपाल एक्लिए ।

नेपाल निकट नेता जगन्नाथ खतिवडा पार्टीभित्र मौलाइरहेको स्वेच्छाचारिता र विधिहीनता विरुद्धमा नेता र कार्यकर्ताले सचेत र सशक्त प्रतिवाद गर्न जरुरी भइसकेको बताउँछन ।

सचिवालयमा एक्लो भएपनि केन्द्रीय सदस्यमा नेता नेपाल समूहको पकड दह्रो देखिन्छ । केन्द्रीय समितिमा ४ सय ४१ सदस्यीय थियो । नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ । ४ सय ४५ सदस्य मध्ये नेपाल पक्षका १ सय ३ (हाल नियुक्त भएका बाहेक)जना छन ।

नेता खतिवडाका अनुसार, यी मध्ये २२ जना केन्द्रीय सदस्यहरुले १० महिना अघि पार्टी अध्यक्ष ओलीलाई पार्टीलाई सही दिशामा हिंडाउने मांगगर्दै गत कात्तिक महिनामा ज्ञापन पत्र दिएका थिए । तर, यससम्बन्धमा कुनै सुनुवाई नै भएन ।

पार्टी एकीकरणपछि अहिलेसम्म देखिएका समस्यालाई नेता नेपालले सात बुँदे असहमति पत्र तयार पारी पार्टी महासचिव विष्णु पौडेललाई बुझाएका छन । नेता नेपालले बुझाएको असहमति पत्र पार्टीलाई सहि दिशामा हिंडाउन आफुहरुले गरेको प्रयासको थप व्यवस्थित श्रृंखला भएको नेता खतिवडाको टिप्पणी छ ।

नेपाल निकट नेता एवं नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवाली अहिले सचिवालयमा देखिएको समीकरण निरन्तर फेरबदल भइरहने बताउँछन । उनी भन्छन, अहिलेको अवस्थामा उहाँ (माधव) एक्लो परेको जस्तो देखिएपनि पार्टीभित्र परिवर्तन भइरहन्छ । ध्रुवीकरण भइसकेको छैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री