सिक्किममा नेपाल भ्रमण वर्षबारे प्रचार शून्य

झापा । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० नजिकिए पनि सीमापारी भारतका सिक्किम र दार्जिलिङमा प्रचार प्रसारको अभाव देखिएको छ ।

सरकारले भ्रमण बर्षका बारेमा लेखिएको ब्रोसर समेत पर्यटन व्यावसायीहरुलाई उपलब्ध गराउन नसक्दा नेपाल घुम्न आउन इच्छुक सीमापारी भारतीय शहरका पर्यटकहरु भ्रमण बर्षका बारेमा अनभिज्ञ छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि भ्रमण बर्षको पूर्वसन्ध्यामा मन्त्रालयले जोडतोडका साथ काम गरिरहेको बताइरहेका छन् ।

२० लाख पर्यटक नेपाल भित्र्याउने महत्वकांक्षी योजना अघि सारेर सरकारले तयारी थालेको घोषण गरिसकेको छ । छिमेकी देश भारत र चीनमा प्रचार प्रसारको अभाव खड्कीएको छ ।

भ्रमण बर्षका बारेमा मौखिक रुपमै भएपनि प्रचार प्रसार गर्ने उद्देश्यले प्रदेश नम्बर १ को १४ सदस्यीय टोलीले भारतको सिक्किम भ्रमण तथा त्यहाँका पर्यटन, होटललगायत अन्य व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

टोलीले भारतका विभिन्न ठाउँबाट पर्यटकहरु नेपाल घुम्न पठाइदिन आग्रह गरेको छ । प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, ट्राभल संघ झापाका अध्यक्ष नीरबहादुर कार्की, ट्राभल संघ विराटनगरका अध्यक्ष फणिन्द्र अधिकारी सहितको टोली सिक्किम पुगेर नेपाल भ्रमणको निम्तो दिएको हो ।

नेपाली टोलीलाई सिक्किमका पर्यटन व्यवसायी तथा अन्य अधिकारीहरुले सिक्किममा स्वागत गर्दै नेपालले भ्रमण बर्षका प्रचार सामाग्री उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

छलफलका क्रममा होटल एसोसिएशन अफ नाम्चीका अध्यक्ष पीके राईले ‘नाम्ची बाट नेपाल घुम्न जाने प्रायः युवाहरु भएकाले नेपालका पर्यटकिय स्थानहरुका बारेमा समेटीएको प्रचाहरु युवाहरुका हातमा दिंदा उनीहरुलाई सहज हुने’ बताए ।

भ्रमण बर्षको बारेमा भारतमा केही जानकारी नभएको बताउँदै उनले ‘भ्रमण बर्ष २०२० का बारेमा नेपाल सरकारले नेपाल आसपासका भारतीय क्षेत्रमा मात्र पनि प्रचारप्रसार गर्न सक्यो भने नेपाल जाने पर्यटकको संख्या बढ्ने बताए ।

अर्का होटल तथा ट्राभल व्यवासायी सचिन शर्माले नेपाल जति सुन्दर त्यहाँको प्रचारप्रसार कम भएको बताए । नेपालमा भ्रमण बर्षको तयारीका बारेमा उनले भने, ‘यहाँका होटल, ट्राभल व्यावसायी कसैलाई थाहा छैन । यसरी कस्तो भ्रमण बर्षको तयारी नेपालले गरेको छ ?’

नाम्चीमा भएको छलफलमा पर्यटन व्यावसायीहरु जुनु राई, केशव ठटाल, होटल एसोसिएशन अफ नाम्चीका कानुनी सल्लाहकार प्रियंका शर्मा बस्नेत लगायतले आ आफ्नो धारण राख्दैं भ्रमण वर्ष २०२० लाई सफल पार्न उनिहरुले ‘भारतबाट पर्यटकहरु नेपाल जाने वाताबरण बनाईदिन समेत नेपाली व्यावसायीहरुलाई आग्रह गरे ।

होटल एशोसिएशन गान्तोकका सदस्य तथा लोर्नाक होटलका सञ्चालक समेत रहेका हरि शाही ठकुरीले ‘दुई देशबीच पर्यटन प्रवद्र्घन गर्न के कस्तो भुमिका निर्वाह गर्नुपर्ने हो दुवै देशका व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिए ।

यसैगरी, उत्तरी सिक्किमको लाचुङस्थित होटल व्यावसायी संघकी सचिव सेलो भोटियाले उक्त क्षेत्रबाट नेपालको हलेसी महादेवको मन्दिर, बुढासुब्बा र पोखरा सम्म पुग्नेको संख्या अत्याधीक रहेको बताइन ।

नेपालबाट गएको टोलीले नेपाल भ्रमण बर्ष २०२० को निमन्त्रण दिएको छ । ‘हामी आफ्नै निजि खर्चमा आएका हौँ, भ्रमण बर्ष सफल पार्ने दायित्व व्यावसायीहरुको पनि उत्तिकै हो,’ झापा ट्राभल संघका अध्यक्ष निरबहादुर कार्की (नेत्र)ले भने ।

टोलीमा रहेका प्रदेश नम्बर १ का उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले नेपाल घुम्न आउने पर्यटकका लागि सरकारले जस्तोसुकै सहयोग गर्ने उल्लेख गर्दै नेपालका धार्मिक एवम् पर्यटकीय स्थलका बारेमा मौखिक जानकारी गराए । नेपाली टोलीले गान्तोक, नर्थ सिक्किम लाचुङ युमनाङलगायतका स्थानमा समेत अन्तरक्रिया गरेको थियो ।

टिप्पणी थप्नुहोस्