पर्यटन मन्त्रीको कार्ययोजनामा नेपालगन्ज ‘गायब’

-सिराज खान

नेपालगन्ज । पश्चिम नेपालको प्रमुख पर्यटन हब नेपालगन्जलाई बेवास्ता गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक वर्षे कार्ययोजना बनाएको भन्दै स्थानीय पर्यटन व्यवसायीले आक्रोश व्यक्त गरेका छन् ।

हालैमात्र पर्यटन मन्त्री भट्टराईले सार्वजनिक गरेको एक बर्षे कार्ययोजनामा बाँके र नेपालगन्जलाई समावेश नगरिएको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् ।

पर्यटन मन्त्रीले सार्वजनिक गरेको कार्ययोजनामा पश्चिम नेपालकै सबैभन्दा महत्वपूर्ण विमानस्थल नेपालगन्ज विमानस्थल नसमेटिनु निकै रहस्यपूर्ण भएको भन्दै होटल व्यवसायी संघ बाँकेले आश्चार्य प्रकट गरेको छ ।

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडान शुरु गर्न सक्ने गरी स्तरोन्नती गर्नुपर्नेमा माग जोडदार रुपमा उठीरहेको बेला पर्यटन मन्त्रीको कार्ययोजनामा यो विमानस्थल नसमेटिनुले समग्र पश्चिम नेपालका पर्यटन व्यवसायीलाई आक्रोशित बनाएको होटल व्यवसायी संघ प्रदेश पाँचका अध्यक्ष भाष्कर काफ्लेले बताए ।

घरेलु उडानमा देशकै सबैभन्दा बढी व्यस्त रहने र धेरै यात्रुलाई सेवा दिंदै आएको यहाँको बिमानस्थलको कुनै पनि योजनामा नसमेटिनुबाट आफुलाई स्तब्ध पारेको उनले जनाए । पहिले प्राथमिकतामा परेको विमानस्थल योजना अन्तिम अवस्थामा गायब बनाइएको व्यवसायीहरुको भनाइ छ ।

बर्षौदेखि समग्र पश्चिम नेपालका जनतालाई जोड्नुका साथै उनीहरुको सम्बन्ध राजधानी काठमाडौंसँग पनि जोड्दै आएको नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडान शुरु गर्ने क्षमतामा विस्तार गर्ने योजना तत्काल समेट्न होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले पर्यटन मनत्रीको ध्यानाकर्षण गराएका छन् ।

‘नेपालगन्ज विमानस्थलबाट भारतको दिल्ली र नेपालको पोखरा उडान गर्नुपर्ने माग सम्पूर्ण जिल्लावासीले गरिरहेको बेला मन्त्रीले विमानस्थल लगायत कैलाश मानसरोवर यात्रा र अन्य पर्यटनबारे कार्ययोजनामा केही पनि उल्लेख नगर्नु दुखद हो’, अध्यक्ष कँडेलले भने ।

कँडेलका अनुसार मन्त्री हुनुअघि नेपालगन्ज आएको बेला मन्त्री भट्टराईले यहाँका होटल व्यवसायीसँग छलफल गरेका थिए । उक्त छलफलमा बिमानस्थलको स्तारेन्नतीदेखि पर्यटकीय विकासका बारेमा बृहत्त कुराकानी भएपनि कार्ययोजनामा अहिले केही समावेश भएन ।

पर्यटन मन्त्रीले तत्काल आफ्नो कार्ययोजनामा नेपालगन्ज विमानस्थल लगायत बाँकेका अन्य पर्यटकीय योजना पनि समेटनु पर्ने माग बाँकेका होटल व्यवसायी देवानन्द अर्यालले गरेका छन् ।

पाँचतारे होटल सेन्ट्रल प्लाजाका संचालक समेत रहेका अर्यालले पर्यटन व्यवसायका धेरै राम्रा संभावना भएपनि सरकारको उदासिनताले गर्दा फस्टाउन नसकेको गुनासो गरे ।

सोही प्रकारले पश्चिम नेपालको पर्यटकीय विकासका लागि नेपालगन्ज बिमानस्थलको स्तरोन्नती हुनुपर्ने तथा नेपालगन्जमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्नु पर्ने मागलाई कार्ययोजनामा समेट्नु पर्ने माग नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले गरेका छन् ।

उनले नेपालगन्जलाई पश्चिम नेपालकै ठुलो आर्थिक केन्द्र बनाउन उद्योगी व्यवसायी लागि रहेको बेला आर्थिक विकासका लागि पर्यटन पनि प्रमुख माध्यम भएकोले विमानस्थलको क्षमता विस्तार गर्ने योजना बनाउनु पर्ने कुरामा जोड दिए । सो बारेमा लिखित रुपमै पर्यटन मन्त्री र मन्त्रालयको ध्यानाकर्षण गराइने पनि उनले जनाएका छन् ।

पर्यटनको विकासमा बर्षौदेखि अहम भूमिका खेल्दै आएको नेपालगन्जलाई पर्यटन मन्त्रीले बेवास्ता कसरी गर्नुभयो त्यो बुझ्नै नसकिने कुरा भएको नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताएका छन् ।

उनले तत्काल आफ्नो बार्षिक कार्ययोजनामा नेपालगन्जलाई पनि समेट्न आग्रह गर्दै ययो सहरलाई पर्यटनको हबको रुपमा स्थापित गर्नु पर्ने माग गरे । त्यसका लागि धेरै राम्रा राम्रा अवसर र संभावनाहरु रहेको समेत उनले बताए ।

सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिकाले पनि पर्यटन मन्त्रीको कार्ययोजनामा नेपालगन्ज विमानस्थल र अन्य पर्यटकीय कुराहरु समेटिनु पर्ने माग गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले नेपालगन्ज विमानस्थलको सुधार, स्तरोन्नती र अन्तर्राष्ट्रिय उडान शुरु गर्ने गरी बनाउने योजना लगायत यहाँ रहेका धार्मिक तथा अन्य पर्यटकीय क्षेत्रको विकासका लागि योजना बन्नु पर्ने बताए ।

टिप्पणी थप्नुहोस्