छोरीका हत्यारा बाबु १९ बर्षपछि पक्राउ

-राधेश्याम विश्वकर्मा

भैरहवा । रुपन्देही प्रहरीले आफ्नै छोरीको हत्या गरि फरार रहेको अभियुक्तलाई १९ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैडहवा गाउँपालिका वडा नम्बर ६ बस्ने ६३ बर्षिय पूर्णवासी लोनिया रहेका छन् ।

लोनियाले २०५४ साल साउन २३ गते आफ्नो छोरी हराएको भनेका थिए । तर उनको छोरी हराएको नभइ उनले नै १५ बर्षिय छोरी कान्ती लोनियालाई घरमै हत्या गरि करिब १ किलोमिटर पर खेतमा गाडेको प्रहरीको भनाई छ ।

पछि गाउँका महिलाहरु घाँस काट्न जादा भदौ १३ गते खेतमा मानिसको कपालको रौहरु, चुराहरू, कपडाका टुक्रा तथा हड्डीहरु देखेका थिए । साथै खेतको मेडीमा खनेको माटो र माटोमा दुईवटा प्वालबाट मानिसको टाउको देखिएको थियो । घटना बुझ्दा उक्त उखुबारीमा रहेका कपडाको टुक्राहरु पुर्णवासी लोनीयाको छोरी कान्ती लोनियाले लगाउने गरेको पुष्टी भएको थियो ।

सो सम्बन्धमा बाबु पूर्णवासीलाई गाउँलले बुझ्न खोज्दा उनि फरार भएका थिए । प्रहरीले लाशको टाउको छुट्टीएको आखाँ नभएको कंकालको रुपमा कान्तीको शव बरामद गरेको थियो ।

गाउलेहरुले पूर्णवासी लोनियाले पटक पटक छोरीलाई कुटपीट गर्ने गरेको हुँदा निजले नै कर्तब्य गरेर मारेको भनी जाहेरी दिएका थिए ।

आफ्नै छोरीको हत्या गरि फरार रहेका पूर्णवासी माथी कर्तव्य ज्यानमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भई मुद्दा मुल्तबीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिइसपी धर्मराज भण्डारीले बताए ।

उनै पूर्णवासी हत्या गरेको १९ बर्ष पछि बुधबार भैरहवा मालपोतमा जग्गाको कारोबारको लागि आउँदा प्रहरीको फद्यनामा परेका हुन् ।

पक्राउ परेको लोनियालाई जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको डिएसपी भण्डारीले बताए ।

टिप्पणी थप्नुहोस्