परिवर्तन र केही बिस्मयहरु

मूलधारको नेपाली पत्रकारिताका केही समस्या छन । ती हुन, अनुत्तरदायी सम्पादकीय व्यवहार । समकालीन पत्रकारितामा महत्वपूर्ण मानिने ‘नयाँ पत्रिका’ दैनिक पनि यो व्यवहारबाट मुक्त रहेनछ भन्ने स्थापित गरेको छ: रुपान्तरणका प्रवन्ध सम्पादक रुचि श्रेष्ठको आलेखको दुर्दशाले । १०८५ शब्दको आलेखलाई ‘नयाँ’ सम्पादकले ४७५ शब्दमा खुम्च्याइमात्र दिएनन, त्यसका महत्वपूर्ण भागको भ्रूणहत्या गरिदिए ।

https://www.nayapatrikadaily.com/news-details/23738/2019-08-27?fbclid=IwAR1wgUxtRrnxT4qbQP8aNskoKGpzrHw4KxHaE1

त्यो सम्पादन थिएन । शब्दहरुसंगको बलात्कार थियो । सम्भवत सम्पादनमा यस्तो ‘कलाकारिता’ देखाउने क्षमता अरु कुनै ‘नयाँ’ सम्पादकमा छैन होला । प्रस्तुत छ श्रेष्ठको पूर्ण आलेख :

  • रुचि श्रेष्ठ

समकालीन बौद्धिक वर्गमा एउटा कुरा त स्पष्ट भइसकेको छ, त्यो के भने, कुनै एक प्रदेश, समुदाय वा वर्गका महिलाको समस्याको सम्वोधनले मात्र सम्पूर्ण नेपाली महिलाको समस्यालाई सम्बोधन गर्न सक्दैन । त्यसको कारण पनि स्पष्ट छ । नेपालको बनोट नै बिविधतामा आधारित छ, चाहे त्यो जातीय बिविधता होस् वा भौगोलिक बिविधता, भाषिक बिविधता होस् वा सांस्कृतिक ।

आधुनिक समयमा चेतना र प्रविधिको आगमनले नेपाली समाजलाई एकसूत्रमा बाँधेको भ्रम हुन्छ, केही हद सम्म यो भ्रम यथार्थ पनि साबित भएको छ । वास्तबिकतामा, अहिलेको समय सम्म आइपुग्दा नेपालका सामाजिक बिविधतामा झन् बढी आयामहरु थपिएका छन् । यी आयामहरुलाई देशमा बिद्यमान संक्रमणकालीन अवस्थाका बिंबन भनेर पनि बिश्लेषण गरिंदै आइएको छ । संक्रमणकाल दश बर्ष हुन्छ, बीस बर्ष हुन्छ । अहिले पचासौं बर्ष नाघिसक्दा संक्रमणकाल अरु नै कुनै काल भइसकेको छ ।

परम्परागतरुपमा नेपाली महिलाहरुलाई तीन वर्गमा छुटयाइंदै आइएको थियो, अविवाहित महिला, विवाहित महिला र विधवा महिला । चेतना र बिकासले नेपाली महिलाहरुको वर्गीकरणमा ल्याएको आयामिक बिविधताका आधारहरु भने यस्ता छन: ः शिक्षित र अशिक्षित महिला, कामकाजी र गृहिणी महिला, शिक्षित कामकाजी महिला र अशिक्षित मजदूर महिला, शिक्षित गृहिणी र अशिक्षित गृहिणी, आर्थिकरुपले सम्पन्न गृहिणी, आर्थिकरुपले सशक्त महिला, शहरी महिला, ग्रामीण महिला, किसान महिला, एकल महिला, दलित महिला, जनजाती महिला, समलिगीं महिला, अपागंता भएका महिला इत्यादि । नेपाली महिलाले आफ्नो परिचयमा यी परिवर्तनहरु रातारात ल्याएका होइनन् । यसका लागि भएका संघर्षको यात्रा धेरै लामो र चुनौतिपूर्ण रहेको छ । महिलाले सामाजिक र पारिवारिक परम्परा बिरुद्ध संघर्ष गरेका छन्, पितृसत्तात्मक संरचनाको बिरुद्ध संघर्ष गरेका छन्, आफैभित्रको आत्मपीडक रुढीबादी मान्यता र मानसिकताका बिरुद्ध संघर्ष गरेका छन् । यी संघर्षहरु मात्र परिचयका लागि गरिएका होइनन् । संघर्षको उद्देश्य सधै एउटै रहेको छ, त्यो हो, आत्मसम्मानपूर्ण अधिकार ।

किन नेपाली महिलाहरुले यति लामो संघर्ष पछि यति विस्तृत परिचय बनाई सक्दा पनि महिलाहरुको समस्या अझै सम्बोधन हुनसकेको छैन ?

