-राधेश्याम विश्वकर्मा
रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाले ‘सुकन्या धन योजना, बालिका बिमा’ नीति लागु गरेको छ ।
छोरीहरुको शिक्षा, विवाह लगायतका बिषयमा विभेद न्यूनिकरण गर्न यस्तो योजना लागु गरिएको हो । ।
यो योजना अन्तर्गत भ्रुण हत्या, बालविवाह, दाईजो प्रथा लगायतका कुप्रथालाई पनि न्यूनिकरण गर्ने योजना ल्याइएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिए ।
नगरपालिका भित्र जन्मिने प्रत्येक बालिकाको नाममा नगरले २० हजार रुपैयाँ खातामा जम्मा गर्ने र अभिभावकले उक्त खातामा ५ हजार रुपैंयाँ जम्मा गर्नेगरी योजना बनाएको बताए ।
यसरी जम्मा भएको रकम २० बर्ष पछि मात्र निकाल्न मिल्ने ब्यवस्था बनाइएको चौधरीले बताए । २० बर्ष पछि निकाल्दा उक्त रकम ३ लाख ५० हजारसम्म पुग्ने र यसले विपन्न वर्गका अभिभावकलाई उसको विवाह वा उच्च शिक्षाको लागी धेरै राहत प्रदान गर्ने नगरपालिकाको विश्वास छ ।
‘उक्त रकम प्राप्त गर्न छोरीले अनिवार्य १० कक्षा पढेकै हुनु पर्नेछ’ मेयर चौधरीले भने । नगरपालिकाका बालिकाहरुको शिक्षामा पनि उल्लेख्य विकास गर्ने उनको धारण रहेको छ । योजनाले भ्रुण हत्या जस्तो निकृष्ट कार्य रोकी छोरीको जन्मलाई प्रेरित गर्ने छ ।
यसका लागी कार्यविधि बनाएर पारित समेत गरि सकेकाले अब यो योजना लुम्बिनीको सबै वडामा शुरु भएको छ । यस आर्थिक बर्षको लागि १ करोड रुपैंयाँ योजनाको लागी बिनियोजन गरि सकिएको छ ।
चालु आर्थिक बर्षको श्रावण महिना देखि जन्मिएका बालिकाका बाबुले सम्बन्धित वडामा जन्मदर्ता गराई यो योजनामा सहभागी हुन पाउने छन् ।
वडा मार्फत नै बालिका बिमा योजना अगाडी बढाइएको मेयर चौधरीले जानकारी दिए । गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्र रहेको यो नगरपालिका भौतिक बिकासको दृष्टिले जिल्लाकै सबैभन्दा पिछडिएको नगरपालिकाको रुपमा रहेको छ ।
टिप्पणी थप्नुहोस्