भैरहवामा जुम्बा आकर्षण

-राधेश्याम विश्वकर्मा

भैरहवा । स्वस्थ रहने ईच्छासहित ७० वर्षीया वृद्धा चन्द्रकला कार्की भैरहवामा आयोजित जुम्बा नृत्य कार्यक्रममा सहभागी भएकी थिईन । अन्य सहभागी सरह नै चन्द्रकलामा पनि जोश र जाँगर उत्तिकै थियो । कार्यक्रममा सबैभन्दा बढी उमेरकी चन्द्रकला मात्र होइन सबैभन्दा कम १० बर्षिय प्रमोद बन्जाडेले पनि सहभागिता जनाएका थिए ।

मंगलबार बिहानै भैरहवामा देखिएको रोचक दृश्यका यी दुई जना त प्रतिनिधि पात्र मात्र थिए । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले रुपन्देहीको भैरहवामा आयोजना गरेको ‘फ्रिडम फर डाईबिटिज विथ जुम्बा’ मा सबै उमेर समूहका सहभागीले सहभागीता जनाएका थिए ।

बिशेष गरि नृत्यको माध्यमबाट मधुमेह रोगको नियन्त्रण र उसको निराकरण समेत गर्ने उद्देश्य सहित भैरहवामा जुम्बा नृत्यको आयोजना भएको थियो । कतिपय मधुमेह लागि सकेका सहभागी थिए भने कतिपय यो रोग लाग्न नदिन अपनाउने उपायको बारे जानकारी लिन कार्यक्रममा आएका थिए ।

के हो जुम्बा ?

जुम्बा संगीतका माध्यमबाट गरिने नाच हो । गीत बज्दा हात फैलाउने, कमर मर्काउने, मुन्टो निहुर्याउने, गोडा उचाल्ने जुम्बा नृत्यका विशेषता हुन् । यसैलाई जुम्बा भनिन्छ ।

अव्यवस्थित खानपान तथा जीवनयापनका कारण मधुमेह रोग हुने भएकोले यसको नियन्त्रण, रोकथाम तथा सचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका अध्यक्ष गौतम गुप्ताले बताए ।

उनले जुम्बा एक प्रकारको नृत्य भएको र यसले मधुमेह नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । “समयमै सचेतना अपनाए मधुमेह रोगबाट बच्न सकिन्छ, गुप्ताले भने’, एक घण्टा व्यायामले बाँकी २३ घण्टा शरीरलाई स्वस्थ राख्न मद्दत पुग्दछ ।’

जुम्बाले मधुमेह, ब्लडप्रेसर लगायतका रोगबाट टाढा राख्न सहयोग पुग्छ । ‘डान्स गर्दा शरीरबाट पसिना निस्कन्छ, शरीर मर्काउने भएकाले हामीलाई स्वस्थ राख्न मद्दत पुग्छ’, रुद्रदेवी कलाकेन्द्रमा जुम्बा प्रशिक्षक सुनिल गुप्ताले भने ।

जुम्बा डान्स ‘सफ्ट एक्सरसाइज’ पनि हो , जुम्बामार्फत गरिएको व्यायामले शरीरलाई स्वस्थ राख्नुका साथै पाचन प्रक्रियालाई मजबुत बनाउने गुप्ताको भनाइ छ । यसैलाई मध्यनजर गरी भैरहवामा पनि जुम्बा डान्सको आयोजना गरिएको हो, गुप्ताले भने ।

फाइदै फाइदा

एक घण्टा जुम्बा गर्दा आठ सयदेखि एक हजार क्यालोरी घटाउन सकिन्छ, गीतको तालमा नाचिने भएकाले वर्कआउट गरेको जस्तो अनुभव हुँदैन । छोटो समयमा नै तौल नियन्त्रणमा ल्याउनका लागि यो डान्स उत्तम विकल्प हो ।

बच्चा देखि वृद्धवृद्धाले सजिलै जुम्बा डान्स गर्न सक्छन्, कार्यक्रम संयोजक विनित उपाध्यायले भने । कतिपय अवस्थामा तौल नियन्त्रणमा राख्नका लागि गर्भवतीले समेत जुम्बा गर्ने गर्छन्, जुन सामान्य तरिकाले गरिन्छ । ‘जुम्बापछि तनावमुक्त भइन्छ । यसले शरीरमा एक प्रकारको शक्तिबद्र्धन ऊर्जा ल्याउँछ । आलश्यपना, तनाव घटाउँछ, युरिक एसिड, थाइराइड, मुटुरोग लगायतका समस्या कम गर्न पनि जुम्बा प्रभावकारी मानिन्छ’, उपाध्यायले भने ।

जुम्बामा सहभागी हुनका लागि क्लबले पाँचसय रुपंैयाँ प्रवेश शुःल्क तोकेको थियो । कार्यक्रममा दैनिक गर्नुपर्ने शारीरिक क्रियाकलाप, दैनिक पुनर्ताजगी, नृत्य कला, हातखुट्टा चलाउने तरिका, दैनिक योगा लगायतबारे पनि सिकाइएको क्लबका सचिव रविकान्त उपाध्यायले बताए ।

जुम्बा कार्यक्रमको प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सांसद यादवले मधुमेह रोकथामको लागि उचित खानपिनको साथै ब्यायममा जोड दिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री