शहरका शिक्षित कामकाजी महिलाले यौन दुर्ब्यबहार बिरुद्ध आवाज उठाउछन् । त्यसको बिरुद्धमा अर्को बुलन्द आवाज सुनिन्छ – छाउपडीले पीडित ग्रामीण महिलाहरुको समस्या यति ठूलो छ देशमा, बलात्कृतहरुले न्याय पाएका छैनन्, यौन दुव्र्यवहार त बनाइएको समस्या हो ।

यौन दुव्र्यवहार कति भए समस्या हो र कति सम्म हुदा समस्या होइन भन्ने कुराको मापदण्ड कसले तोक्ने ? त्यो त महिलाले नै तय गर्नुपर्छ ।

निर्णायक भुमिकामा महिला प्रतिनिधित्व ल्याइनु पर्ने हो कि महिला आउनु पर्ने हो ?

छाउपडी सारा देशको लागि समस्या भइसक्यो । बिदेश भ्रमणमा जादा देशका प्रतिनिधिहरुलाई बिदेशीले छाउपडी बारे प्रश्न गरे भने के जवाफ दिने ? समस्या भइसक्यो । तर, छाउ बस्ने महिलाहरुलाई समस्या छैन । छाउ बस्ने महिलाका घरका पुरुषहरुको लागि त यो बनाइएको समस्या हो । सुदूर पश्चिम बाहेक देशका अन्य क्षेत्रमा छाउपडी छैन । राजधानीमा त झन सम्भव नै भएन । शहरमा एउटा परिवारले एउटा कोठा समेत बल्ल तल्ल पाउछ । तर, छाउ मानसिकतालाई घर जग्गा चाहिदैन । यो त मस्तिष्कहरुमा बेनाम डरको कवच लगाएर सुरक्षित बस्छ ।

छाउ देशका बिभिन्न प्रदेश र शहर पुगेपछि छोइ बन्छ । छाउ बस्ने महिलालाई हेरेर छोइ हुने महिलाले आफूलाई सुबिधा सम्पन्न ठान्नुपर्ने हुन्छ, आफ्ना आमा र हजुरआमाहरुको भोगाइका दन्त्य कथाहरु सुनेर आफूलाई भाग्यशाली मान्नुपर्ने हुन्छ । बिगतका संघर्षलाई सम्मान गर्नु मानवीय धर्म हो तर, त्यसैमा अभिभूत भएर बस्नु भनेको अस्तित्वको लागि संघर्षको आवश्यकताको बुझाईमा दूरदर्शिताको कमी हुनु हो । हरेक पिंढीको आफ्नो समय र परिवेशमा आफ्नै समस्या हुन्छ । हजुरआमा र आमाको संघर्षको गाथाले छोरी–नातिनीलाई उर्जा दिन सक्ला । तर, ती गाथाहरुले नयाँ पिंढीको समस्याको सम्बोधन गर्न सक्दैन ।

समस्याको जरो ठम्याउन अप्ठ्यारो हुन्छ । जरो ठम्याउन सकिएन भने त्यो आफैमा जटिल समस्या भइदिन्छ, अनि समस्या स्वीकार्न आत्मबल र साहस चाहिन्छ । तब मात्र उद्देश्य प्रष्ट हुन्छ र संघर्ष अर्थपूर्ण बन्छ । तर, यी प्रकृयाहरु कुनै बिशेष र बिशिष्ट खाका अनुसार नै चल्नुपर्छ भन्ने हुदैन, र यो सम्भव पनि छैन । किनभने, मानिसमा आत्मज्ञान त्यतिवेला आउँछ जब उसले समस्या, संकट र आत्मचिन्तनका बारे थाहा पाउँछ । पण्डितका शिक्षित छोरा भानुभक्तले घाँसी सँगको कुराकानी पछि आत्मज्ञान प्राप्त गरे । घाँसीले तिर्खाएका बटुवाबाट प्रेरित भएर कुवा खनाए । यो मानवताको लागि काम गर्ने प्रेरणा थियो । बेलायतीको शक्ति, महिमा र जीवनशैली बाट प्रभावित भएर गान्धी कानुन पढ्न बेलायत गए । पछि, तिनै बेलायतीहरुले गान्धी माथि गरेको तिरस्कार, दमन र अत्याचारले उनको आत्मसम्मानलाई झक्झकायो । त्यहींबाट शुरुभएको थियो बेलायती साम्राज्य बिरुद्ध स्वाधीनताका लागि गान्धीको बिद्रोह र आन्दोलन ।

यी त भए इतिहासमा लेखिएकाहरुले पाएका प्रेरणा र आत्मज्ञानका कथाहरु । हाम्रा वरीपरी कै समाज र समूहहरुमा पनि बिभिन्न समयमा सामान्य मानिसहरुले घाँसित्व र गान्धीत्व प्राप्त गरिरहेकै छन् । कीर्तिका गाथाहरुमा उनीहरुको नाम छैन, उनीहरुको लागि त्यसको अर्थ पनि छैन । तर, उनीहरुको लागि आफ्नो जीवन भने अवश्य नै अर्थपूर्ण छ, आत्मसम्मानपूर्ण छ ।

आत्मसम्मानपूर्ण अधिकार प्राप्त महिलाको परिचय के हो ?

“प्रत्येक पुरुषको सफलताको पछाडि महिलाको योगदान हुन्छ” भन्नु त्यति नै तर्कसंगत छ जति तर्कसंगत “महिला असफल पुरुषको पछाडि लाग्दैनन्” भन्नुमा छ । समाजमा यस्ता धेरै तर्कहीन भनाइहरु प्रचलित छन् जसले चेत–अचेतरुपमा महिलालाई सहायक भूमिकामा परिस्कृत र गर्वान्वित महसूस गराइरहेको हुन्छ । अर्कोतिर, महिलाहरु आफ्नो सफलताको श्रेय बाबु र श्रीमानलाई दिनबाट कहिल्यै चुक्दैनन् । मानौं, “प्रत्येक पुरुषको सफलताको पछाडि महिलाको योगदान हुन्छ” भन्ने कथनको प्रत्युत्तर हो “प्रत्येक महिलाको सफलताको पछाडि पुरुषको योगदान हुन्छ ।” खरो लैगिंक समानताको वकालत गर्नेहरुको लागि यो कथन तकनीकी रुपमा शत–प्रतिशत जायज हुनसक्छ । हाम्रो सामाजिक मूल्य र मान्यता हेर्ने हो भने पनि आफ्नो सफलताको श्रेय परिवार र आफन्तलाई दिनु विनयशीलता मानिन्छ । हो, कोही पनि व्यक्ति एकाकीरुपमा असफल पनि हुदैन र सफल पनि हुनसक्दैन । एउटा अफ्रिकी कथन छ, “एउटा बच्चो हुर्काउन सम्पूर्ण गाउँ चाहिन्छ” । सम्पूर्ण मानव सभ्यताको अस्तित्व नै अनोन्याश्रित सम्बन्धमा टिकेको छ भने एउटा व्यक्तिको जीवनमा परिवार, साथी, समाजको प्रभाव पर्नु स्वाभाविक कुरा हो ।

तर, हाम्रो परिवार र समाजमा महिलाले आफ्नो सफलताको श्रेय पुरुषलाई दिनुको तात्विक अर्थ केलाउने हो भने महिलाले आफ्नो निर्णयको जिम्मेवारी लिन नसकेको देखिन्छ । महिलाले निर्णायक जिम्वेबारी लिन नचाहनु वा नसक्नुको कारण पनि स्पष्ट छ । महिलाले लिएको निर्णय ‘गलत’ साबित हुंदा सम्पूर्ण दोष महिला कै थाप्लोमा पर्छ । बिशेषगरी छोरीको निर्णयको जिम्मेवार आमा हुन्छन् । बाले अनुमति दिए आमा ढुक्क हुन्छन् । आमा पनि त बा कै अदृश्य संरक्षणमा बसेका हुन्छन् । महिलाले स्वनिर्णयको अधिकार प्रयोग गर्छन् भने त्यहाँ निर्णय ‘गलत’ साबित हुने सम्भावना जति हुन्छ, निर्णय ‘सही’ सावित हुने सम्भावना पनि त्यति नै हुन्छ । परिणामको सबै जिम्मेवारी स्वीकार गरेर निर्णय लिन पाउनु नै आत्मसम्मानपूर्ण अधिकार हो । बिभिन्न परिचय, परिवेश र राष्ट्रका महिलालाई एकसूत्रमा बाध्ने धागो पनि यही नै हो ।

परम्परा र मान्यता रातारात परिवर्तन हुदैन । यसलाई रातारात परिवर्तन गर्न खोज्नु अस्वाभाविक हो । परिवर्तन पर्खेर बस्नु पनि अस्वाभाविक हो । तर, बिरोध गर्नु स्वाभाविक हो, संघर्षको सुरुवात हो । स्वाभाविक कुरालाई स्वाभाविकरुपले स्वीकारगर्नु सहज छैन । समस्याको जटिलता यहींबाट शुरु हुन्छ । एउटा ठूलो परिर्वतन ल्याउन एक युग लाग्न सक्छ, त्यो स्वाभाविक हो । युग परिवर्तन गर्ने सम्भावना बोकेको बिचारको झिल्को बल्न चाहीं मात्र एक निमेष भएपुग्छ ।

टिप्पणी थप्नुहोस्